नेभिगेशन
नेपाल

काठमाडौँ उपत्यकासहित अतिक्रमित संरचना हटाउने अभियान देशव्यापी सञ्चालन

संवादमार्फत समाधान खोज्न मानवअधिकार एलायन्सको आग्रह

काठमाडाैं । सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान काठमाडौँ उपत्यकासहित देशभर सञ्चालन गरिएको छ। सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँका जोखिमयुक्त क्षेत्रमा बनेका घरटहरा तथा अन्य अतिक्रमित संरचना हटाउन सुरु गरेको हो।

शनिबार काठमाडौँको थापाथली, सिनामंगल–गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारमा बनेका अवैध संरचना हटाइएको थियो। आज भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायको सहयोगमा सरकारी टोलीले मनोहरा नदी किनारका अतिक्रमित संरचना हटाउने काम जारी राखेको छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले प्रारम्भिक चरणमा जोखिमयुक्त क्षेत्रका बस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी उचित बसोबासको व्यवस्था गरिने बताउनुभयो। उहाँका अनुसार अतिक्रमित क्षेत्र खाली गराउने क्रममा घरबारविहीन भएका नागरिकको प्रारम्भिक विवरण संकलन गर्दै बसोबासको व्यवस्थापनसमेत भइरहेको छ।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बुद्धचोक र वडा नं ९ मनोहरा टोलका जोखिमपूर्ण बस्तीहरू पनि खाली गर्न थालिएको छ। त्यहाँ रहेका नागरिकका सरसामान निकाल्न र अन्यत्र सार्न सुरक्षाकर्मीले सहयोग गरिरहेका छन्।

प्राधिकरणका अनुसार हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन्। सम्पर्कमा आएका परिवारलाई तत्कालका लागि विभिन्न होटलमा बसोबास तथा खानपानको व्यवस्था गरिएको जनाएको छ।अभियान उपत्यकामा मात्र सीमित नभई रुपन्देही, नुवाकोट, पर्सालगायत जिल्लामा पनि विस्तार गरिएको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थित सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइएको छ। बुटवल उपमहानगरपालिकाले यसअघि नै त्यस्ता संरचना आफैँ हटाउन सूचना जारी गरेको थियो।
नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्थानमा सरकारी जग्गा कब्जा गरी बनाइएका एक दर्जन सरकारी तथा ८६ निजी संरचना गल्छी–रसुवागढी सडक योजनाले हटाएको छ।

यस्तै पर्सामा नारायणी सिँचाइ तथा व्यवस्थापन कार्यालयले गण्डक नहरको डिल अतिक्रमण गरी बनाइएका घरटहरा हटाएको छ। वीरगन्ज महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्णले नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा अभियान सञ्चालन गरिएको जानकारी दिए ।
मनोहरा क्षेत्रको निरीक्षणमा प्रहरी महानिरीक्षक

यसैबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मनोहरा नदी किनारका बस्ती खाली गराउने कार्यस्थलको निरीक्षण गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनले भूमिहीन नागरिकको व्यवस्थापन र सुरक्षित स्थानमा स्थानान्तरणबारे जानकारी लिएका थिए ।

शनिबार मनोहरा क्षेत्रमा बस्ती हटाउने क्रममा स्थानीयसँग सामान्य झडप भएको थियो। सो क्रममा २२ जना सुरक्षाकर्मी घाइते भएका थिए। आज भने समाचार तयार पार्दासम्म बस्ती खाली गराउने कार्य शान्तिपूर्ण रूपमा चलिरहेको जनाइएको छ।
मानवअधिकार एलायन्सको संवादमार्फत समाधान खोज्न आग्रह

मानवअधिकार एलायन्सले सुकुम्बासी तथा भूमिहीनलाई वैकल्पिक व्यवस्था नगरी हटाउनु मानवीय र मानवअधिकारको दृष्टिले उचित नहुने जनाएको छ। संगठनका अध्यक्ष विदुर सुवेदीद्वारा जारी विज्ञप्तिमा बस्तीबाट हटाइएका परिवारमा भय, असुरक्षा र अनिश्चितता बढेको उल्लेख गरिएको छ।

एलायन्सले प्रभावित समुदायसँग खुला, विश्वासपूर्ण र अर्थपूर्ण संवाद सुरु गरी बलपूर्वक विस्थापन नगर्न सरकारलाई आग्रह गरेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय