पोखरा, १८ भदौ - नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान र अष्ट्रेलिया उडान हुने भएको छ ।
भुटानको भुटान एयर लाइन्सले पारो अन्तर्राष्ट्रिय विमानस्थलसम्म र चीनको सिचुआन एयरले अष्ट्रेलियासम्म उडान गर्ने भएको हो । यी दुई विमान कम्पनीको उडान तयारीले पोखरा विमानस्थल चलायमान हुने अपेक्षा गरिएको छ ।
आन्तरिक उडानमा प्रगति गरे पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकिरहेको छै न । बितेका तीन वर्षमा विभिन्न चार्टर उडान भए पनि नियमित भने हुन सकेका छैनन् ।
भुटान एयर लाइन्सले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको हो । हाल भुटानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटान एयरलाइन्सले सातामा चार वटा उडान गर्दै आएको छ ।
पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल थप चलायमान हुने पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यको भनाइ छ ।
भुटान एयरको पोखरा उडानले पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्न महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । यसको निरन्तरताका लागि विशेष पहल गर्न पर्यटन व्यवसायीहरूलाई मेयर आचार्यले आग्रह पनि गरेका छन् ।
यसअघि गत असार ७ चीनको छ न्दु विमानस्थलबाट सिचुवान एयर लाइन्सको न्यारो बडी एयर बस ३१९ जहाजले पोखरामा उडान गरेको थियो । पोखराबाटै छेन्दुमा हिमालयन एयर लाइन्सले पनि उडान भरिरहेको छ । पछिल्लो पटक सिचुवानले पोखरा– सिचुवान–अस्ट्रेलिया उडानको पहल गरि रहेको छ ।
भुटान एयर लाइन्सले पोखराबाट पारोका लागि आगामी सेप्टेम्बर २८ र अक्टोबर महिनामा गरी चार दिन उडान गर्ने छ । पोखराबाट भुटानको लागि उडान संचालन गर्न लागेको युनिभर्सल टुर एण्ड ट्राभल्सका संचालक पराशर प्रसाईंले सबैको साथ सहयोगले पोखरा–भुटान उडान सफल भएसँगै पोखराबाट अन्य गन्तव्यमा पनि उडान गराउन सकिने बताए ।
यसैगरी, चीनको सिचुवान एयर लाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलियाको सिधा उडानका लागि तयारी थालेको हो । उक्त उडानका लागि एयर लाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग अनुमति मागेको छ । आवश्यक प्रक्रिया पूरा गरेर छिट्टै अनुमति दिने तयारी भइरहेको छ भने एयर लाइन्सले पनि आगामी सेप्टेम्बर महिनाबाटै उडान शुरु गर्ने योजना बनाएको छ ।
यसअघि सिचुवान एयर लाइन्सले २०८० असारमा ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ का लागि पोखरामा चार्टर्ड उडान गरेको थियो । हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयर लाइन्सले मात्रै हप्ताको एक दिन काठमाडौ –ल्हासा–पोखरा–ल्हासा–काठमाडौ रुटमा नियमित उडान गरि रहेको छ ।
२०७९ पुस १७ मा उद्घाटन भएको यो विमानस्थलमा सिचुवान र भुटान एयर लाइन्सको आगमनले विमानस्थल थप चलायमान बन्ने अपेक्षा गरिएको छ ।
पोखरा र भैरहवामा विदेशी वायुसेवालाई आकर्षित गर्न सरकारले विभिन्न आकर्षक छुट तथा सुविधासमेत दिएको छ । २०८१ साउन २८ दे खि लागू भएको नयाँ व्यवस्थाअनुसार यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाई टिकटमा लाग्ने ३ हजार रुपैयाँको यात्रु सेवा शुल्क पूर्ण छुट दिइएको छ ।
यसका साथै, विमानको पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट तथा नेपाल वायुसेवा निगमले दिने ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यिनै सुविधाहरूका कारण विदेशी वायुसेवा कम्पनीहरू यी विमानस्थलमा उडान भर्न आकर्षित हुन थालेका हुन् ।