नेभिगेशन
अर्थतन्त्र

करिब २० अंकले घट्यो बजार

काठमाडौं, १७ भदौ - शेयरबजार घटेको छ । सोमबार १२ अंकले बढेको कारोबार मापक नेप्से परिसूचक मंगलबार १९.८९ अंकले घटेर २७४१.९७ विन्दुमा कायम भएको छ । परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार ५ अर्ब बढीको कारोबार भएको बजारमा मंगलबार ४ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका २५० कम्पनीमध्ये २२१ वटाको शेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । बजार रातो भए पनि २९ कम्पनीका शेयरधनीले कमाएका छन् । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ०.५६ प्रतिशत घटेर ४७३.६८ विन्दुमा झरेको छ । यस्तै, साधारण शेयरको कारोबार मापन गर्ने फ्लोट सूचक ०.६५ प्रतिशत घटेर १८७.८६ र सेन्सिटिभ फ्लोट ०.६० प्रतिशत घटेर १६२.०५ विन्दुमा कायम भएको छ ।

सूचीकृत सबै समूह घटेका छन् । सबैभन्दा धेरै व्यापार समूह १.९७ प्रतिशत घटेको छ । त्यसपछि लघुवित्त ०.९७, जलविद्युत् समूह ०.९६, फाइनान्स ०.८८, उत्पादन तथा प्रशोधन ०.८०, लगानी ०.७६, निर्जीवन बीमा ०.७०, पर्यटन ०.५२, बैंकिङ ०.४९, विकास बैंक ०.३९, जीवन बीमा ०.३०, म्युचुअल फण्ड ०.२८ र अन्य ०.५३ प्रतिशत घटेको छ ।

बजार घटे पनि हिमस्टार उर्जा कम्पनीका शेयरधनीले ९.९८ प्रतिशत कमाएका छन् । यससँगै सर्वाधिक मूल्य बढ्ने पाँच कम्पनीमा युनियन हाइड्रोपावर, धौलागिरी लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाइड्रोपावर, माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनी छन् ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै ७.४७ प्रतिशत घटेको छ । सबैभन्दा धेरै मूल्य घट्ने पाँच कम्पनीमा दोर्दीखोला जलविद्युत्, पिपल्स हाइड्रोपावर, विकास हाइड्रोपावर र पञ्चकन्यामाई हाइड्रोपावर छन् ।

नेपाल रिइन्स्योरेन्सको शेयर कारोबार सबैभन्दा धेरै २२ करोड ७० लाख रुपैयाँको भएको छ । त्यसपछि हिमालयन रिइन्स्योरेन्सको २० करोड ११ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको १४ करोड ६९ लाख, दोर्दीखोला जलविद्युतको १४ करोड ४१ लाख र हिमालयन डिस्टिलरीको १४ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यस दिन लगानीकर्ताको सम्पत्ति ३४ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४५ खर्ब ८३ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि ११ अर्ब रुपैयाँ घटे र १५ खर्ब ५४ अर्ब रुपैयाँमा झरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्