एजेन्सी - उत्तर कोरियाका सर्वोच्च नेता किमजोङ उन चीनको राजधानी बेइजिङमा हुन लागेको सैन्य परेडमा सहभागी हुन रेलमार्ग हुँदै चीन पुगेका छन् । किम सोमबार प्योङयाङबाट प्रस्थान गरेका किम दोस्रो विश्वयुद्धमा जापानको पराजयको अवसरमा चीनले आयोजना गर्न लागेको बहुपक्षीय सैन्य परेडमा सहभागी हुन उनी चीन गएका हुन् ।
यो परेडमा चिनियाँ राष्ट्रपति सी चिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित २६ देशका राष्ट्र तथा सरकार प्रमुखहरूको उपस्थिति थियो ।
बुलेटप्रुफ रेलबाट यात्रा
किमजोङ उनले यसअघि जस्तै यो पटक पनि बुलेटप्रुफ विशेष रेल प्रयोग गरेका छन् । रोडोङ सिन्मुनले प्रकाशित गरेका तस्बिरहरूमा किम आफ्ना सहयोगीहरूसँग अँध्यारो हरियो रङको रेलभित्र मुस्कुराउँदै यात्रा गरेको देखिन्छ ।
रेलभित्र उत्तर कोरियाली झण्डा, बन्द ल्यापटप र चुरोट समातेको तस्बिरसमेत सार्वजनिक गरिएको थियो ।
किमको विलासी रेलयात्रा परम्परा
रोयटर्सका अनुसार, किमजोङ उनका पिता किम जोङ इल र हजुरबुवा किम इल सुङले पनि विदेशी भ्रमणका लागि जहाजको सट्टा रेल नै प्रयोग गर्ने परम्परा बसालेका थिए । किम जोङ इललाई उड्न डर लाग्थ्यो भन्ने विश्वास गरिन्छ ।
सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनाममा भएको शिखर वार्ताका लागि पनि किम रेल चढेर पुगेका थिए । किमको रेल गोली र बमबाट सुरक्षित रहने गरी बनाइएको छ ।
रेलमा आक्रामक हतियार, हेलिकप्टरको ठाउँ, तथा आपतकालीन उपकरणहरू समेत राखिएको बताइएको छ । भारी संरचना र उच्च सुरक्षा व्यवस्था कारण रेलको गति प्रतिघण्टा ५० किलोमिटर मात्र हुन्छ ।
रेलभित्र शयनकक्ष, सुरक्षाकर्मीका लागि छुट्टै डब्बा, शौचालय, स्वास्थ्यकर्मी, र किमका लागि विशेष कार्यालयको समेत व्यवस्था गरिएको छ । साथै रेलमा कोरियन, चिनियाँ, रुसी, जापानी र फ्रेन्च परिकारसमेत उपलब्ध हुने जनाइएको छ ।