नेभिगेशन
दृष्टिकोण

विश्वकप लिग–२ मा शतप्रतिशत जितको खोजीमा नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग २ मा शीर्ष छ स्थानभित्र पुग्न नेपालका केही दिनपछि हुने दुई वटा शृंखलामा पाँच खेलमा सुखद नतिजा निकाल्नुपर्ने भएको छ । यूएई, ओमान र नेपालबीचको एउटा शृंखलामा चार वटा खेल र स्कटल्याण्ड, अमेरिका र नेपालबीचको अर्को शृंखलामा थप चार वटा खेल गरी कुल आठ खेलबाट नेपालले यो प्रतियोगितामा शीर्ष छ भित्र प्रवेश गर्न कम्तिमा पाँच खेल जित्नुपर्नेछ । 
    जम्मा २० खेलबाट १२ अंक जोडेर सातौं स्थानमा रहेको नेपालका लागि आफूभन्दा माथिल्लो तालिकामा रहेका नामिबिया र क्यानडालाई उछिन्न कम्तिमा पाचौं खेलको जित पर्याप्त हुनेछ भने चौथो स्थानमा रहेको नेदरल्याण्ड्सलाई भेट्टाउन सबै खेलमा राम्रो स्कोरका जित आवश्यक छ । २१ अंक जोडेर छैटौं स्थानमा रहेको क्यानडा, २२ अंकसहित पाँचौं स्थानमा रहेको नामिबियालाई तथा २८ अंकसहित चौथो स्थानमा रहेको नेदरल्याण्ड्सलाई पछाडि पार्न लगातार खेल जित्नुको विकल्प रहने छैन । अघिल्लो संस्करणको जस्तो खेलको नतिजा आए शीर्ष चारसम्म पुग्न ती आठ खेल नै काफि हुन्छन् । तर सधैं त्यही खालको नतिजा आउँछ भन्ने हुँदैन ।
    यसपटकको खेलमा नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी उपकप्तान, कुशल भूर्तेल, आशिफ शेख, भिम विश्वकर्मा, आरिफ शेख, बासिर एहेमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन् । मुख्य प्रशिक्षक स्टुआर्ट ल हुन् भने सहायक प्रशिक्षकहरूमा कलाम अली र वसन्त शाही रहेका छन् ।  
शीर्ष तीन टिमसँग भिड्न त्यत्ति सहज छैन 
    अघिल्लो संस्करणभन्दा यसपटकको आईसीसी क्रिकेट विश्वकप लिग २ नेपालका लागि फरक देखिएको छ । यही वैशाखको १२ देखि जेठको ८ गतेसम्म हुने दुई वटा फरक–फरक शृंखला नेपालका लागि त्यति सहज हुने देखिएको छैन । विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालको एकदिवसीय म्याचमा प्रदर्शन राम्रो देखिएको छैन । नेपाल एक दिवसीय मान्यता जोगाउनै संघर्षरत रहेको छ । धेरै नयाँ खेलाडी हुनु र तयारी पनि त्यत्ति पर्याप्त नहुँदा नतिजामा प्रभाव पर्न सक्छ । अहिले ५औं स्थानमा रहेको नामिबियाले २८ खेल खेलिसकेको छ, नेपालले राम्रो खेल्दै उसको स्थानमा जाने सम्भावना हुन सक्छ । 
    अघिल्लो संस्करणको भन्दा अवस्था फरक छ, नेपाल ‘वान डे’ स्टाटस् जोगाउन संघर्षरत छ । क्यानडा र यूएईसँगका खेल हार्नु नै नेपालका लागि चुनौती थपिएको हो । शीर्ष तीन स्थानमा रहेका अमेरिका, स्कटल्याण्ड र ओमानसँग वैशाख र जेठमा खेल्दै गर्दा उनीहरूसँगको नतिजा शतप्रतिशत आउँछ भन्ने ढुक्क छैन तर अगाडि बढ्न यसमा शतप्रतिशत नतिजा नआए शीर्ष छ भित्रै अटाउन कठिन बन्न सक्छ । 
शृंखला–२ मा को–कोबीच प्रतिस्पर्धी 
    नेपाल, ओमान र यूएईबीचको शृंखला यही वैशाख १२ गतेदेखि २२ गतेसम्म हुने भएको छ । यसअघि नै हुने तय भए पनि इरान र अमेरिकाबीचको तनावका कारण भएको पश्चिम एसियाको संकटका कारण स्थगित भएको थियो । नेपालले वैशाख १२ गते शनिबार यूएईसँग, वैशाख १६ गते बुधबार ओमानसँग, बैशाख १८ गते शुक्रबार यूएईसँग र वैशाख २२ गते मङ्गलबार ओमानसँग खेल्नेछ । 
    नेपालले गत नोभेम्बर र अक्टोबरमा भएको शृंखलामा यएईसँग दुवै खेल हारेको थियो भने ओमानसँग २०२४ को सेप्टेम्बरमा भएको प्रतिस्पर्धामा दुईमध्ये एक खेलमा पराजय भोगेको थियो अर्को खेल भने स्थगित भएको थियो । लिग २ तालिकामा नेपाल २० खेलमा पाँच जितसहित १२ अंकका साथ पुछारबाट दोस्रो अर्थात सातौं स्थानमा छ । नेपालले दुई खेलबाट एक–एक अंक बटुलेको छ । स्कटल्याण्ड र ओमानसँगको एक–एक खेल रद्द भएर दुवै टिमले अक बाँडेका थिए । 
    ओमान २३ खेलमा १३ जित र ७ हारसँगै २९ अंकसहित तेस्रो स्थानमा छ । यसैगरी नेपाल जतिनै समान २० खेल खेलेको यूएई ५ जित र १५ हारका साथ १० अंक बटुल्दै तालिकाको पुछारमा छ । यस्तै ओमान र यूएई सम्मिलित शृंखला सकिएको अर्को सातामै फेरि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित अर्को शृंखला सुरु हुनेछ । उक्त शृंखला वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म चल्नेछ । नेपालले वैशाख २९ गते मंगलबार स्कटल्याण्डसँग खेल्नेछ । यसैगरी जेठ २ गते शनिबार अमेरिकासँग खेल्नेछ भने जेष्ठ ४ गते सोमबार पुनः स्कटल्याण्डसँग र जेठ ८ गते शुक्रबार पुनः अमेरिकासँग नेपालले प्रतिस्पर्धा गर्नेछ । 
    दुवै शृंखला त्रिवि क्रिकेट मैदानमा हुनेछ । सबै खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपालले अमेरिकासँग यसअघि गत अक्टोबर–नोभेम्बरमा भएको प्रतिस्पर्धामा दुवै खेल हारेको थियो भने सन् २०२४ को अक्टोबर नोभेम्बरको दुवै खेलमा पनि नेपाल अमेरिकासँग स्तब्ध भएको थियो । गत जुनमा भएको शृंखलामा स्कटल्याण्डसँगको एक खेल जितेको नेपालले अर्को खेल भने उसैलाई सुम्पिएको थियो । सन् २०२४ को अक्टोबर नोभेम्बरको प्रतिस्पर्धामा १ खेल स्कल्याण्डसँग निराश बन्दा अर्को खेल रद्द हुँदा दुवैले अंक बाँडेका थिए । 
तलिकामा अमेरिकाको दबदबा 
आईसीसी क्रिकेट विश्वकप लिग–२ तालिकामा अमेरिका २४ खेलमा १८ जित र छ हारका साथ ३६ अंक जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा १४ जित र आठ हारका साथ ३४ अंक जोडेर दोस्रो स्थानमा छ । स्कटल्याण्डले छ वटा खेलमा एक–एक अंक जोडेको छ । तेस्रो स्थानको ओमानसँग २४ खेलमा २९ अंक छ भने चौथो स्थानको नेदरल्यान्ड्सको २४ खेलमा १३ जित र नौ हारका साथ २८ अंक छ । उसको थप दुई अंक खेल रद्द हुँदा प्राप्त भएको छ । यसैगरी नामिबियाले २८ खेलबाट १० जित, दुई खेल नतिजाविहीन र १६ हारका साथ २२ अंक बनाएको छ । नामिबिया पाँचौं स्थानमा छ । क्यानडा २४ खेलमा नौ जित, तीन नतिजाविहीन खेलको तीन अंकसँगै २१ अंकका छैटौं स्थानमा छ । यूएईले २० खेलमा पाँच जित र १५ हारबाट १० अंक मात्रै बनाएको छ । यूएई तालिकाको पुछारमा छ । 
अहिलेसम्म भएका खेलका नतिजा 
