नेभिगेशन
प्रदेश

बेथानचोकले आइतबार बिदा नदिने

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकामा आइतबार बिदा नदिइने र वैशाख १३ गतेदेखि विद्यालय खुलाउने निर्णय भएको छ ।
गाउँपालिकाले गुणस्तरीय शिक्षा अभियान अन्तर्गत पालिकाभरिका सबै शिक्षकहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै आइतबार उक्त निर्णय गरेको हो । 
कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न समसामयिक विषयहरुमाथि छलफल भएको र यसबाट थप केही महत्वपूर्ण निर्णयहरु भएका पालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । सरकारले शनिबार र आइतबार बिदा दिए पनि पालिकामा आइतबार पनि नियमित कक्षा सञ्चालन हुने भएको छ । संघ सरकारले विद्यालय भर्ना अभियान वैशाख १५ देखि र पढाइ शुरु वैशाख २१ देखि गरिने निर्णय गरेको छ । तर पालिकाले भने वैशाख १३ गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको छ । 
यसैगरी पाठ योजनाबाट नै काम सुरु गर्ने र सीपमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्न सबै शिक्षकहरूले साझा प्रयास गर्ने निर्णय भएको छ । यो निर्णयले बेथानचोक गाउँपालिकाको शिक्षालाई थप व्यवस्थित, अनुशासित र गुणस्तरीय बनाउने अध्यक्ष अधिकारीको अपेक्षा छ । यसले विद्यार्थीहरूको सिकाइ उपलब्धीमा सकारात्मक प्रभाव पर्ने उनको विश्वास छ । 
आइतबार पालिकाको सभा हलमा भएको कार्यक्रममा शिक्षाविदहरु प्राडा विद्यानाथ कोइराला, शिक्षा मन्त्रालयका पूर्वसचिव डा. हरि लम्साल, पूर्वमहानिर्देशक दीपक शर्मा, डा. बलराम तिमल्सिना लगायत पालिकाका विद्यालयहरुका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापकहरु, शिक्षक र जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्