नेभिगेशन
विश्व
फेरि अमेरिका–इरान वार्ता हुँदै

सम्झौता नभए युद्ध फेरि भड्किने खतरा

के होला वार्ता ?

इस्लामावाद, (सीएनएन) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि उच्चस्तरीय वार्ता पुनः सुरु गर्न पहल भइरहेको बताएका छन् । उनले अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तानतर्फ प्रस्थान गरिरहेको जानकारी दिँदै, यदि शान्ति सम्झौता हुन सकेन भने इरानमाथि पुनः सैन्य आक्रमण सुरु हुन सक्ने चेतावनी दिएका छन् । ट्रम्पको यो अभिव्यक्तिले मध्यपूर्वमा जारी तनाव अझै चुलिन सक्ने संकेत गरेको छ ।
ट्रम्पका अनुसार इरानसँगको वार्ता ‘राम्ररी अघि बढिरहेको’ भए पनि परिणाम निश्चित भइसकेको छैन । उनले स्पष्टरूपमा सम्झौता नभए अमेरिकाले ‘पुनः बम वर्षा’ सुरु गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । यसबीच इरानी स्रोतहरूले आफ्नो प्रतिनिधिमण्डल मंगलबार पाकिस्तान पुग्ने र त्यसपछि युद्धविराम थप विस्तार गर्ने घोषणा हुन सक्ने संकेत दिएका छन् ।
इरानका तर्फबाट विदेशमन्त्री अब्बास अराघ्ची र संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ सम्मिलित टोली वार्तामा सहभागी हुने अपेक्षा गरिएको छ । वार्ता सकारात्मक दिशामा अघि बढे ट्रम्प स्वयं पनि इस्लामाबाद जाने र त्यहाँ इरानी राष्ट्रपतिसँग संयुक्त बैठक गरी ‘इस्लामाबाद घोषणा’मा हस्ताक्षर गर्ने सम्भावना रहेको स्रोतहरूले जनाएका छन् ।
तर, यथार्थमा वार्ता सहज अवस्थामा छैन । गालिबाफले नै सार्वजनिकरूपमा अमेरिका र इरानबीच ‘अन्तिम सहमति अझै टाढा’ रहेको स्वीकार गरेका छन् । मुख्य विवादहरूमा इरानको आणविक कार्यक्रम, अमेरिकी नाकाबन्दी तथा सामुद्रिक मार्गको नियन्त्रण समावेश छन् ।
विशेषतः हर्मुज जलडमरूमध्यको विषयले तनावलाई झन् जटिल बनाएको छ । यो जलमार्ग विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महŒवपूर्ण मानिन्छ । ट्रम्पले इरानले युद्धविराम उल्लंघन गर्दै पुनः जहाज आवागमन अवरुद्ध गरेको आरोप लगाएका छन् भने इरानले उल्टै अमेरिकामाथि ‘विश्वासघात’ गरेको आरोप लगाएको छ । पछिल्लो तथ्यांकअनुसार उक्त जलमार्गबाट जहाज आवागमन लगभग ठप्पजस्तै भएको छ । यसले विश्व बजारमा ऊर्जा आपूर्ति संकटको जोखिम बढाएको छ ।
यसैबीच टर्कीका विदेशमन्त्री हाकान फिदानले दुवै पक्षमा वार्ता जारी राख्ने इच्छाशक्ति रहेको बताएका छन् । उनले भने, ‘समस्या धेरै छन् तर वार्ता जारी राख्ने प्रतिबद्धता सकारात्मक पक्ष हो ।’ उनले युद्धविराम थप विस्तार गर्नुपर्ने सुझाव पनि दिएका छन् ।
इरानी राष्ट्रपति मसुद पेजेश्कियनले अमेरिकाले आफ्नो देशलाई आणविक कार्यक्रमबाट वञ्चित गर्न नसक्ने स्पष्ट पारेका छन् । यो विषय नै वार्ताको सबैभन्दा जटिल बुँदा बनेको छ । अमेरिका भने इरानले उच्चस्तरको युरेनियम त्याग्नुपर्ने अडानमा छ ।
यसबीच क्षेत्रीय तनाव अन्य क्षेत्रमा पनि फैलिएको छ । इजरायल र लेबनान सीमामा झडप हुँदा दुई इजरायली सैनिक मारिएको पुष्टि भएको छ ।
यद्यपि अन्तर्राष्ट्रिय कूटनीतिक प्रयास तीव्र भइरहेका बेला अमेरिकाभित्र भने ट्रम्पको लोकप्रियता घट्दो अवस्थामा देखिएको छ । हालै सार्वजनिक एक सर्वेक्षणअनुसार उनको लोकप्रियता ३७–३८ प्रतिशतमा सीमित हुन पुगेको छ । विशेषगरी अर्थतन्त्र र इरानसँगको युद्ध व्यवस्थापनमा जनअसन्तुष्टि बढेको देखिन्छ ।
उक्त सर्वेक्षणअनुसार करिब दुई तिहाइ अमेरिकीहरूले इरानसँगको युद्ध व्यवस्थापनप्रति असहमति जनाएका छन् भने ६१ प्रतिशतले अब कुनै थप सैन्य कारबाही गर्न नहुने बताएका छन् । १६ प्रतिशतले मात्र हवाई आक्रमण जारी राख्नुपर्ने धारणा राखेका छन् भने २३ प्रतिशतले स्थलगत सेना प्रयोगसमेत विचार गर्नुपर्ने बताएका छन् ।
यो अवस्थाले ट्रम्पमाथि आन्तरिक राजनीतिक दबाबसमेत बढाएको छ । एकातिर अन्तर्राष्ट्रिय स्तरमा जटिल वार्ता, अर्कातिर घरेलु असन्तुष्टिका बीच सन्तुलन मिलाउनु उनका लागि चुनौतीपूर्ण देखिएको छ ।
विश्लेषकहरूका अनुसार आगामी केही दिन अत्यन्त निर्णायक हुनेछन् । युद्धविराम थप विस्तार हुन सकेन भने पुनः युद्ध चर्किन सक्ने खतरा छ । त्यसैले इस्लामाबादमा हुने भनिएको वार्तालाई अहिले ‘अन्तिम अवसर’का रूपमा समेत हेरिएको छ ।

के होला वार्ता ?

