नेभिगेशन
विश्व

होर्मुज नाकाबन्दीका बीच ट्रम्पको युद्धविराम लम्बिँदै

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छः इरान

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीचको वार्ता नसकिँदासम्म दुई देशबीच जारी युद्धविरामको अवधि थपिने बताएका छन् । उता इरानले भने वार्ताप्रति चासो देखाउन छाडेका खबरहरू सार्वजनिक हुन थालेका छन् ।
इरानी पक्षले एक मतमा तयार गरेको प्रस्ताव पेस नगरेसम्म इरानमाथिको सामुद्रिक नाकाबन्दी पनि जारी रहने ट्रम्पले बताएका छन् ।
अमेरिका–इरानबीचको दुई साता लामो युद्धविरामको अवधि बुधबारबाट सकिएको छ भने यसबीच दुई देशबीच हुने भनिएको दोस्रो चरणको वार्ताबारे अन्योल देखिएको छ ।
वार्ताका लागि मंगलबार नै इस्लामाबाद जाने ठानिएका अमेरिकी उपराष्ट्रपति जेडी भान्स वासिङ्टनमै रहेको विवरण आएका थिए । ह्वाइट हाउसले पत्रकारहरूसँग भान्स अब पाकिस्तान नजाने बताएको छ ।
इरानले पनि अमेरिकासँग हुने सम्भावित वार्ताका लागि आफ्नो देशको टोली पठाउनेबारे निर्णय नगरेको विदेश मन्त्रालयका एक प्रवक्ताले बीबीसीसँग बताएका थिए ।
युद्धविराम लम्ब्याउने निर्णयको राष्ट्रसंघद्वारा स्वागत
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले इरानसँग युद्धविराम लम्ब्याउने राष्ट्रपति ट्रम्पको घोषणाको स्वागत गरेको उनको कार्यालयका प्रवक्ताले बताएका छन् ।
महासचिव गुटेरसको कार्यालयले सबै पक्षलाई युद्धविराम उल्लंघन नगरी रचनात्मक वार्तामा सहभागी हुन आग्रह गरेको छ ।
उनका प्रवक्ताका अनुसार गुटेरसले वार्ता सहज बनाउन पाकिस्तानले खेलेको भूमिकाको समर्थन गर्दै द्वन्द्वको दीर्घकालीन समाधानका लागि वातावरण बन्ने आशा व्यक्त गरेका छन् ।
युद्धविराम लम्ब्याउने घोषणा अघिसम्म अमेरिकाले तेहरानमाथि आफ्नो आर्थिक दबाब कायमै राख्ने प्रयास गरेको छ ।
१४ व्यक्ति र संस्थामाथि अमेरिकी प्रतिबन्ध
वासिङ्टनबाट संवाददाताहरूलाई सोमबार अपराह्न पठाइएको एक विज्ञप्तिमा अमेरिकी अर्थ मन्त्रालय अन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले इरान, टर्की र संयुक्त अरब एमिरेट्सबाट कारोबार गर्ने १४ व्यक्ति, संस्था र विमानमाथि प्रतिबन्ध लगाइएको जनाएको छ ।
ती व्यक्ति र संस्थाहरू इरान सरकारको तर्फबाट हतियार वा हतियारका पाटपूर्जा खरिद तथा ढुवानीमा संलग्न भएको अमेरिकी आरोप छ । यसअघि अमेरिका र इरानबीच युद्धविराम सम्झौता हुँदा होर्मुज स्ट्रेट खोल्ने सर्त गरिएको बताइए पनि उक्त जलमार्ग बन्द छ ।
राष्ट्रपति ट्रम्पका अनुसार तेहरान होर्मुज खोल्ने सर्तमा सहमत भएको थियो । खाडी क्षेत्रबाट तेल ढुवानीको प्रमुख जलमार्ग होर्मुज स्ट्रेटबाट दुई साता जहाजहरू आवतजावत गर्न दिने र त्यसको समन्वय आफ्नो सेनाले गर्ने सहमति भएको इरानले जनाएको थियो ।
शान्ति वार्ताका लागि पाकिस्तान पुगेका अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानी अधिकारीहरूसँग घण्टौंको छलफलमा पनि कुनै सम्झौता नजुटेपछि वासिङ्टन फर्किएका थिए ।
वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि सामुद्रिक नाकाबन्दी सुरु ग-यो । अमेरिकाले इरानमाथि आर्थिक दबाव बढाउने उद्देश्यले प्रतिबन्ध पनि थप गर्दै लगेको छ ।

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छः इरान

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय हितको रक्षा गर्ने एक उपकरण भएको र इरानको हितसँग मेल खाने अवस्था आएपछि मात्र यसको अनुसरण गरिने बताए ।
उनले मध्यस्थताको प्रयासका लागि पाकिस्तानलाई धन्यवाद दिनुभयो र भन्नुभयो, इरानको कार्य अमेरिका र इजरायली सैन्य आक्रमणको सामना गर्न आत्मरक्षामा गरिएको थियो।
इरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाका लागि आवश्यक कदम चाल्दै युद्धक्षेत्र र राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उनले बताए । 
वक्तव्यमा भनिएको छ, “इरानले आफ्नो वैधानिक अधिकारको रक्षा गर्नेछ, आक्रमणका लागि कानुनी जवाफदेही बनाउनेछ र युद्धमा भएको क्षतिको क्षतिपूर्तिको माग गर्नेछ।”
फार्स समाचार एजेन्सीका अनुसार बघाईले भने, “इरानी व्यापारिक जहाजहरूमा आक्रमण र तिनीहरूलाइृ जफत गर्नुले गम्भीर रूपमा कूटनीतिमा संलग्न देशको व्यवहारलाई प्रतिबिम्बित गर्दैन।”
इरानले दोस्रो चरणको वार्तामा भाग लिने घोषणा नगरेको र इस्लामावादमा वार्ता गर्ने कुनै पनि निर्णय यसले राष्ट्रिय हितको सेवा गर्छ कि गर्दैन भन्नेमा निर्भर गर्ने उनले बताए ।
युद्धरत पक्षहरूबीच ४० दिनको लडाईपछि अप्रिल ८ युद्धविराम लागू भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको अवधि थप गर्ने बताएका छन् ।
पाकिस्तानले तेहरान र वासिङ्टनबीच अप्रत्यक्ष वार्तामा मध्यस्थता गरेको छ, जसको पहिलो चरणको आयोजना अप्रिल ११–१२ मा इस्लामाबादमा भएको थियो । इज्ञरानको तस्निम न्यूज एजेन्सीले संयुक्तराज्य अमेरिकासँग बुधबार पाकिस्तानमा हुने दोस्रो चरणको वार्तामा सहभागी तेहरानको निर्णय ‘निश्चित’ भएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व