नेभिगेशन
विश्व

ट्रम्प र एआई कम्पनी विवाद नयाँ मोडमा

वासिङ्टन डिसी (एजेन्सी) । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र कृत्रिम बुद्धिमत्ता प्रविधिमा काम गर्ने कम्पनी एन्थ्रोपिक बीच देखिएको विवाद अहिले नयाँ मोडमा पुगेको छ । युद्धमा कृत्रिम बुद्धिमत्ताको प्रयोगको सीमा, त्यसको नैतिकता र नियन्त्रण कसको हातमा रहने भन्ने विषयमा उत्पन्न मतभेदपछि दुवै पक्ष अन्ततः संवादतर्फ उन्मुख भएका संकेत देखिएका छन् ।
फ्लोरिडास्थित मारा–लागोमा इरानसँग सम्भावित सैन्य कारबाहीको तयारी भइरहेका बेला ट्रम्प प्रशासनले अत्याधुनिक सैन्य शक्ति परिचालन गरिरहेको थियो । विमानवाहक जहाज, लडाकु विमान र पनडुब्बीहरू तयारी अवस्थामा थिए । तर, सबैभन्दा महŒवपूर्ण मानिएको प्रविधि—कृत्रिम बुद्धिमत्ता पूर्णरूपमा प्रयोग गर्न नसक्दा राष्ट्रपति ट्रम्पको असन्तुष्टि बढेको थियो ।
यसको कारण थियो, एन्थ्रोपिकका प्रमुख डारियो अमोदेइले लिएको निर्णय । उनले आफ्नो कम्पनीको प्रविधि अमेरिकी रक्षा मन्त्रालयलाई सीमित रूपमा मात्र उपलब्ध गराउने बताएका थिए । मानव निगरानी बिनाको स्वचालित निर्णय प्रक्रियामा कृत्रिम बुद्धिमत्ताको प्रयोग खतरनाक हुन सक्छ भन्ने उनको भनाइ थियो ।
इराक र अफगानिस्तान युद्धपछिका वर्षहरूमा अमेरिकी सेनाले लक्ष्य पहिचान, आक्रमणका साधन चयन र आक्रमण कार्यान्वयन गर्ने प्रक्रियालाई क्रमशः प्रविधिमैत्री बनाउँदै आएको छ । यस प्रक्रियामा कृत्रिम बुद्धिमत्ता जोडिएपछि गति निकै बढेको छ । पालान्टिर टेक्नोलोजिजसँगको सहकार्यमा विकसित प्रणालीमार्फत लक्ष्य पहिचान र निर्णय प्रक्रिया तीव्र बनाइएको छ ।
यसै विषयमा प्रकाशित पुस्तक ‘प्रोजेक्ट मेभेनः एक समुद्री कर्नेल, उनको टोली र कृत्रिम बुद्धिमत्ता युद्धको उदय’मा कृत्रिम बुद्धिमत्ताले युद्धको स्वरूप कसरी परिवर्तन गरिरहेको छ भन्ने उल्लेख गरिएको छ । पुस्तकका अनुसार, यस्तो प्रविधिले आक्रमणको क्षमता र गति उल्लेखनीयरूपमा बढाएको छ तर नियन्त्रण कसको हातमा रहने भन्ने प्रश्न अझै निधो हुन सकेको छैन ।
एन्थ्रोपिकले दुई विषयमा स्पष्ट असहमति जनाएको थियो । पहिलो, पूर्णरूपमा स्वचालित हतियार प्रणालीको विकासमा कसको नियन्त्रण रहने, दोस्रोमा  नागरिकमाथि व्यापक निगरानीमा प्रविधिको प्रयोग गर्न हुने कि नहुने । यही दुई कारण ट्रम्पले कम्पनीप्रति कडा प्रतिक्रिया जनाउँदै सरकारी सम्झौता रद्द गरिदिएका थिए ।
यसैबीच, इरानमा गरिएको एउटा मिसाइल आक्रमण गलत लक्ष्यमा परेको घटना सार्वजनिक भएपछि विवाद झनै चर्किएको छ । प्रारम्भिक रूपमा सैन्य अड्डा ठानिएको स्थान वास्तवमा विद्यालय भएको बताइएको छ । जसका कारण ठूलो मानवीय क्षति भएको रिपोर्टहरू आएका छन् । विश्लेषकहरूले यस्तो घटनाले प्रविधिमा अत्यधिक निर्भरता कति जोखिमपूर्ण हुन सक्छ भन्ने देखाएको बताएका छन् ।
उता एन्थ्रोपिकले हालै आफ्नो नयाँ प्रविधि ‘मिथोस’ सार्वजनिक गरेको छ । यसले कुनै पनि कम्प्युटर प्रणालीमा प्रवेश गर्न सक्ने क्षमता राख्ने दाबी गरिएको छ । यसले विश्वव्यापी वित्तीय प्रणाली र सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यस विषयमा संयुक्त राष्ट्रसंघ लगायतका निकायहरूले पनि कृत्रिम बुद्धिमत्ताको सैन्य प्रयोगमा स्पष्ट नियम आवश्यक रहेको बताउँदै आएका छन् ।
तनावका बाबजुद यसबीच एन्थ्रोपिक र अमेरिकी प्रशासनबीच पुनः संवाद सुरु भएको संकेत देखिएको छ । डारियो अमोदेइलाई ह्वाइट हाउसमा उच्चस्तरीय छलफलका लागि बोलाइएको थियो । यद्यपि ट्रम्पले सार्वजनिक रूपमा यसबारे कुनै जानकारी दिएका छैनन् । यसले दुई पक्षबीच अझै अविश्वास जारी रहेको संकेत गरेको छ ।
यो घटनाक्रमले भविष्यका युद्धहरूमा अन्तिम निर्णय मानिसले गर्ने कि प्रविधिले भन्ने ठुलो प्रश्न उब्जाएको छ । विशेषज्ञहरूका अनुसार, कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई स्पष्ट नीति, कडा नियमन र मानव नियन्त्रणमा राख्न नसकिएमा यसको प्रभाव गम्भीर हुन सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व