केही घण्टामै परिस्थिति कति बदलिन्छ भन्ने यसको स्पष्ट उदाहरण हो । हिजो यही समयतिर हेर्दा, अमेरिका–इरानबीचको युद्धविराम सकिन लागेसँगै हर्मुज जलडमरूमध्य हुँदै जहाज आवागमन पुनः सहज हुन थाल्ला भन्ने अनुमान गर्न सकिन्थ्यो ।
शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानबाट आएको ‘हर्मुज जलडमरू पूर्ण रूपमा खुला छ र आवागमनका लागि तयार छ’ भन्ने घोषणालाई उत्साहपूर्वक स्वागत गरेका थिए ।
इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जालमार्फत हर्मुज पूर्ण रूपमा खुल्ने संकेत दिएका थिए, तर सँगै इरानले जहाजको मार्ग व्यवस्थापन गर्ने पनि बताएका थिए । उक्त अभिव्यक्तिपछि केही घण्टामै कच्चा तेलको मूल्य करिब १० प्रतिशतले घटेको थियो । तर, यो आशा लामो समय टिक्न सकेन । अर्धसरकारी इरानी सञ्चारमाध्यमले अराघ्चीको भनाइले ‘आवागमनका सर्त, विवरण र प्रक्रियाबारे विभिन्न अन्योल सिर्जना गरेको’ भन्दै आलोचना ग¥यो ।
त्यसपछि ट्रम्पले इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी ‘पूर्णरूपमा जारी रहने’ बताए, जबसम्म इरानसँगको ‘सम्झौता’ पूरा हुँदैन ।
तर, २४ घण्टामै स्थिति फेरियो । इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) ले अमेरिकी नाकाबन्दी जारी रहेको कारण देखाउँदै पुनः हर्मुज जलडमरूमध्य बन्द गरेको घोषणा ग¥यो ।
आईआरजीसीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हर्मुज जलडमरूमध्यतर्फ आउने कुनै पनि जहाजलाई शत्रुसँगको सहकार्य ठानिनेछ र त्यस्ता जहाजलाई निशाना बनाइनेछ ।’
विश्वकै व्यस्त जलमार्गमध्ये एक फेरि खुल्ने आशा क्षणिकमै समाप्त भएको छ र अमेरिका तथा इरानबीच वार्ता पुनः गर्न सकिने बाहेक अन्य विषयमा सहमति अत्यन्त सीमित देखिएको छ ।
शनिबार इरानी सेनाले पुनः स्पष्ट पारेको छ कि अमेरिकी नाकाबन्दी कायम रहँदासम्म व्यावसायिक जहाजहरूको आवागमन कडाइका साथ सीमित गरिनेछ । यसलाई पुष्टि गर्न ओमानको तटबाट करिब २० माइल टाढा दुई जहाजमाथि आक्रमण गरिएको बताइएको छ, जसमा पहिलो आक्रमण इरानी गनबोटबाट भएको जहाजका कप्तानले बताएका छन् ।
यसैबीच सर्वोच्च नेता मोज्तबा खामेनीको नामबाट जारी गरिएको दुर्लभ वक्तव्यमा इरानको ‘साहसी नौसेना शत्रुलाई नयाँ पराजयको स्वाद चखाउन तयार रहेको’ उल्लेख गरिएको छ । खामेनी आफ्नो पिताको उत्तराधिकारीका रूपमा चयन भएदेखि पछिल्लो छ हप्तादेखि सार्वजनिक रूपमा देखिएका छैनन् ।
ट्रम्पले शनिबार पनि वार्ता ‘राम्ररी अघि बढिरहेको’ दाबी गरे, तर अमेरिकाले कुनै पनि प्रकारको दबाब वा धम्की स्वीकार नगर्ने स्पष्ट पारे । उता इरानको शक्तिशाली राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाबाट आएका ‘नयाँ प्रस्तावहरू’ अध्ययन भइरहेको तर प्रतिक्रिया अझै नदिइएको जनाएको छ ।
इरानी नेतृत्व सम्झौताप्रति सकारात्मक देखिँदैन । एक वरिष्ठ सैन्य अधिकारी जनरल मोहम्मद नक्दीले शनिबार चेतावनी दिँदै भने, ‘यदि युद्ध फेरि सुरु भयो भने, हामी सन् २०२६ मे महिनामा उत्पादन भएका मिसाइल प्रयोग गर्नेछौं ।’
उनले थपे, ‘हामी तेल उत्पादन रोक्न सक्छौं तर विश्वमा अव्यवस्था नहोस् भनेर संयम अपनाएका थियौं ।’ यद्यपि इरानी स्रोतहरूले आगामी हप्ता दोस्रो चरणको वार्ता हुने अपेक्षा गरेका छन्, अमेरिकी पक्षले भने युद्धविराम सकिनु अघि यसबारे सार्वजनिक पुष्टि गरेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्