नेभिगेशन
अर्थतन्त्र

घट्यो ग्यासको माग, उद्योगमै थन्किए ४०० बुलेट

काठमाडौँ । बजारमा सिलिन्डर अभावले ‘रि–फिल’ गर्न समस्या भएपछि आयात भएको ग्यास बुलेटमै थन्किएका छन् । माग ह्वात्तै घटेपछि उपभोक्तासँग भएका ग्यासका सिलिन्डर खाली भएर बजारमा नआएका कारण बुलेटको ग्यास रि–फिल हुन नसक्दा यत्तिकै उद्योगमै थन्किएको हो ।
इरान–अमेरिका युद्ध सुरु हुनुभन्दा अगाडिदेखि नै बजारमा चरम अभाव देखिएपछि सरकारले सबै उपभोक्तामा ग्यासको पहुँच पु¥याउन भन्दै गत फागुन २८ गते १४.२ किलोको सट्टामा आधा ७.१ किलो ग्यास भरेर बजारमा पठाउने निर्णय गरेको थियो । अहिले सबै उपभोक्तासँग आधा भरिएको सिलिन्डरमात्रै रहेकाले बुलेटमा भरिएको ग्यास बजारसम्म पठाउन समस्या भएको उद्योगीहरू बताउँछन् । 
उद्योगका डिपोहरूमा अहिले करिब ३०० देखि ४०० वटासम्म ग्यास बुलेटहरू भरिएर थन्किएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द बताउँछन् । अहिले खाली भएर आएका सिलिन्डरमा पनि आधामात्रै ग्यास भरेर दिने गरिएकाले ठूलो परिमाणमा ग्यास उद्योगमै थन्किएर बस्ने अवस्था आएको उनको भनाइ छ । 
उनका अनुसार ती बुलेटहरू खाली नभएसम्म नयाँ ग्यास आयात गर्नका सीमा नाकामा ढुवानी गाडीहरू पठाउन सम्भव नभएकाले यसले आपूर्ति शृंखलालाई थप अवरुद्ध बनाएको छ । उनले आधा सिलिन्डर ग्यासप्रति उपभोक्ताको रुचि घट्दै गएकाले माग पनि ह्वात्तै घटेको बताए ।
‘तत्काल आवश्यकता भएका उपभोक्ताहरूले आधा सिलिन्डर ग्यास खरिद गरिसकेका छन्, दीर्घकालीन प्रयोगका लागि स्टक राख्न चाहनेहरूले भने पूरा (१४.२ किलो) सिलिन्डर नै भर्ने कुरालाई प्राथमिकता दिइरहेका छन्,’ उनले भने, ‘परिणामस्वरूप उपभोक्ताको संख्या उस्तै रहे पनि आधा सिलिन्डरको प्रयोगका कारण कुल ग्यास खपत घटेको छ र हाम्रो ग्यास उद्योगमै थुप्रिने अवस्था सिर्जना भएको छ ।’
ग्यास बुटेलमै थन्क्याउनुपर्ने स्थिति करिब तीन सातादेखि देखिएको उद्योगी शिवप्रसाद घिमिरे बताउँछन् । सरकारले त्यतिबेला अभाव भएको परिस्थितिमा माग र आपूर्तिको सन्तुलन मिलाउन सबै उपभोक्ताले पाउने गरी आधा सिलिन्डर ग्यास वितरण गर्ने निर्णय गरेको भए पनि अहिले अवस्था फरक भइसकेकाले अब १४.२ किलो नै भरेर बजारमा पठाउने निर्णय गर्न पहल गरिरहेको भए पनि सुनुवाइ नभएको उनी बताउँछन् ।
‘१४.२ (किलो) को सिलिन्डरलाई आधा भरेर बजारमा पठाएपछि त्यहाँ एउटा सिलिन्डरमा पहिलेको तुलनामा आधा मात्रै ग्यास जाने भयो,’ उनले भने, ‘तर यसो गर्दा उद्योगीसँग ग्यास बचत रही रहने हुँदा नाकाबाट ढुवानी गर्न समस्या भइरहेको छ ।’
उनका अनुसार उद्योगमा भएका बुलेटको ग्यास ‘रि–फिल’ गर्न नपाएकै कारण भन्सारमा हरेक नाकामा बुलेटहरू छुटाउन नसकेर लाइन लागेर बसेका छन् । केही साता अघिसम्म बजारमा हाहाकारको स्थिति रहेकोमा अहिले ग्यासको माग ह्वात्तै घटेको छ । चरम अभाव भएको समयमा धेरै सिलिन्डर हुनेले सबै भरेर भण्डारण गर्ने तथा ग्यास सहजै नपाउने उपभोक्ता पनि सिलिन्डर बोकेर ग्यास खोज्न पसल–पसल धाउनुभन्दा विद्युतीय चुलोको विकल्पमा गएका कारण पनि अहिले बजारमा माग ह्वात्तै घटेको छ ।
ग्यासको माग नै कम भएको अवस्थाले तथा उपभोक्ताले भण्डारण गरेका सिलिन्डर पनि आधा मात्रै गएकाले लामो समय यस्तै परिस्थिती रहेमा नाकामा रोकिएका गाडीको भन्सार पास नहुँदा भारतीय गाडीले ढुवानी नगरिदेलान कि भन्ने चिन्ता बढेको पनि घिमिरेले बताए । 
उद्योगीहरूका अनुसार अहिले खाना पकाउने ग्यासको बजारको अवस्था हेर्दा अभावभन्दा पनि मागको असन्तुलन देखिएको छ । सरकार र नेपाल आयल निगमको यो समस्या समाधानतर्फ उन्मुख नभएको उद्योगीहरूको गुनासो छ । ‘उद्योगी व्यवसायीले पटक–पटक पूरा सिलिन्डर ग्यास बजारमा ल्याउन अनुमति माग्दा पनि निगमबाट सकारात्मक प्रतिक्रिया आएको छैन, यो अवस्था धेरै दिनसम्म रहँदा आर्थिक र प्राविधिक रूपमा पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ,’ चन्दले भने ।
बुलेटहरू थन्किँदा ढुवानीकर्ताहरूले अतिरिक्त ‘होल्डिङ चार्ज’ तिर्नुपरेको छ । धेरै व्यवसायी र ढुवानीकर्ताहरू बैंक ऋणमा निर्भर भएकाले बिक्री नभएपछि ऋणको किस्ता तिर्न कठिन भइरहेको पनि उनले बताए । साथै, ट्रक चालकहरूको आम्दानी पनि घटेको छ, । उनीहरूले हरेक ट्रिपका आधारमा पारिश्रमिक पाउने हुँदा ढुवानी ठप्प हुँदा उनीहरूको दैनिक जीवनयापनमा समेत असर परेको उद्योगीको भनाई छ । 
यता, आयल निगम भने अमेरिका–इरान युद्ध पूर्णरूपमा अन्त्य नहुँदासम्म आधा सिलिन्डर ग्यास वितरणको प्रक्रियालाई तत्कालै पूरा सिलिन्डर बनाउने पक्षमा देखिँदैन । युद्धको अन्त्य भइनसकेकाले अहिले बजारमा ग्यास अभाव नदेखिएपनि भोलि पनि यस्तो समस्या आउन सक्ने जोखिम कायमै रहेकाले तत्कालै बजारमा पूरा सिलिन्डर पठाउने सम्बन्धमा निर्णय लिइ नहाल्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । 
‘केही समय अगाडिसम्म ५० हजार मेट्रिक टन ग्यास आयात हुँदा पनि बजारमा अभाव थियो, तर अहिले करिब १८ हजार मेट्रिक टन आउँदा किन ग्यास थुप्रिएको छ भन्ने प्रश्न उठ्छ सक्छ । यसो हुँदैमा अब अभावको स्थिती नै आउँदैन भनेर अहिले नै ढुक्क भइहाल्न सकिँदैन, त्यसैले पनि पूरा सिलिन्डर बजारमा पठाउने निर्णय गर्न केही समय कुर्नैपर्छ ।’ 
उनले उद्योगीको ग्यास बुटेलमै थन्किने अवस्था आएमा कम आयात गर्न सुझाव समेत दिए ।  ग्यास बुलेट उद्योगमा थन्किएको सम्बन्धमा हतारमा प्रतिक्रिया दिनुभन्दा केही समय ‘वेट एण्ड वाच’ को रणनीति अपनाउनु उपयुक्त हुने निगमले जनाएको छ । 
भोलिका दिनमा स्ट्रेट अफ हर्मुजको तनाव र सम्भावित अवरोधले आपूर्तिमा असर पार्न सक्ने हुँदा  यस्तो संवेदनशील अवस्थामा हतारमा निर्णय लिएर भोलि फेरि परिवर्तन गर्नुपर्ने अवस्था आयो भने त्यसले झन् अन्योल सिर्जना गर्ने ठाकुरले बताए । उनले यही कारण पनि अबको १० दिन परिस्थिति अवलोकन गरेर मात्र दीर्घकालीन निर्णय लिनु उपयुक्त हुने बताए । आपूर्ति प्रणाली स्थिर र सुनिश्चित नभएसम्म ठोस निष्कर्ष निकाल्न गाह्रो हुने उनको दाबी छ ।
‘उद्योगमा बुटेल थन्क्याउनु पर्दा उद्योगलाई समस्या भएको हुन सक्छ,त्यसलाई नकार्न सकिँदैन । तर,अब उद्योगीले पनि बजारमा माग कम छ भने खपत अनुसार कै आयात गर्दा उपयुक्त हुन्छ,’ ठाकुरले भने । निगमका अनुसार सामान्य अवस्थामा बजारमा मासिक ४५ हजारदेखि ४८ हजार मेट्रिक ग्यासको माग रहेकोमा पछिल्लो १५ दिनमा १८ हजार मेट्रिकटन मात्र ग्यास आयात भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्