नेभिगेशन
अर्थतन्त्र

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीतिको मस्यौदामा सुझाव माग

काठमाडौं । सरकारले आन्तरिक विद्युत खपत बढाउन तथा अन्तरदेशीय विद्युत व्यापार प्रवर्धन गर्न तयार गरेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति २०८३’ को मस्यौदामा राय सुझाव माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक सूचना जारी गरी मस्यौदामा सम्बन्धित सरोकारवालासँग राय सुझाव मागेको हो । 
मन्त्रालयले आन्तरिक विद्युत् खपत वृद्धि तथा विद्युत् निर्यात रणनीतिलाई थप परिष्कृत, व्यावहारिक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालालाई लिखित सुझाव पेस गर्न भनेको छ । मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं. ७४ (क) र (ग) बमोजिम ऊर्जा खपत र निर्यात रणनीतिलाई सम्बोधन गर्ने गरी मन्त्री विराजभक्त श्रेष्ठले उच्चस्तरीय अध्ययन समिति गठन गरेका थिए । समितिले बिहीबार रणनीतिको मस्यौदा तयार गरी मन्त्री श्रेष्ठसमक्ष पेश गरेको थियो ।
मन्त्रालयका अनुसार आन्तरिक विद्युतीय ऊर्जा खपत बढाउने तथा खपत गरी बढी भएको विद्युत् निर्यातलाई व्यवस्थित गर्ने उद्देश्यले तयार गरिएको रणनीतिमा व्यापक सुझाव समेट्न खोजिएको छ । सरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज, विषय विज्ञ तथा आम सर्वसाधारणलाई मस्यौदा अध्ययन गरी तीन दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय