काठमाडौं, १७ भदौ - सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि खसी, बोका र च्यांग्राको अग्रिम बुकिङ खुल्ला गरेको छ । कम्पनीले मंगलबार सूचना जारी गरी यो वर्षको दशैंका लागि काठमाडौं, पोखरा तथा सुर्खेतका उपभोक्तालाई लक्षित गरी खसी, बोका र च्यांग्रा बिक्री गर्न अग्रिम अनलाइन बुकिङ खुल्ला गरेको हो ।
उपभोक्ताले अनलाइनमार्फत खसी, बोका र च्यांग्रा खरिद बुकिङ गर्दा केही रकम पहिले नै भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । ‘अनलाइन फाराम भरेर तोकिएको अग्रिम रकम बुझाएपछि मात्र बुकिङ मान्य हुनेछ,’ कम्पनीको सूचनामा भनिएको छ, ‘बुकिङको कोड नम्बर खसी, बोका तथा च्यांग्रा लिन आउँदाको समयमा अनिवार्यरूपमा देखाउनुपर्नेछ । तर, एकपटक खसी, बोका, च्यांग्रा बुझेर लिएर गइसकेपछि भने पुनः पुरानै कोड नम्बर लिएर आएमा फेरि दिन कम्पनी बाध्य हुने छैन ।’
कम्पनीका अनुसार उपभोक्ताले अनलाइनमार्फत २० देखि २५ किलो, २६ देखि ३० किलो, ३६ देखि ४० किलो र ४० किलोभन्दा माथिसम्मका खसी बोका तथा च्यांग्रा अनलाइनमार्फत बुकिङ गर्न सक्ने छन् ।
खसी बोका र च्यांग्राको अग्रिम बुकिङका लागि निश्चित शुल्क तोकिएको छ । च्यांग्राका लागि प्रतिगोटा ५ हजार रुपैयाँ तथा खसी र बोकाका लागि प्रतिगोटा ४-४ हजार रुपैयाँ अग्रिम शुल्क तोकिएको कम्पनीले जनाएको छ ।
उपभोक्ताले खसी, बोका च्यांग्रा लिन बिक्री केन्द्रमा आई छनोट गरेपछि पर्न आउने शुल्कमा अग्रिम बुकिङ गर्दा लिएको रकम घटाएर बाँकी भुक्तानी लिने पनि कम्पनीले जनाएको छ । खसी, बोका र च्यांग्राको मूल्य कम्पनीले निर्धारण गरेको प्रतिकिलो दरअनुसार हुने सूचनामा भनिएको छ ।
काठमाडौंमा कम्पनीको बागमति प्रादेशिक कार्यालय थापाथलीमा तोकिएको समयमा खसी, बोका र च्यांग्रा बिक्रीका लागि राखिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार अग्रिम अनलाइन बुकिङ गरिएका खसी, बोका र च्यांग्रा बिक्री गर्नका लागि समय तोकिने छ ।
उपभोक्ताले अग्रिम अनलाइन बुकिङ गरी पछि खसी, बोका, च्यांग्रा लिन तोकिएको समयभित्र नआई पछि रकम दाबी गर्न आएको अवस्थामा भने बुकिङ गर्दाको रकम फिर्ता नहुने पनि कम्पनीले स्पष्ट पारेको छ ।
उपभोक्ताको माग बमोजिम खसी, बोका, च्यांग्रा उपलब्ध गराउन नसकेको अवस्थामा भने अग्रिम बुकिङ गर्दा तिरेको सबै रकम फिर्ता दिइने कम्पनीले जनाएको छ । कम्पनीले यो वर्ष २ हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने तयारी गरेको छ ।
कम्पनीले हरेक वर्ष दशैंलाई लक्षित गरी उपभोक्ताका लागि खसी, बोका र च्यांग्रा ल्याएर बिक्री गर्दै आएको छ । उपभोक्तालाई उपलब्ध गराउने खसी बोका तथा च्यांग्रा स्वस्थ्यकर र मापदण्ड अनुरूपको हुने कम्पनीको दाबी छ ।