नेभिगेशन
नेपाल

‘लुटतन्त्र जोगाउन ठूला दल मिलेर सरकार बनाए’

विराटनगर, १७ भदौ - राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपाली कांग्रेस र नेकपा एमालेले लुटतन्त्र जोगाउनका लागि मिलेर सरकार बनाएको आरोप लगाएका छन् । मंगलबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता महतोले देशमा अराजकता र लुटतन्त्रको सीमा नाघिसकेको आरोप लगाउँदै ठूला दुई दलले जनताको हितका लागि नभइ आफ्नो स्वार्थ र सत्तालिप्सा पूरा गर्न गठबन्धन गरेको बताए ।

‘ठूला दलहरूले देशमा लुटतन्त्र मच्चाएका छन् । अहिले उनीहरू लुटतन्त्र जोगाउनकै लागि मिलेर सरकारमा बसेका छन्,’ अध्यक्ष महतोले भने । महतोले संघीयता, समावेशिता, पहिचान र सुशासनका सवालमा सरकारले निराशाजनक भूमिका निर्वाह गरिरहेको आरोप लगाए । संविधान संशोधनमा पनि ठूला दलहरूको कुनै इच्छाशक्ति नरहेको जिकिर गर्दै, ‘उनीहरूले बहाना मात्र गरिरहेका छन्,’ उनले भने ।

उनले संविधानमा रहेका विकृति, विसंगति हटाउन र मुलुकको समृद्धिका लागि सबै शक्ति एक ठाउँमा आउनुपर्ने बेला आएको उल्लेख गरे । नेता महतोले चीनको प्रस्तावित ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) मा नेपालले समर्थन गरेको भन्ने समाचारबारे प्रधानमन्त्रीले स्पष्ट धारणा दिनुपर्ने माग गरे ।

उनले भने, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भइरहँदा पनि सरकारले कूटनीतिक दबाब दिन सकिरहेको छैन, जुन दुर्भाग्यपूर्ण हो ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्