नेभिगेशन
प्रदेश

कफी खेतीमा युवाको बढ्दो चासो

पोखरा । पोखरामा व्यावसायिक कफी खेतीप्रति युवाको आकर्षण बढ्दो देखिएको छ । कफीका पारखीको संख्या बढेसँगै यसको खेती गर्ने तरिका सिक्न युवामा चासो बढेको हो । यही मागलाई मध्यनजर गर्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराले कफी नर्सरी स्थापना, गुणस्तरीय बिरुवा उत्पादन, व्यवस्थापन तथा कफी रोपणसम्बन्धी दुईदिने प्राविधिक तालिम सञ्चालन गरेको छ ।
तालिममा सहभागी युवाले कफीका बिरुवा कसरी उत्पादन गर्ने, उपयुक्त स्थान छनोट गरेर कसरी रोप्ने, बिरुवाको स्याहारसम्भार गर्ने तथा व्यावसायिक रूपमा आम्दानी लिन सकिने उपायबारे जानकारी लिएका छन् । कफी खेतीलाई आधुनिक र व्यवसायमुखी बनाउन आवश्यक सीप तथा ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।
समापन कार्यक्रममा कृषि व्यवसाय प्रवद्र्धन, प्रशिक्षण तथा स्रोत केन्द्र, गण्डकी प्रदेश, पोखराका प्रमुख बासुदेव काफ्लेले नेपालमा कफी खेतीको उच्च सम्भावना रहेको बताउँदै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्दै उद्यमशील बन्न आग्रह गरे । बोर्डका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले किसानको सीप अभिवृद्धि र गुणस्तरीय बिरुवा उत्पादनलाई प्राथमिकता दिँदै तालिम सञ्चालन गरिएको जानकारी दिए ।
कृषि प्राविधिक नगेन्द्र सुवेदी र सुविना आचार्यले सहजीकरण गरेको तालिममा कफीका जात, स्थानअनुसार उपयुक्त प्रजाति छनोट, नर्सरी व्यवस्थापन, रोपण, काँटछाँट तथा उत्पादन व्यवस्थापनबारे सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइएको थियो ।
तालिममा गण्डकी, वागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका ३० जना युवाको सहभागिता थियो । तालिमले व्यावसायिक  खेती गर्न आत्मविश्वास बढाएको सहभागीले बताएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्