    सन् २०२४ को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग २ अन्र्तगत नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले पहिलो खेलमा नामिबियासँग चार विकेटले हार्न पुग्यो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराउन सफल भयो । तेस्रो खेलमा गएर नामिबियासँग दुई विकेट पराजित हुँदा चौथो खेलमा नेदरल्याण्ड्सले नेपाललाई आठ विकेटले निराश बनाइदियो । यो शृंखलामा नेपालले मात्र दुई अंक जोड्न सक्यो । 
    सन् २०२४ को सेप्टेम्बरमा क्यानडामा भएको चार खेलमा नेपालले कुनै पनि खेल जित्न सकेन । सो टुरमा क्यानडाले पहिलो खेलमा एक सय तीन रनले तथा अर्को खेलमा पाँच विकेटले हरायो । ओमानसँगको पहिलो खेल एक विकेटले नेपाालले सुम्पियो । अर्को खेल रद्द हुँदा यो टुरमा नेपालको खातामा एक अंक मात्र रह्यो । 
    सन् २०२४ कै अक्टोबर र नोभेम्बरमा अमेरिकाको डल्लासमा भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ को अर्को शृंखला पनि नेपालका लागि त्यत्ति सुखद रहेन । तैपनि नेपालले यो टुरबाट तीन अंक बटुल्यो । स्कटल्याण्डसँगको खेल नतिजावीहिन हुँदा नेपालले त्यसबाट एक अंक पायो भने अर्को खेलमा स्कटल्याण्डलाई नै पाँच विकेटले पाखा लगायो । घरेलु दर्शक र मैदानको साथ पाएको अमेरिकाले भने दुवै खेल आफ्नो पक्षमा पा¥यो । अमेरिकाले पहिलो खेलमा ३७ रनले तथा अर्को खेलमा तीन विकेटले नेपाललाई हरायो ।  
    सन् २०२५ को जुनमा स्कटल्याण्डमा भएको शृंखला नेपालका लागि सुखद रह्यो । खेलेका चार खेलमा तीन खेल जित्दै अघिल्ला तीन वटा शृंखलाबाट प्राप्त जत्तिकै छ अंक बटुल्यो । नेपालले आयोजक स्कटल्याण्डलाई पहिलो खेलमा एक विकेटले हरायो भने अर्को खेलमा स्कटल्याण्डसँग दुई रनले हार्न पुग्यो । यी दुवै खेलमा अन्तिम बलले जित र हारको निर्णय गरेको थियो । यो टुरमा नेदरल्याण्ड्स दुवै खेलमा नेपालसँग पराजित भयो । पहिलो खेलमा पाँच विकेट र दोस्रो खेलमा १६ रनले नेदरल्याण्ड्स पराजित भयो । 
    सन् २०२५ को अक्टोबर नोभेम्बरमा यूएईको दुबईमा भएको शृंखला नेपालका लागि पीडादायी रह्यो । यूएई र अमेरिकासँगका सबै खेल नेपालले हार्न पुग्यो । यूएईले पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा पाँच विकेटले हरायो । यस्तै अमेरिकाले पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा एक सय छ रनले पाखा लगायो । 

रोहित एकदिवसीय मात्र कप्तान 
    डब्लूसीएल–२ मा राम्रो नतिजा ल्याउनका लागि भनेर कप्तान रोहित पौडेललाई टी–२० फर्माटको कप्तानसहित खेलाडी सूचीबाटै हटाइएको छ । उनी यसअघि टी–२० र एकदिवसीय दुवै टिमका कप्तान थिए । क्यानले टी–२० को कप्तानका रूपमा दीपेन्द्र सिंह ऐरीलाई बनाएको छ । डब्लूसीयलमा मात्र फोकस गरेर टिममा राम्रो नतिजा दिन यो निर्णय लिइएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । कप्तान रोहितसहित केही अनुभवी र नियमित खेलाडी पनि टी–२०आई टोलीबाट हटाइएका थिए । रोहितसहित अनुभवी खेलाडीहरू करण केसी, सोमपाल कामी, ललित राजवंशी र आसिफ शेख टोलीमा नपरेपछि नयाँ युवा क्रिकेटरले अवसर पाउने छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्