नेभिगेशन
नेपाल

धनी मित्र कसरी टिकाइराख्ने ?

सम्बन्धमा आर्थिक असमानताले समस्या निम्त्याउन सक्छ तर बुद्धिमान व्यक्तिले धनी होस् या गरिब, आफ्नो मित्रतालाई टिकाइराख्न मिहिनेत गर्छ । स्कूल वा कलेजमा बनेका साथीहरुको सम्बन्ध अटुट जस्तो देखिन्छ । वर्षौँदेखिको साथलाई कुनै पनि कुराले तोड्न सक्दैन जस्तो लाग्छ । तर, आर्थिक मुद्दाहरूले त्यो अटुट बन्धनलाई टुटाइदिन पनि सक्छन् । विशेष गरी सम्पत्तिको अन्तर र खर्च गर्ने, दिने वा लिने विषयमा हुने मतभेदले तनाव सिर्जना गर्न सक्छ । आफ्नो सम्बन्धलाई बलियो राख्न र तनावपूर्ण परिस्थितिहरूलाई सम्हाल्न द वाल स्ट्रिट जर्नलमा उपाय दिइएको थियो, त्यो उपाय हामी यहाँ प्रस्तुत गरिरहेका छौँ ।

पैसामा मात्र ध्यान नदिनुहोस्
टेक्सस टेक युनिभर्सिटीकी वित्तीय मनोवैज्ञानिक सोन्या लटरका अनुसार, मित्रतामा तपाईंलाई कुन कुराले खुसी दिन्छ र तपाईंहरूको लामो सम्बन्धको अर्थ के हो भन्नेबारे सोच्नुहोस् । आफूले आफैलाई सोध्नुहोस्— तपाईंहरू सँगै हुँदा कहिले सबैभन्दा बढी खुसी हुनुहुन्थ्यो? सायद सँगै खेलकुद हेर्दा वा पिज्जा खाँदा । आफ्ना वर्तमान अनुभवहरूमा पनि त्यस्तै सहज र खुसीका पलहरू समेट्ने प्रयास गर्नुहोस् ।
पारस्परिकतालाई नयाँ ढङ्गले बुझ्नुहोस्
कसैलाई पनि एकतर्फी सम्बन्ध मन पर्दैन । तर अक्सर लेनदेनको कुरा गर्दा हामी बराबरकै हिसाब खोज्छौँ । जस्तै, ‘मैले महँगो नाटकको टिकट किनेँ भने तिमीले सिनेमाको टिकट किन्नुपर्छ’ वा ‘रेस्टुरेन्टको बिल आधा–आधा बाँड्नुपर्छ’ भन्ने सोचिन्छ । यो सामान्य अवस्थामा ठीकै होला तर गहिरो मित्रतामा न्यायको परिभाषा फरक हुन्छ । यदि तपाईंको साथीले तपाईंको महँगो निमन्त्रणा अस्वीकार गर्छ भने, उनले तपाईंलाई पैसाभन्दा ठुलो के दिएका छन् भन्ने सम्झनुहोस् । सायद तपाईंको कठिन समयमा उनको परिवारले दिएको साथ कुनै पनि पैसाले चुकाउन सकिँदैन । सेन्ट लुइस युनिभर्सिटीका थेरापिस्ट म्याक्स जुबात्स्की भन्छन्, ‘कसले केका लागि पैसा तिर्दैछ भन्ने कुराको हिसाब राख्नु हुँदैन । मित्रता सर्तविहीन हुनुपर्छ । यदि धनी साथीसँग क्षमता छ र उनले खर्च गर्न चाहन्छन् भने, त्यो सामाजिक सम्बन्ध र साथीहरूसँगको रमाइलोका लागि हुनुपर्छ ।’

सीमाहरूको सम्मान गर्नुहोस्
समयसँगै हामीले लेनदेनका केही अनौपचारिक सीमाहरू बनाएका हुन्छौँ । तिनलाई सम्मान गर्नुपर्छ । उदाहरणका लागि, तपाईंको साथीले तपाईंले उपहार दिन खोज्नुभएको नयाँ कार अस्वीकार गर्न सक्छ तर सँगै साङ्गीतिक कार्यक्रममा जान स्वीकार गर्न सक्छ । ऋण लिने र दिने विषयमा पनि स्पष्ट हुनुपर्छ । यदि कुनै साथीले पटक–पटक ऋण लिएर तिर्दैन भने त्यसले सम्बन्धमा दरार ल्याउँछ । जुबात्स्कीका अनुसार, एउटा बिन्दुमा पुगेपछि ‘हुन्न’ भन्न सक्नुपर्छ । पछिल्लो उमेरको मित्रता एकले अर्कोलाई आर्थिक सहयोग गर्न सक्छ कि सक्दैन भन्ने कुरामा मात्र आधारित हुनु हुँदैन ।

कमजोर पक्षप्रति संवेदनशील बन्नुहोस्
लामो समयको मित्रतामा आफ्ना साथीहरू कुन कुरामा असहज महसुस गर्छन् भन्ने थाहा हुन्छ । यदि उनीहरू महँगो रेस्टुरेन्टको मेनु देखेर अत्तालिन्छन् भने त्यस्तो ठाउँमा नजानुस् । यदि तपाईंको कम आय भएको साथीले तपाईंको महँगो पहिरन देखेर ईष्र्या महसुस गर्छ भने, तपाईंले आफ्ना राम्रा लुगा त्याग्नुपर्छ भन्ने छैन तर उनीहरूका अगाडि तडकभडक देखाउनु वा हीराका गहना प्रदर्शन गर्नु उचित हुँदैन । फ्लोरिडाकी थेरापिस्ट रोबिन स्टिलवेल भन्छिन्, ‘आफ्नो सम्पन्नता अरूको अगाडि नदेखाउनुहोस् ।’
निर्णायक नबन्नुहोस्
कोलम्बिया युनिभर्सिटीकी वित्तीय मनोवैज्ञानिक मेघन लट्र्ज भन्छन्, ‘पैसाको मामिलामा मानिसहरूको राय फरक हुनु स्वाभाविक हो । समस्या तब सुरु हुन्छ जब हामी साथीको खर्च गर्ने तरिका वा सोचलाई गलत ठह¥याउँदै उनीहरूको आलोचना गर्न थाल्छौँ । आफ्नो साथी पनि आफूजस्तै हुनुपर्छ भन्ने ढिपी छोडिदिने हो भने नचाहिँदो सल्लाह दिने वा मनमनै असन्तुष्टि पाल्ने बानी हट्छ, जसले सम्बन्धको तनाव निकै कम गरिदिन्छ ।
तनावका बारेमा कुरा गर्नुहोस्
पैसाको बारेमा कुरा गर्न सजिलो त छैन तर यसले सहज बनाउँछ । पैसाका कारण सम्बन्धमा समस्या देखिएको छ भने, आफूलाई के कुराले सताइरहेको छ भन्नेबारे नरिसाईकन कुरा गर्नुहोस् । आफूलाई कस्तो महसुस भइरहेको छ र तपाईं के परिवर्तन चाहनुहुन्छ भन्ने स्पष्ट पार्नुहोस् । साथै, अर्को व्यक्तिको दृष्टिकोण पनि सुन्न तयार हुनुहोस् । इमानदार कुराकानीले भविष्यमा हुन सक्ने मनमुटावलाई टाढा राख्न र मित्रतालाई अझ प्रगाढ बनाउन मद्दत गर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्