काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र प्रहरी कर्मचारीहरूको बद्नाम गराउने गरी विभिन्न सञ्चारमाध्यममा आएका कपोलकल्पित, मनगढन्ते र भ्रामक समाचारहरूप्रति खण्डन गर्दै गम्भीर आपत्ति जनाएको छ ।
बिहीबार मधेश प्रदेश प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाले जारी गरेको प्रेस विज्ञप्तिमा सो आपत्ति जनाएको छ । सो विज्ञप्तिमा प्रहरी जवान रोशन यादवका विषयमा आएका समाचार र डीआईजी गोविन्द थपलियाबारेका टिकाटिप्पणीको खण्डन गरिएको छ ।
मधेश प्रदेश प्रहरीका प्रमुख (डीआईजी) थपलियालाई बद्नाम गराउन माफिया, बिचौलिया, तस्कर र स्थानीय टोलेहरू हातधोएर लागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुई तिहाईको बहुमतको सरकार बनेपछि सिमानामा तस्करहरूको नीद हराम भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह र तत्कालीन गृहमन्त्री सुधन गुरुङले शान्ति सुरक्षा, सिमानामा हुने तस्करी नियन्त्रण, अपराधमा संलग्नहरूलाई कारबाही लगायतमा कडाइ गर्न निर्देशन दिएपछि डीआईजी थपलियाले मातहतलाई कडा निर्देशन दिएका छन् ।
थपलियाको निर्देशन र कडाइ गरेपछि आत्तिएका माफिया, तस्कर र दूषित मनसाय राख्ने केही प्रहरी कर्मचारीहरूलाई छटपटी भएको छ । कमाइको धन्दा बन्द भएपछि माफिया, तस्कर र दुषित मनसाय राख्ने समूह डीआईजी थपलियाको पछाडि हातधोएर लागेको छ । निरन्तर थपलियाविरुद्ध समाचार लेखाउने, सामाजिक सञ्जालमा तथानाम गाली गर्ने, कारबाही सिफारिसमा परेका वरिष्ठ सई सागरशम्शेर राणालाई भगवान बनाउने जस्ता गतिविधि भइरहेका छन् ।
डीआईजी थपलियालाई हतोत्साहित बनाएर काम गर्न नसक्ने वातावरण बनाउने र सकेसम्म मधेश प्रदेश प्रहरीको प्रमुखबाट हटाएर आफू अनुकूलको डीआईजी ल्याएर तस्करीको लाइन खोल्ने दाउमा माफिया, दलाल, तस्करहरू लागिपरेका छन् ।
डीआईजी थपलियालाई माफिया, दलाल र तस्करहरूले जसरी लखेटिरहेका छन्, त्यसै गरी गतिविधि हुने हो भने मधेश प्रदेशमा कुनै पनि प्रहरी कर्मचारीहरू जान मान्ने छैनन् ।
एसएसपी थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८३/०१/०९ गतेको घटना सम्बन्धमा प्रहरी चौकी जानकीचोक, जनकपुरधाम, धनुषामा कार्यरत प्रहरी जवान रोशन यादव टेबलमा भ्याट ६९ रक्सी बोतल समेत राखेको फोटो एवम् मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको प्रमुखको फोटो सहित राखी नाम जोडी ‘घुमुवा आतंक कहिले रोकिन्छ, डीआईजी साप’ भन्ने शीर्षकमा एक अनलाईनमा प्रकाशित सामाचार र निजको विरुद्ध लिखित उजुरी गुनासो समेत आएकोले निजलाई नियमित र सामान्य प्रशासनिक कार्य बमोजिम यस कार्यालय बोलाई सो सम्बन्धमा के कसो भएको हो सोधपुछ गरी निजसँग लिखित जवाफ माग गरी निज विरुद्ध लागेको आरोपमा सफाई पेश गर्नको लागि बोलाइएकोमा निज प्रहरी जवानलाई स्पष्टीकरण पत्र बुझनुस् भन्दा पछि बुझ्छु भनि यस कार्यालय परिसरबाट बाहिर गएको हो ।’
‘तत्पश्चात विभिन्न अनलाईन तथा पत्रपत्रिकाहरूमा ‘डीआईजी थपलियाको कार्यकक्षमै प्रहरी जवानद्वारा आत्महत्याको प्रयास’ भन्ने शीर्षकमा सामाचार प्रकाशित भएकोप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै उल्लेखित समाचारहरू आधारहीन, कपोलकल्पित तथा भ्रामक रहेको तथा प्रहरी संगठन र प्रहरी कर्मचारीहरूलाई बदनामी गराउने किसिमले प्रेसित भएको जानकारी गराइन्छ,’ प्रवक्ता थापाको विज्ञप्तिमा छ ।
‘प्रहरी जवान रोशन यादवलाई यस कार्यालयमा कोही कसैले मानसिक तनाव नदिएको र निज बाहिर गएपछि यस किसिमका सामाचारहरू प्रकाशित भएको व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
‘साथै निज यस कार्यालयबाट गएको सीसीटीभी समेत यसै प्रेस विज्ञप्ति साथ संलग्न राखिएको छ । सम्बन्धित अनलाईन मिडिया तथा पत्रकारज्यूहरूले यस कार्यालय तथा प्रहरीसँग सम्बन्धित सामाचार बनाउँदा पालना गर्नुपर्ने पत्राकारिताको न्यूनतम र आधारभूत सिद्धान्त तथा आचारसंहिताको पालना गरी प्रमाणसहित सम्प्रेषण गर्न गराउन हुन अनुरोध गर्दछौं,’ एसएसपी एवं प्रवक्ता थापाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।