नेभिगेशन
प्रदेश

डडेलधुरा अस्पतालका कर्मचारी हटाउँदा सेवा प्रभावित

डडेलधुरा । संघीय सरकार मातहत रहेको सुदूरपश्चिमको एक मात्र अस्पताल डडेलधुुरा अस्पतालमा करार कर्मचारीको विवाद चुलिँदा चिकित्सा उपचार प्रभावित बनेको छ ।
चैत ३० गते अस्पताल प्रशासनले एक सूचना जारी गर्दै वैशाख १ गतेदेखि मिलान हुन नसकेर करार सेवामा कार्यरत कर्मचारीलाई हाजिर नगर्न अनुरोध गरेको थियो । गत चैत ५ गते भएको निर्णय अनुसार पद मिलान हुन नसकेका कर्मचारीका लागि अस्पताल प्रशासनले आवश्यक प्रक्रिया अघि बढाउन प्रयासरत रहेको जानकारीसहित अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्टको हस्ताक्षरसहितको सूचना जारी भएको थियो । तर पनि कर्मचारीहरूले भने हाजिर गरिरहेको पाइएको छ ।
अस्पताल प्रशासनले हालसम्म पद मिलान हुन नसकेका कर्मचारीको संख्या के कति छन् भन्ने चाहिँ खुलाएको छैन । कर्मचारीको विवरण नखुलाइएपछि बढेको विवादलाई निराकरण गर्न जिल्ला प्रशासन कार्यालय डडेलधुराले अस्पतालमा कार्यरत कर्मचारीहरूको विस्तृत विवरण माग गरेको छ । जिल्ला प्रशासनले अस्पताललाई दरबन्दी, करार नियुक्ति र हटाइएका कर्मचारीसम्बन्धी सम्पूर्ण विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ । सो निर्देशनमा अस्पतालको स्थायी स्वीकृत दरबन्दी, अस्पताल विकास समितिबाट स्वीकृत दरबन्दी तथा करारमा नियुक्त कर्मचारीको विवरण माग गरिएको छ । साथै बिनादरबन्दी नियुक्त गरिएका कर्मचारीको सूची र २०८३ वैशाख १ गतेदेखि हटाइएका कर्मचारीको नाम थरसहितको विवरण पनि पेस गर्न पनि जिल्ला प्रशासन कार्यालय निर्देशन दिएको छ ।
प्रशासन कार्यालयले बिनादरबन्दी कर्मचारी किन र कति भर्ना गरिएको हो र हाल किन निजहरूलाई हटाउनु परेको हो भन्ने विवरण खुलाएर जवाफ दिन अस्पताललाई पत्र काटेको हो । हटाइएका भनिएका कर्मचारीहरूले अझै हाजिर लगाइरहेको गुनासो आएको उल्लेख गर्दै सो विषयमा समेत यथार्थ विवरण पठाउन प्रशासनले अस्पताललाई भनेको छ । एकातिर करारका कर्मचारी हटाए अस्पतालमा काम गर्ने आवश्यक जनशक्ति पुग्दैन भने अर्कोतिर भएको जनशक्ति किन घटाइएको हो भन्ने सम्बन्धमा अस्पताल प्रशासनले चित्तबुझ्दो जवाफ दिन सकेको छैन । 
गत वर्षसम्म डडेल्धुरा अस्तालमा दुई सय ७६ जना कर्मचारीहरु कार्यरत थिए । तीनमा स्थायी कर्मचारी ८६ जना मात्रै छन् । गत वर्षको तथ्यांक अनुसरा करारमा कार्यरत कर्मचारीको संख्या एक सय ९० रहेको थियो । अस्पतालले जनाए अनुसार नगद शाखा, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, स्वीपर र सुरक्षागार्डमा करारमा कार्यरत छन् । अस्पतालमा कार्यरत ११ जना विषेशज्ञ चिकित्सकमध्ये चार जना मात्र स्थायी दरबन्दी र सात जना करारमा कार्यरत छन् । मेडिकल अधिकृत ३२ जना मध्ये ११ जना स्थायी र २१ जना करारमा कार्यरत छन् । स्टाफ नर्स ५७ जनामा ३७ जना स्थायी र २० जना करार कर्मचारी छन् । कार्यालय सहयोगी ३१ जना, स्वीपरमा २७ जना र सुरक्षागार्डमा सात जना कर्मचारी करारमा कार्यरत छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्