नेभिगेशन
खेलकुद

शाहलाई मरणोपरान्त राष्ट्रिय खेलकुद पुरस्कार

पोखरामा क्रियाशील नेपाल भूतपूर्व खेलाडी मञ्चमा स्थापित राष्ट्रिय खेलकुद पुरस्कार नेपाली खेलकुद क्षेत्रमा योगदान पु¥याएबापत शरद्चन्द्र शाहलाई मरणोपरान्त प्रदान गरिएको छ । मञ्चको रजत महोत्सव समापन समारोहमा दिवङ्गत शाहका परिवारजनलाई उक्त पुरस्कार समर्पण गरिएको हो । 
रु एक लाखसहित पदक र सम्मानपत्र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मञ्चका अध्यक्ष दिलबहादुर गुरुङलगायतले संयुक्त रूपमा दिवङ्गत शाहका श्रीमती रमा शाह र छोरी मिमोही शाहलाई हस्तान्तरण गरिएको थियो । नेपाली खेलकुद क्षेत्रको विकासमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै शाहलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष गुरुङले बताए ।
दिवङ्गत शाहले विसं २०३४ देखि २०४५ सम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए । राष्ट्रिय खेलकुद प्रतियोगिता, नगर खेलकुद प्रतियोगिता तथा दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई संस्थागत र चलायमान बनाउन उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।  
मञ्चका संस्थापक खड्क रानाभाटले उक्त पुरस्कार स्थापना गर्नुभएको हो । हरेक दुई वर्षमा राष्ट्रियस्तरमा उक्त पुरस्कार प्रदान गर्ने गरिएको मञ्चका अध्यक्ष गुरुङले बताए । मञ्चले पोखरा अन्तरराष्ट्रिय म्याराथनको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्