नेभिगेशन
नेपाल

हिउँ खस्ने डरले सगरमाथामा रोकिए सयौं आरोही

काठमाडौं । नेपालमा सगरमाथा आरोहणको मुख्य सिजन सुरु भइरहँदा आधार शिविरभन्दा माथिको पदमार्गमा हिउँको एउटा विशाल र अस्थिर ढिस्को खसेर बाटो अवरुद्ध भएको छ । विश्वकै सर्वोच्च शिखर आरोहणका लागि तल्लो भागमा डोरी र भ¥याङको व्यवस्थापन गर्ने ’आइसफल डाक्टर’ हरूले क्याम्प १ को ठीक तल रहेको करिब १०० फिट अग्लो हिउँको थुप्रोका कारण अघि बढ्ने बाटो फेला पार्न सकेका छैनन् ।
विज्ञहरूका अनुसार उक्त हिउँको ढिस्को (सेराक) आफैँ पग्लिनुको विकल्प छैन र केही दिनभित्रै यो पग्लिने आशा गरिएको छ । यो अवरोधले गर्दा वसन्त ऋतुको आरोहण तयारी तालिकाभन्दा निकै ढिलो भइसकेको छ । अनुकूल मौसममा सगरमाथा चढ्ने तयारीमा रहेका आरोहीहरूको यो वर्ष पनि शिखरमा पुग्ने बेला लामो लाइन लाग्न सक्ने त्रास बढेको छ ।
पाँच पटक सगरमाथा आरोहण गरिसकेकी चर्चित आरोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठ अहिले छैटौँ पटकको आरोहणका लागि ‘एक्लिमेटाइज’ भइरहेकी छन् । उनले आधार शिविरबाट भनिन्, ‘हामी अभ्यस्त हुनका लागि क्याम्प १, २ र ३ बीच आउजाउ गरिरहन्छौं । बाटो खुल्न ढिलाइ हुँदा यो वर्ष पनि सगरमाथामा ‘ट्राफिक जाम’ हुने चिन्ता बढाएको छ ।’
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का आइसफल डाक्टरहरू क्याम्प २ सम्मको बाटो सुरक्षित बनाउने जिम्मेवारीमा छन् । उनीहरू तीन हप्ताअघि नै आधार शिविर पुगेका थिए । सामान्यतया अप्रिलको यो समयसम्म क्याम्प ३ सम्म बाटो खोलिसक्नुपर्ने भए पनि क्याम्प १ भन्दा ६०० मिटर तल हिउँको विशाल ढिस्कोले उनीहरूलाई रोकेको छ ।
एसपीसीसीका आधार शिविर संयोजक छिरिङ तेन्जिङ शेर्पाका अनुसार उक्त हिउँलाई पगाल्ने कुनै कृत्रिम उपाय नभएकाले यो आफैँ भत्किने वा पग्लिने पर्खाइमा बस्नुको विकल्प छैन । वर्षौंदेखि आइसफल डाक्टरका रूपमा काम गर्दै आएका आङ सार्की शेर्पाले हिउँको तल्लो भाग कमजोर भएकाले त्यो चाँडै पग्लिने विश्वास व्यक्त गरे ।
आरोहीहरूले उक्त अवरोधलाई छलेर जाने सुरक्षित बाटो फेला पार्न सकेका छैनन् भने वैकल्पिक बाटो बनाउनु निकै चुनौतीपूर्ण मानिएको छ । विशाल हिउँको ढिस्कोमाथि चढ्नु अत्यन्तै जोखिमपूर्ण हुने देखिएको छ ।
पर्यटन विभागले वैकल्पिक उपायहरूका बारेमा छलफल गरिरहेको छ, जसमा डोरी टाँग्ने टोलीलाई हेलिकप्टरमार्फत क्याम्प २ सम्म पु¥याउने योजना पनि समावेश छ । विभागका महानिर्देशक रामकृष्ण लामिछानेले भने, ‘हामी डोरी टाँग्ने टोली र उनीहरूका सामग्री हेलिकप्टरबाट क्याम्प २ सम्म पु¥याउने सोचिरहेका छौं ताकि माथिल्लो भागको बाटो खोल्न सकियोस् ।’
मे महिनाको अन्त्यसम्म मात्र मौसम अनुकूल रहने अपेक्षा गरिएको छ । अवरोध हटेपछि केही दिनभित्रै क्याम्प २ सम्मको बाटो खुल्ने र एक हप्ताभित्र शिखरसम्म पुग्ने बाटो तयार हुने शेर्पाहरूको आशा छ । यद्यपि, पूर्णिमा श्रेष्ठका अनुसार बाटो ढिलो खुल्दा आरोहण गर्ने समय निकै कम हुन सक्छ, जसले गर्दा थोरै समयमा धेरै आरोहीले प्रयास गर्नुपर्ने बाध्यता आउनेछ ।
इरान युद्ध र इन्धनको मूल्य वृद्धि भए पनि यो वर्ष सगरमाथा चढ्नेहरूको संख्या उल्लेख्य रहने देखिएको छ । पर्यटन विभागका अनुसार अहिलेसम्म ३६७ जनाले आरोहण अनुमति लिइसकेका छन्, जसमा चिनियाँ नागरिकहरूको संख्या बढी छ । यस वर्ष चीनले आफ्नो क्षेत्र (तिब्बत) बाट विदेशीहरूलाई आरोहण अनुमति दिएको छैन ।
सगरमाथाका अधिकांश आरोहणहरू नेपालकै तर्फबाट हुने गरेका छन् । सन् २०१९ मा शिखरमा लागेको लामो लाइनको तस्बिर भाइरल भएपछि नेपालले अनुमति प्रणालीलाई कडाइ गर्दै मूल्यमा पनि वृद्धि गरेको छ । यस वर्ष विदेशीका लागि आरोहण शुल्क ११ हजार डलरबाट बढाएर १५ हजार डलर पु¥याइएको छ भने नेपालीका लागि १ हजार डलर कायम गरिएको छ । बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय