नेभिगेशन
दृष्टिकोण

बालेन सरकारको गति र बाधा अड्चन

विगतका सरकारबाट भएको प्रभावहीन तथा नकारात्मक ढंगको राज्यव्यवस्था सञ्चालनका कारण राष्ट्रमा अनगिन्ती समस्याहरू थुप्रिएका छन् । विगतमा सरकारको नेतृत्व, दलका नेता र कार्यकर्ता, कर्मचारीतन्त्र र गैरजिम्मेवार नागरिकहरूबाट भएगरेका गलत क्रियाकलाप तथा राज्यदोहनका कारण देश अहिलेको दुरावस्थामा प्राप्त भएको हो । यसको अर्थ विगतमा केही पनि सकारात्मक काम नभएको भन्ने पनि होइन, तथापि सुशासनभन्दा स्वार्थ र कुशासन हाबी भएको तथ्य आम जनाताले महसुस गरेकै विषय हो । अहिले बालेन नेतृत्वको सरकारको काँधमा विद्यमान विकृति र राष्ट्रिय फोहोरका रूपमा रहेको समस्यालाई सफा गर्ने कुचिकारको राष्ट्रिय  जिम्मेवारी आएको छ । बालेन सरकारको सुरुवाती काम र कार्य शैलीलाई हेर्दा यो सरकारको राज्यव्यवस्था सञ्चालनको गति आशा लाग्दो मात्र नभई लोभ लाग्दोसमेत देखिन्छ । 
सदा विरोधी राजनीतिक दल; आफूमात्र जान्नेसुन्ने ठान्ने बुद्धिजीवी भनौदाहरू; संस्थापन पक्षको विरोधमा मात्र आवाज उठाउने अधिकारकर्मी नामका प्रायोजित अभियान्ताहरू;  अहोदाअनुसार स्वविवेकीय अधिकारसमेत प्रयोग गर्न नसक्ने, नयाँ पहल गर्दै नगर्ने र काम गर्दाको जोखिम लिनै नचाहने काइते प्रवृत्तिका असहयोगी कर्माचारीतन्त्र; सबै क्षत्रका स्वार्थी भातृ संगठनहरूको विरोध; भ्रष्टाचारी र आर्थिक बिचौलियाहरूको सिन्डिकेटलगायत अनेकन सामाजिक समस्याहरूका बीच काम गर्नु पक्कै पनि सजिलो छैन, यो सरकारलाई । छोटो समयमा नै देखिएको सरकारको इच्छाशक्ति; सार्वजनिक सेवा सुविधाका क्षत्रमा गेरेको, देखिएको पहल र नतिजा; भए गरेका गृहकार्य तथा निर्बाध सुरु भएको गतिशील कार्यहरू गर्दा बेला–बखत ठेसलाग्नु र लड्नु भनेको सामन्य कुरा हो । महŒवपूर्ण कुरा भनेको ठेस लागी लडेपछि पनि उठेर फेरि अगाडि बढ्नु चाहिँ सफलता र लक्ष प्राप्तितर्फ उन्मुखताको लक्षण हो– जुन यो सरकारमा देखिन्छ ।
यो सरकारले पाँच वर्षसम्म प्रभावकारी ढंगबाट राज्यव्यवस्था सञ्चालन गरी देश चलाउनु छ । यसैले देशका सबै क्षत्र र मुद्धामा एकैचोटी हतार गरेर हात हाल्नु जरुरी पनि छैन । थालको तातो भात खाँदा छेउ–छेउ बाट खानुपर्छ भन्ने त हाम्रोमा भनाइ नै छ । यही कारण राष्ट्रिय  मुद्धाहरूलाई प्राथमिकतामा राखी तालिकाअनुसार दृढका साथ सम्बोधन गर्नु उपयुक्त हुन्छ । यो सरकारले सुरु गर्न थालेका सामाजिक क्षत्रका सेवा, सुविधा दिने दिलाउने विषयमा सकारात्मक संकेतहरू देखिन थालेका छन्, जस्तो कि चालक अनुमति पत्र र राहदानी वितरणमा देखिएका सुधार । अहिले, यो सरकारको अग्नि परीक्षाका रूपमा रहेको मुद्धा भनेको भ्रस्टाचार नियन्त्रण, भ्रस्टाचारी माथि कारबाही र सुशासनको प्रत्याभूति हुनेगरी यसको स्थापना हो । एक महिनाभित्र सरकारले देखाएका भ्रष्टाचार, सम्पत्ति अपचलन र शुद्धीकरण तथा अकुत सम्पत्तिवालाहरू माथिको आक्रामक कदमले समाजमा नसोचिएको नयाँ रक्तसञ्चार र धड्कन महसुस हुन थालेको छ । आलोचना गर्नेहरूले बिना गृहकार्य, पूर्वाग्रह राखी आवेगमा कमजोर कानूनी धारातल र तयारीमा गरेको काम भनेर मलिन आवाजमा  बोल्न र लेख्न पनि थालेका छन् । सुकुम्वासीहरूलाई हटाउने कार्यमा सरकारको तयारीलाई हेर्दा सरकार त्यत्ति कच्चा छैन भन्ने प्रष्टै देखिन्छ । यसरी एक पटक अपराधीहरूलाई जालमा पारिसकेपछि भने बिस्तार विधिसंबत ढंगले कानूनी कठघरामा जहिले पनि उभ्याउन सकिन्छ । 
यो सरकारमा जोस छ, देशमा विद्यामान विकृतिबारे पूर्ण जानकारी छ, काम गर्ने ऊर्जा छ, सरकार चलाउनेहरूमा बहुआयामिक ज्ञान र बुद्धि पनि छ भने अहिले काम गर्न उपयुक्त वातावरण पनि छ । यो सरकारको एउटै मात्र कमजोर पक्ष वा कुरा भनेको सरकारमा सरकारी संयन्त्रहरू सञ्चालन गर्ने अनुभवको कमी छ, जो पढेर, देखेर र बुझेर मात्र पुग्दैन । यस्तो अनुभव भनेको आफ्नो विधाको काममा समय बिताइ आर्जन गर्नैपर्छ ।  

बालेन सरकारलाई अहिलेको जस्तो ठिक्क बिग्रिएको देशमा राज्यव्यवस्था तथा राज्य संयन्त्रहरू सञ्चालन गर्न पाउनु भनेको ठूलो अवसर र भाग्य पनि हो । बिग्रेको ठाउँ वा देशमा काम गरी देखाउन र जस पाउन सजिलो हुन्छ । स–साना सामाजिक सेवा सुविधाको काम मात्र गर्दा पनि ठूलो जस पाउन सकिन्छ । 
यसैले बालेन नेतृत्वको सरकारले आफूमा भएको कमिकमजोरीलाई आत्मसात् गरी सबै मन्त्रालयहरूमा राष्ट्रबादी, निःस्वार्थी र अनुभवी कर्मचारी तथा भुक्तभोगी विषय विज्ञलाई सल्लाहाकारका रूपमा राखी काम गर्दा सरकार व्यावहारिक, बिबादमुक्त र प्रभावकारी हुनेछ । सरकारले यस्ता व्यक्तित्वहरूलाई सम्मानका साथ नियुक्त गर्न चाहेमा सरकारलाई सघाउन नेपालमा यस्ता क्षमतावान् र निःस्वार्थ व्यक्तिहरूको कमी हुनेछैन ।

अन्त्यमा, भर्खर एक महिना पूरा गर्दै गरेको सरकारको काम कारबाहीमाथि अनेक टीका–टिप्पणी गर्नु अलि हतारो हुनेछ । काम कारबाही गर्दा गल्ती हुन्छ र हुनसक्छ, तर नियतले नगरेको वा नभएको गल्तीबाट डराउनुपर्दैन र यो क्षम्य पनि हुन्छ । काम गर्नेले गल्ती गर्छ वा हुन सक्छ । यहाँनेर एउटा कुरा उल्लेख गर्नैपर्ने हुन्छ कि यो सरकारको पाँचवर्षे कार्यकालको दिगोपनका लागि सम्भावित जोखिम भनेको पार्टीभित्रको आन्तरिक कलह र व्यक्तित्वबीचको सम्भाव्य द्वन्द्व हो । यही कारण पार्टीमा मात्र नभई राष्ट्रमा नै संकट आउन सक्छ । यो जस्तो संगीन विषयमा पार्टी अध्यक्ष र सरकार प्रमुखमा चेतना, विवेक र राष्ट्रिय  दायित्वबोधले जरा गाडेको नै होला । शुभ बिहानीले शुभ दिनको संकेत गरेझैं यो सरकारले सफलता प्राप्त गर्न सकोस् ।  

(डा. भण्डरी नेपाली सेनाका पूर्वजर्नेल हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
साताको लोकप्रिय