नेभिगेशन
प्रदेश

पनौतीमा आधुनिक नगर अस्पताल

पनौती । काभ्रेको पनौती नगरपालिकाले सोमबारदेखि आफ्नो सेवा शुभारम्भ गरेको छ । सोमबार नगरपालिकाको वडा नम्बर १० मा रहेको सो अस्पतालको नगरप्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले संयुक्त रुपमा उद्घाटन गर्नुभएसँगै अस्पतालले आफ्नो सेवा सुरु गरेको हो ।
प्रदेश सरकार, स्थानीय सरकार तथा भारतीय दुतावासको सहयोगमा निर्माण भएको सो अस्पताल सञ्चालनमा आएसँगै पनौती नगरपालिकाका नागरिकलाई सामान्य उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता हटेको छ । अस्पतालले पहिलो चरणमा दुई जना मेडिकल अधिकृतसहित नौ जना जनशक्तिमार्फत नियमित सेवा सुरु गरेको नगरपालिका प्रमुख भण्डारीले जानकारी दिए ।
अस्पताल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रमुख भण्डारीका अनुसार अस्पतालमा गुणस्तरीय ल्याब सेवा, विशेषज्ञ सेवा, एक्स–रे मेशिनलगायतका सुविधासहित सेवा सुरु गरिएको हो । ‘अब पनौती नगरपालिकाका मात्र होइन, आसपासका क्षेत्रका नागरिकले पनि यहाँबाट सहज सेवा पाउनेछन् । यहाँ उपलब्ध हुन नसकेको सेवा मात्रै अन्यत्र रिफर गरिनेछ,’ उनले भने । यस आर्थिक वर्षमा प्रदेश सरकारले उपलब्ध गराएको ४० लाख रुपैयाँबाट आवश्यक सामग्री खरिद तथा व्यवस्थापन गरिएको र थप खर्च नगरपालिकाले आफ्नै स्रोतबाट व्यवस्थापन गरेको नगरप्रमुख भण्डारीले बताए । अस्पताल सञ्चालनका लागि संघीय सरकारले भने हालसम्म बजेट व्यवस्थापन नगरेको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा उपप्रमुख गीता बञ्जाराले अस्पतालको सेवा क्रमशः विस्तार गरिने र आगामी दिनमा थप विशेषज्ञ सेवा तथा आधुनिक उपकरण थप्दै लैजाने नगरपालिकाको लक्ष्य रहेको बताए । करिब १६ करोडको लागतमा अस्पताल निर्माण भएको उनले जानकारी दिए ।
हाल सञ्चालनमा रहेको खोपासी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगर अस्पतालका रूपमा विकास गर्ने योजनाअनुसार अहिलेको अस्पताल सञ्चालनमा ल्याइएको पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनक केसीले जानकारी दिए । उनका अनुसार पनौती नगरपालिकाभित्र हाल १५ वटा स्वास्थ्य संस्था रहेका छन् । तीमध्ये नगर अस्पताल सबैभन्दा धेरै जनशक्ति, उपकरण र सेवा सुविधा भएको स्वास्थ्य संस्था हो ।
कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीले नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले अस्पताल खोल्न सजिलो नभएको उल्लेख गर्दै यस अस्पतालले नियमितरूपमा सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । उनले अस्पतालमा गएर उपचार गराउनुपर्ने बाध्यताबाट मुक्ति पाउन हामीले कुनै रोग नै नलागोस् भन्नेतिर पनि सोचेर खानपानमा ध्यान दिन जरुरी रहेको बताए । 
कार्यक्रममा वडानम्बर १० का वडाध्यक्ष मोहनबहादुर भण्डारीले अस्पताल निर्माणका सुरुवाती दिनहरूको स्मरण गर्दै यहाँसम्म आइपुग्न आफूले निकै मिहेनत गरेको र यसमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे । वडा नम्बर ११ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक विपेन्द्र लामाले अस्पताल निर्माण आफैंमा गौरवको विषय भएकाले यसबाट प्रदान गरिने सेवाहरू गुणस्तरीय हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्