नेभिगेशन
अर्थतन्त्र

तापक्रम सूचकांकमा आधारित दूध उत्पादन बीमालेख

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले प्लान्ट स्याटसँगको प्राविधिक सहकार्यमा तापक्रममा हुने वृद्धिका कारणबाट गाई तथा भैँसीको दूध उत्पादनमा हुने कमीबाट कृषकलाई पर्न सक्ने सम्भावित क्षतिबाट सुरक्षण प्रदान गर्न सूचकांकमा आधारित दुध उत्पादन बीमालेख सञ्चालनमा ल्याएको छ ।
कम्पनीका अनुसार २०८३ वैशाख ७ देखि भदौ ३१ सम्म १५० दिनसम्म भएको दैनिक अधिकतम तापक्रमका आधारमा गणना गरिने बीमालेखमा निर्धारित तापक्रमको तहमा आधारित रहेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र चितवनका गाई तथा भैँसीपालक कृषक, समूह तथा सहकारीलाई लक्षित गर्दै बीमालेख तयार गरिएको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी गराए ।
हालसम्म विभिन्न सहकारी तथा समूहका कृषक गरी १ लाख ६२७ गाई तथा भैँसी बीमा योजनामा आबद्ध भइसकेका छन् । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त बीमालेखको पुनर्बीमा नेपाल रि–इन्स्योरेन्सबाट गरिएको छ ।
यो बीमालेख तापक्रमका कारणबाट उत्पन्न गर्ने तनावमा आधारित छ भने तापक्रमका कारण गाई तथा भैँसीको दुध उत्पादनमा हुने ह्रासलाई मात्र रक्षावरण गर्नेछ । बीमालेखमा भएको तापक्रमको रेकर्डलाई आधार मानेर कायम गरिएको सीमाभन्दा वास्तविक तापक्रममाथि पुगेमा मात्रै क्षतिपुर्ति प्रदान गरिने र पूर्वनिर्धारित तहअनुसारको क्षतिपूर्ति निर्धारण हुने प्लान्ट स्याटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुमन घिमिरेले जानकारी दिए ।
बीमालेखले सूचकांकमा आधारित ट्रिगर प्रणालीमार्फत कृषक दाबी योग्य भए÷नभएको निर्धारण गर्ने भएकाले दाबी भुक्तानी प्रक्रिया पारदर्शी र छिटो हुने हुँदा कृषकले यसबाट लाभ उठाउन सक्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कृषि विभाग प्रमुख उमेश ढकाले जानकारी गराए ।
जल तथा मौसम विज्ञान विभागबाट प्राप्त आधिकारिक तापक्रम तथ्यांक प्रयोग गर्ने र दाबी ट्रिगर स्तरमा पुगेपछि बीमकले दाबी प्रक्रिया सुरु गर्नेछ । सम्बन्धित निकायबाट सूचकांक प्राप्त भएको सात दिनभित्र भुक्तानी विद्युतीय माध्यमबाट सिधै लाभग्राही कृषकको बैंक खातामा पठाइने दाबी विभाग प्रमुख शुभाष दीक्षितले जानकारी गराए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय