काठमाडौँ । नेपाली कांग्रेसभित्र विगत तीन महिनादेखि चल्दै आएको आधिकारिकताको रस्साकस्सी अन्ततः सर्वोच्च अदालतको फैसलासँगै टुंगिएको छ । अदालतले शुक्रबार गगन थापाको नेतृत्वलाई वैधता दिएपछि पूर्वसंस्थापन पक्षले पनि त्यसलाई स्वीकार गरेर अघि बढ्ने निर्णय गरेको हो । थापाको नेतृत्वमा गत पुस अन्तिम साता भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशन वैध नभएको भन्दै देउवापक्षले सर्वाेच्च अदालतमा दायर रिट खारेज भइसकेको छ ।
सर्वोच्चको यस्तो फैसलापछि शनिबार पूर्वउपसभापति पूर्णबहादुर खड्काको निवासमा बसेको इतरसमूहको बैठकले अदालतको आदेशलाई पूर्ण रूपमा पालना गर्ने सहमति गरेको छ । बैठकपछि पार्टीका पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले सर्वाेच्च अदालतको फैसला आफूहरूले स्वीकार्ने बताए । उनले कानुनी रूपमा फैसला आएपनि पार्टीमा राजनीतिका रूपमा समस्या रहेको भन्दै सभापति थापा एकांकी ढंगले चल्न नहुनेमा जोड दिए । १५ औं महाधिवेशन सम्पन्न गर्न साझा संयन्त्र बनाउनुपर्ने र त्यसो हुँदा महाधिवेशनबाट आउने नेतृत्वमा सबैको अपनत्व हुने उनले बताए ।
त्यस्तै, नेता मीन विश्वकर्माले असन्तुष्टिका आधारहरू भए पनि सर्वाेच्चका न्यायाधीशद्वय नृपध्वज निरौला र शारंगा सुवेदीको इजलासको फैसला स्वीकार गर्ने कुरा बैठकमा भएको बताए । विश्वकर्माले बैठकपछि कांग्रेसले विधिको शासन, शक्ति पृथकीकरणको आधारमा स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सदैव आत्मसात गर्ने नीति लिइरहेको र त्यही परम्पराबाट हुर्किदै बढ्दै आएकोले अदालतको फैसलामा असन्तुष्टि भए पनि स्वीकार गर्ने निष्कर्ष निकालिएको सुनाए । अब पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी सभापति थापाको भएको पनि बताए ।
सर्वोच्चमा मुद्दा दर्ता गर्दा नै कार्यवाहक सभापतिका रूपमा भनिए पनि फैसला पछि खड्कालाई अब कार्यवाहक नभन्ने पनि उनले जानकारी दिए । उनले अब अदालतले पार्टी सञ्चालनको ‘बल’ गगन थापाको कोर्टमा पु¥याएको भन्दै सबैलाई मिलाएर लैजाने मुख्य जिम्मेवारी पनि थापाकै काँधमा आएको बताए । भोलि आइतबार खड्काले आफू निकट निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएर थप रणनीति तय गर्ने तयारी गरेका छन् ।
विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवा पक्षधर सभापति थापासँग असन्तुष्ट थिए । निर्वाचनअघि नै स्वास्थ्योपचारको फलोअपका लागि भनेर सिंगापुर उडेका देउवा फागुन २१ मा मतदानका लागि पनि फर्किएनन् । निर्वाचनको अन्तिम समयमा नेतृत्वमा आएका थापाले देउवा पक्षधरलाई पनि उम्मेदवारीका लागि टिकट दिएका थिए । तर, यसपटक रास्वपाको लहरका बीच पुराना दललाई गाह्रो परेको अवस्था रह्यो । यसैमा कांग्रेस आफ्नै अन्तर कलहले निर्वाचनमा होमिँदा असहयोग भएको हिसाब अझै गरिरहेको छ ।
देउवा पक्षधरले पनि अब अदालती फैसला मानेर अघि बढ्ने भएपछि सभापति थापालाई संगठन सुदृढिकरणमा सघाउ पुग्ने देखिएको छ ।
सबैलाई समेट्ने गगनको प्रतिबद्धता
यता, आधिकारिकताको कानुनी लडाइ जितेपछि गगन थापाले यसलाई कसैको व्यक्तिगत जित वा हारभन्दा पनि पार्टीको विधि र लोकतान्त्रिक अभ्यासको विजयका रूपमा अथ्र्याएका छन् । सर्वोच्च अदालतको निर्णयले पार्टीलाई एकताबद्ध बनाउँदै सुदृढीकरणको साझा यात्रामा अघि बढ्ने वातावरण तयार गरेको उनको भनाइ छ । थापाले पार्टी सभापतिको हैसियतले सबैलाई समेटेर लैजाने सबैभन्दा ठुलो जिम्मेवारी आफ्नै भएको स्वीकार गर्दै अब सक्रियताका साथ लाग्ने प्रतिबद्धता जनाएका छन् ।
पार्टीको १५औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेको सन्दर्भमा थापाले यसलाई रूपान्तरणको सुनौलो अवसरका रूपमा उपयोग गर्न सबैलाई आह्वान गरेका छन् । अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने गरी ‘समुन्नत नेपाल’ निर्माणका लागि अब पार्टी एक ढिक्का भएर अघि बढ्ने उनले विश्वास दिलाएका छन् । महामन्त्री गुरुराज घिमिरेले पनि अबको सम्पूर्ण संयोजन थापाले नै गर्ने र सबैलाई समेटेर पार्टीलाई नयाँ उचाइमा पु¥याइने प्रतिक्रिया दिएका छन् । कांग्रेस बैठकले असन्तुष्ट पक्षसँग संवादको जिम्मेवारी सभापति थापालाई दिएको छ ।
‘सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ । यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो,’ उनले भनेका छन्, ‘पन्ध्रौं महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ । महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ । अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ ।’
सर्वोच्चको फैसला कांग्रेसका लागि जितभन्दा ठूलो जिम्मेवारी : महामन्त्री घिमिरे
नेपाली कांग्रेसको आन्तरिक आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको फैसलालाई पार्टीभित्र ‘जित मात्र होइन, ठूलो जिम्मेवारी’ का रूपमा लिइएको कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले बताएका छन् । विशेष महाधिवेशनमार्फत चयन भएको नयाँ नेतृत्वको वैधानिकता अदालतले पुष्टि गरेपछि अब पार्टीलाई एकताबद्ध गर्दै अघि बढ्नु मुख्य चुनौती रहेको उनको भनाइ छ ।
घिमिरेका अनुसार उक्त फैसला अपेक्षित मात्र नभई अपरिहार्य पनि थियो । विशेष महाधिवेशन गर्नुपर्ने आधार, त्यससम्बन्धी कानुनी तथा विधानगत व्यवस्था र अपनाइएको प्रक्रियाबारे आफूहरू सुरुदेखि नै विश्वस्त रहेको उनले बताए । अदालतमा भएका बहसहरूबाट पनि त्यही संकेत मिलेको र अन्ततः सर्वोच्च अदालतले सोही निष्कर्षमा पुग्दै निर्णय दिएको उनको भनाइ छ ।
उनले कांग्रेसलाई मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीका रूपमा स्मरण गर्दै प्रजातान्त्रिक आन्दोलनदेखि लोकतान्त्रिक गणतन्त्रसम्मका सबै महŒवपूर्ण चरणमा यसको नेतृत्वदायी भूमिका रहेको उल्लेख गरे । त्यसैले पार्टीको काँधमा सधैं गम्भीर जिम्मेवारी रहेको भन्दै उनले अब आत्मसमीक्षा, सुधार र जनविश्वास पुनः स्थापित गर्ने अवसरका रूपमा वर्तमान अवस्थालाई लिनुपर्ने बताए ।
पछिल्लो निर्वाचनमा अपेक्षाकृत सफलता हासिल गर्न नसके पनि जनताले कांग्रेसप्रति विश्वास कायम राखेको संकेत देखिएको उनले उल्लेख गरे । मतदाताहरूले कार्यशैली, नेतृत्व र संगठनात्मक कमजोरीप्रति असन्तुष्टि व्यक्त गरे पनि भावनात्मक रूपमा पार्टीसँग जोडिएको अवस्था रहेको उनको निष्कर्ष छ । ‘हामी जनताबाट टाढिएका छैनौं, तर हाम्रो काम गर्ने शैलीप्रति असन्तुष्टि छ,’ उनले भने ।
विशेष महाधिवेशनको प्रक्रिया सहज नभएको स्मरण गर्दै घिमिरेले सुरुवाती चरणमा सानो समूहबाट सुरु भएको अभियान क्रमशः विस्तार हुँदै गएको बताए । सुरुमा करिब ५४ प्रतिशत समर्थन रहेकोमा महाधिवेशनसम्म पुग्दा त्यो ५७ प्रतिशतभन्दा माथि पुगेको उनले उल्लेख गरे । दबाब, अवरोध र चुनौतीका बीच पनि कार्यकर्ताहरूको समर्थनले आफूहरूको एजेन्डा स्थापित भएको उनले बताए ।
अदालतको फैसलापछि पार्टीभित्रको असन्तुष्ट पक्षलाई कसरी समेट्ने भन्ने विषयमा उनले स्पष्ट धारणा राखेका छन् । उनले भने ‘नेपाली कांग्रेस सबैको साझा घर हो र यहाँ कुनै विभेद हुनुहुँदैन ।’ अवसर वितरण योग्यता र योगदानका आधारमा स्थान तय हुनुपर्ने भन्दै उनले आन्तरिक लोकतन्त्रलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।
पार्टीभित्र विगतमा देखिएको पक्षपात, एकतर्फी निर्णय र अस्वस्थ गुटबन्दीलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । ‘लोकतन्त्र केवल निर्वाचन वा महाधिवेशनमा सीमित हुँदैन, यो दैनिक व्यवहारमा झल्किनुपर्छ,’ उनले भने । अबको प्राथमिकता सबै पक्षलाई समेट्दै एकताको नयाँ आधार निर्माण गर्नु रहेको उनको भनाइ छ ।
असन्तुष्ट पक्षमाथि कारबाही गर्ने कुनै सोच नभएको स्पष्ट पार्दै घिमिरेले विगतका गुनासाहरूलाई समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सबैलाई क्षमता, योगदान र सक्रियताका आधारमा भूमिका दिइने भन्दै उनले १५ औं महाधिवेशनलाई ऐतिहासिक बनाउने लक्ष्य राखिएको बताए ।
पार्टी एकताबद्ध हुने आधारबारे उनले सकारात्मक संकेत दिएका छन् । कांग्रेसमा चार पुस्ता एकैसाथ सक्रिय रहेको उल्लेख गर्दै उनले यसलाई अवसरका रूपमा लिनुपर्ने बताए । अघिल्लो पुस्ताको अनुभव, वर्तमान पुस्ताको नेतृत्व र नयाँ पुस्ताको ऊर्जा मिलाएर पार्टीलाई सशक्त बनाउन सकिने उनको धारणा छ ।
वरिष्ठ नेताहरूले अदालतको फैसला स्वीकार गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । ‘उहाँहरू स्वयं अदालत जानुभएको हो, त्यसैले निर्णयलाई स्वीकार गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने । संवाद र सहकार्यमार्फत सबै पक्षलाई पार्टीभित्र समेट्ने प्रयास जारी रहने उनले जानकारी दिए ।
पार्टीभित्र समन्वयको जिम्मेवारी उच्च तहमा नेतृत्वले नै लिने भए पनि विभिन्न तहमा अनौपचारिक संवाद जारी रहेको उनले बताए । अब आधिकारिकताको विवाद टुंगिएको अवस्थामा ध्यान आन्तरिक व्यवस्थापन र आगामी महाधिवेशनतर्फ केन्द्रित हुने उनको भनाइ छ ।
संसदीय दलको नेता चयनमा ढिलाइ भएको विषयमा उनले कुनै मतभेद नभएको स्पष्ट पारे । आकांक्षीहरू धेरै हुनु स्वाभाविक भएको भन्दै उनले नेतृत्वबीच निरन्तर छलफल भइरहेको र छिट्टै सहमतिमा निर्णय हुने बताए ।
सरकारको कामकारबाहीबारे बोल्दै उनले प्रारम्भिक चरण भएकाले मूल्यांकन गर्ने बेला नभएको उल्लेख गरे । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र वित्तीय अनुशासनको कुरा सकारात्मक भए पनि व्यवहारमा त्यसको प्रतिबिम्ब देखिनुपर्ने उनले बताए। मन्त्रीहरूलाई महँगो साधन उपलब्ध गराउने जस्ता निर्णय मितव्ययितासँग मेल नखाने उनको टिप्पणी छ ।
घिमिरेले सरकार र विपक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भावनात्मक सम्बन्धसमेत महत्त्वपूर्ण हुने बताए। “अक्षरले मात्र होइन, भावनाले पनि जोडिनुपर्छ,” उनले भने । विगतमा देखिएका टकरावपूर्ण अवस्थाहरू दोहोरिन नदिन सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
समग्रमा, सर्वोच्च अदालतको फैसलापछि नेपाली कांग्रेस नयाँ चरणमा प्रवेश गरेको भन्दै घिमिरेले अबको समय गम्भीरता, आत्मसमीक्षा र एकताको भएको बताएका छन् । इतिहासले दिएको जिम्मेवारीलाई आत्मसात् गर्दै पार्टीलाई सुदृढ बनाउने दिशामा अघि बढ्ने उनको प्रतिबद्धता छ ।