नेभिगेशन
खेलकुद

महिला गोल्डकपमा आर्मीको फराकिलो जित

भद्रपुरमा शनिबारदेखि सुरु भएको नेपालकै सर्वाधिक पुरस्कार राशिको प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
एकपक्षीय खेलमा आर्मीले पोखराको आरएस फुटबल क्लबलाई ६–० गोल अन्तरले पराजित ग¥यो । आर्मीले खेलको ११औँ मिनेटमै अग्रता लिएको थियो । दिपा शाहीले पहिलो गोल गर्दै टिमलाई सुरुआती बढत दिलाइन् ।
२६औँ मिनेटमा बिमला चौधरीले आकर्षक चिप प्रहारमार्फत अग्रता दोब्बर बनाइन् । त्यसको दुई मिनेटपछि नै सञ्जु कुमालको क्रसमा वान–टच गोल गर्दै चौधरीले आफ्नो दोस्रो गोल गरिन् ।
३५औँ मिनेटमा चन्द्रा भण्डारीले हेडमार्फत गोल गर्दै पहिलो हाफमा आर्मीलाई ४–० को बलियो अग्रता दिलाइन् ।
दोस्रो हाफमा पनि आर्मीले आफ्नो दबदबा कायम राख्यो । ५०औँ मिनेटमा जेनिफर राना मगरले पाँचौँ गोल थपिन् भने ६२औँ मिनेटमा चन्द्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित ६–० ले सुनिश्चित गरिन् ।
आरएस पोखरा खेलभर प्रभावहीन देखियो र आर्मीको पोस्टमा कुनै उल्लेखनीय आक्रमण गर्न सकेन ।
खेलको ‘प्लेयर अफ द म्याच’ आर्मीकी बिमला चौधरी घोषित भइन् । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरिन् ।
आइतबार हुने दोस्रो खेलमा भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, आरएस पोखरा फुटबल क्लब, थिम्पु सिटी क्लब (भुटान), चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको रानी लक्ष्मीबाई स्पोट्र्स एकेडेमी, सशस्त्र प्रहरीको एपीएफ क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोट्र्स क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । महिला फुटबलतर्फ यो पुरस्कार राशि नेपालकै सर्वाधिक मानिएको छ ।
त्यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ११ हजार रुपैयाँ प्रदान गरिनेछ ।
उद्घाटन समारोहमा भद्रपुर नगरप्रमुख गणेश पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दिपककुमार पोखरेलले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम क्लबका अध्यक्ष रोहित सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन विवेक चम्लागाईंले गरेका थिए ।

भोजपुर गोल्डकपको तयारी पूरा

आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । नवौँ संस्करणका रूपमा सुरु हुने प्रतियोगितामा नेपालका आठ समूहको सहभागिता रहने छ ।
प्रतियोगिता सञ्चालनका लागि खेल तालिम सार्वजनिक गरिएको आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए । भोजपुर नगरपालिका–७ स्थित रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाखको प्रायोजन गरेको छ । 
योसँगै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष सुवालले आज जानकारी दिए । वैशाख ६ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गतको पहिलो खेल आइतबार सशस्त्र प्रहरी बल (एपिएफ) नेपाल र एलएक्स सिटी मोरङबीच हुने आयोजक संस्थाले जनाएको छ । 
पहिलो चरणको खेल वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । वैशाख ७ गते आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ र सङ्खुवासभा–११, वैशाख ८ गते सातदोबाटो युथ क्लब ललितपुर र केपिलासगढी गाउँपालिका, खोटाङ र वैशाख ९ गते प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँ र द गोर्खाज फुटबल क्लब, उदयपुरबीच हुनेछ । 
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख प्राप्त गर्नेछन् । अन्य व्यक्तिगत विधातर्फ सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यसैबीच, यही वैशाख १७ देखि २० गतेसम्म आठौँ महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । भोजपुर नगरपालिकाको प्रायोजनामा जिल्ला फुटबल सङ्घले प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

खजुरा गोल्डकपमा जेबीएम एकेडेमी लखनउ फाइनलमा

बाँकेको खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनी रङ्गशालामा सञ्चालन भइरहेको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगितामा जेबीएम फुटबल एकेडेमी, लखनउ फाईनलमा प्रवेश गरेको छ । 
प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा जेबीएम फुटबल एकेडेमी, लखनउ (भारत)ले गोर्खा ब्वाइज क्लब, बुटवल (रुपन्देही)लाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफको १२औँ मिनेटमा निखिल तामाङले उत्कृष्ट गोल गर्दै जेबीएमलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा ४२औँ मिनेटमा सुरज भण्डारी र ६०औँ मिनेटमा कमल जिसीमार्फत दुई थप गोल गर्दै जेबीएमले जित निश्चित गरेको थियो । खेलको ७०औँ मिनेटमा गोर्खा ब्वाइजका सुरज थारुले एक गोल फर्काएका थिए ।
न्यू डाँफे स्पोट्र्स क्लब, खजुरा बाँकेको आयोजनामा भइरहेको प्रतियोगिताको मुख्य प्रायोजक एमटी एरिना स्पोट्र्स वेयर रहेको छ । प्रतियोगिताको विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्, जसमा विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्य रहेको आयोजक न्यू डाँफे स्पोट्र्स क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए ।  
उनका अनुसार, प्रतियोगिता अन्तर्गत शनिवार हुने दोस्रो सेमिफाइनल खेलमा जस्ट जोन एफसी, नाइजेरिया र फोर ब्रदर्स एफसी, सरावल (नवलपरासी)बीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्