नेभिगेशन
अर्थतन्त्र

एकै दिनमा २० लाख पुस्तक बिक्री

बार्सिलोनाका पुस्तक पसलहरूमा किताबहरू राख्न नपाउँदै बिक्री भइरहेका छन् । शुक्रबार बिहान बार्सिलोनाको ‘ला कासा डेल लिब्रे’ पुस्तक पसलमा कर्मचारीहरू इसाबेल एलेन्डे, जुलिया क्विन र स्याली रुनीका नयाँ उपन्यासहरूलाई धर्के कागजमा उपहारस्वरूप बेर्न निकै व्यस्त देखिन्छन् ।
सहरको महँगो इलाका ‘पासेग डे ग्रासिया’मा रहेको यस पसलका प्रबन्धक जोर्डी भन्छन्, ‘हाम्रा लागि यो वर्षकै सबैभन्दा महŒवपूर्ण समय हो, क्रिसमसभन्दा पनि ठूलो ।’ आगामी हप्ताभित्र यस पसलले मात्रै करिब २ लाख पुस्तक बेच्ने लक्ष्य राखेको छ ।
बिहीबार क्याटालोनियामा विश्व पुस्तक दिवस मनाइँदै गर्दा पासेग डे ग्रासिया क्षेत्र एउटा विशाल खुल्ला पुस्तक पसलमा परिणत भएको छ । सडकहरू बन्द गरेर  सयौँ स्टलहरू तेर्सिए । यहीँ लेखकले पाठकलाई भेटे र मानिसहरूले आफ्ना प्रियजनका लागि उपहारस्वरूप गुलाबका फूल र पुस्तकहरू किने ।
यस वर्ष पुस्तक व्यवसायीहरू इतिहासकै ठूलो व्यापार हुने आशामा छन् । गत वर्ष २ करोड ६० लाख युरो बराबरको पुस्तक बिक्री भएको थियो । त्यसमध्ये ५२ प्रतिशत क्याटालन भाषाका र ४८ प्रतिशत स्पेनिस भाषाका पुस्तक थिए । क्याटालोनियाको प्रकाशन उद्योगका लागि यो दिन मेरुदण्ड जस्तै हो किनभने वर्षभरि हुने कुल बिक्रीको झण्डै २० प्रतिशत व्यापार यहीँबाट हुन्छ ।
बार्सिलोना काउन्सिलका संस्कृति प्रमुख जाभियर मार्सेका अनुसार, विश्व पुस्तक दिवसको दिन जागिर, काम र अन्य जरुरी काम छाडेर भए पनि दिउँसोको खानापछि सबैजना पुस्तक र गुलाब किन्न निस्कने एउटा अलिखित सहमति जस्तै छ । गत वर्ष २० लाख पुस्तक र ७० लाख गुलाबका फूल बिक्री भएका थिए । झण्डै २० लाखभन्दा कम जनसंख्या भएको सहरमा ३५० वटा पुस्तक पसल हुनु आफैँमा ठुलो कुरा हो ।
बार्सिलोनामा ‘द ब्याकस्टोरी’ पुस्तक पसल चलाउने अमेरिकी मूलकी केट बाराज भन्छिन्, ‘मैले अरू कुनै पनि सहरमा यस्तो उत्सव देखेकी छैन । यो दिन निकै जादुमयी हुन्छ । सडकमा निस्कँदा जताततै गुलाब बेचिरहेका मानिसहरू मात्रै देखिन्छन् ।’
अप्रिल २३ बार्सिलोनाका लागि दोहोरो खुसीको दिन हो । यसलाई मुख्यतया ‘सान जोर्डी’ (सेन्ट जोर्ज) को रूपमा चिनिन्छ । मध्यकालदेखि नै सान जोर्डीलाई क्याटालोनियाको संरक्षक सन्त मानिन्छ । उनले एउटा ड्रागनको वध गरेको किंवदन्ती क्याटालोनिया र इङ्गल्यान्ड दुवैतिर प्रचलित छ, तर मनाउने तरिका भने फरक छन् ।
सन् १९२२ मा बार्सिलोनाका प्रकाशक तथा लेखक भिसेन्टे क्लाभेलले पुस्तकको पहुँच र बिक्री बढाउन एउटा विशेष दिन मनाउने अवधारणा ल्याएका थिए । सुरुमा यो दिवस अक्टोबर ७ मा मनाइन्थ्यो । तर चार वर्षसम्म मौसमले साथ नदिएपछि, यसलाई अप्रिल २३ मा सारियो । यो मिति प्रसिद्ध लेखक मिगुएल डे सर्भान्तेसको पुण्यतिथि र विलियम शेक्सपियरको जन्मदिनसँग पनि मेल खान्छ । क्याटालोनियाबाट सुरु भएको यो परम्परा पछि एरागोन र भ्यालेन्सियामा पनि फैलियो ।
स्पेनको यो सफलतापछि सन् १९९७ देखि विश्वभर पुस्तक दिवस मनाउन थालियो । अहिले भारत, स्वीडेन, मेक्सिकोलगायत १०० भन्दा बढी देशमा अप्रिल २३ मै यो दिवस मनाइन्छ । बेलायतमा भने बिदाका समयसँग नजुधोस् भनेर मार्चको पहिलो बिहीबार यो दिवस मनाइन्छ । स्पेनका अभिभावकहरू अलि बढी फाइदामा देखिन्छन्, किनकि यहाँका बालबालिकाले बेलायतमा जस्तो विद्यालयमा विशेष भेषभूषा (फेन्सी ड्रेस) लगाएर जानु पर्दैन ।
यस उत्सवले सहरका अरू व्यवसायलाई पनि फाइदा पु¥याएको छ । बेकरीहरूले ड्रागनको बुट्टा भएका केक र क्याटालन झण्डाको रङका रोटीहरू बनाउँछन् । विद्यालयहरूले चन्दा संकलनका लागि केक र फूल बेच्छन् भने पुस्तकालयहरूमा निःशुल्क कन्सर्ट र लेखकहरूसँग अन्तक्र्रिया आयोजना गरिन्छ ।
तर पछिल्ला वर्षहरूमा स्थानीय बासिन्दाहरूले केही गुनासो पनि गर्न थालेका छन् । सडकमा हुने अत्यधिक भिड र इन्फ्लुएन्सरहरूले टिकटक वा इन्स्टाग्रामका लागि फोटो खिच्ने होडबाजी गर्दा आवतजावतमा समस्या हुने उनीहरूको भनाइ छ ।
यद्यपि, जोर्डी भन्छन्, ‘भिड त छ, तर मेरो लागि यो १०–२० वर्षअघि जस्तै छ । पर्यटक बढेका छन् तर व्यवस्थापन पनि राम्रो हुँदै गएको छ । यो अलि अस्तव्यस्त देखिए पनि निकै सुन्दर छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्