नेभिगेशन
अर्थतन्त्र

उद्योगीलाई संरक्षण गर्ने नीति चाहिन्छः विसु केसी, उपाध्यक्ष, बौद्धिक सम्पत्ति संरक्षण समाज नेपाल

मुलुकको कानुन र कानुन कार्यान्वयन सबैका लागि समान रूपमा लागू हुनुपर्छ भन्ने सिद्धान्त बिल्कुल सही हो । तर, व्यवहारमा केही क्षेत्रहरू अलि संवेदनशील पनि हुन्छन् भन्ने यथार्थलाई राज्य र समाजले बुझ्न आवश्यक छ । मुलुकले अरू धेरै पेशा उत्पादन गर्न सक्छ, वैज्ञानिक बनाउन सकिन्छ, इन्जिनियर बनाउन सकिन्छ, डाक्टर बनाउन सकिन्छ, नेता बनाउन पनि सकिन्छ । तर, एउटा सफल उद्यमी तयार गर्न, मानिसलाई सिर्जनशील र जोखिम लिन सक्ने बनाउन निकै गाह्रो हुन्छ । उद्यमशीलता विकास गर्न दीर्घकालीन मेहनत, अनुभव, पुँजी र आत्मविश्वास आवश्यक पर्छ । त्यसैले, उद्यमी र व्यवसाय क्षेत्रलाई केही हदसम्म संरक्षण र सम्वर्धन गर्ने नीति आवश्यक देखिन्छ ।
विशेषगरी, उद्यमी–व्यवसायीका लागि लगानीको सुरक्षा, प्रतिष्ठाको सुरक्षा र जिउधनको सुरक्षा अत्यन्त महत्त्वपूर्ण हुन्छ । यी पक्षहरूमा चुनौती देखाप¥यो भने त्यसको असर केवल एउटा व्यवसायीमा मात्र सीमित हुँदैन, यसले समग्र समाज र अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले उद्यमशीलता क्षेत्रलाई संवेदनशील क्षेत्रका रूपमा बुझेर राज्यले व्यवहार गर्नुपर्छ भन्ने मेरो धारणा हो । कानुन कार्यान्वयनमा राज्य कठोर हुनुपर्छ भन्नेमा दुई मत छैन । तर, कठोरताको नाममा देखावटी शैली अपनाउने, जस्तो कि ‘पहिला थुन्ने अनि पछि सुन्ने’ भन्ने प्रवृत्ति अपनाउनु उचित हुँदैन ।
विशेषगरी उद्यमी क्षेत्रमा यस्तो व्यवहारले गम्भीर असर पार्न सक्छ । किनभने, एउटा उद्यमको पछाडि ठूलो लगानी जोडिएको हुन्छ । त्यहाँ बैंकको ऋण हुन्छ, बचतकर्ताको बचत जोडिएको हुन्छ, रोजगारी सिर्जना भएको हुन्छ, उत्पादन क्षेत्र र राजस्व क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । त्यसैले, कुनै निर्णय वा कारबाहीले व्यापक प्रभाव पार्ने सम्भावना रहने भएकाले राज्यले संवेदनशीलता र जिम्मेवारीका साथ कदम चाल्नुपर्छ भन्ने कुरा मात्रै हो । यससँगै, मुलुकको कानुन सबैका लागि बराबर हो भन्ने सिद्धान्तलाई पनि कहिल्यै बिर्सिनु हुँदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय