नेभिगेशन
अर्थतन्त्र

अनुकूल नीति बन्यो भने बन्द भएका उद्योग खुल्छन्ः भीम गिरी, महासचिव, नेपाल तयारी पोसाक उद्योग संघ

जेनजी आन्दोलनपछि बनेको सरकारप्रति सुरुमा निजी क्षेत्र अत्यन्त आशावादी रहेको भए पनि हाल केही गतिविधिले लगानीकर्तामा असहजता बढाएको छ । नेपालमा विदेशी लगानी भित्र्याउन र लगानीमैत्री वातावरण बनाउन सरकारले कानुनी तथा नीतिगत अवरोधहरू तत्काल हटाउनुपर्ने आवश्यकता छ । देशमा विद्यमान केही कानुनी तथा नीतिगत जटिलताका कारण लगानीकर्तामा अनिश्चितता बढेको र ती अवरोधहरू छिटो समाधान गनुपर्छ । देशमा लगानीमैत्री वातावरण बनाउन स्पष्ट, स्थिर र पूर्वानुमानयोग्य नीति आवश्यक छ ।
विगतको ‘मल्टिफाइबर एग्रिमेन्ट’ अन्तर्गतको कोटा प्रणाली हटेपछि उद्योग ठूलो रूपमा प्रभावित भएको छ । सन् १९९५ देखि २००५ सम्मको अवधिमा झन्डै १२०० उद्योग सञ्चालनमा रहे पनि हाल त्यो संख्या करिब १०० को हाराहारीमा झरेको छ । धेरै उद्योग अहिले रुग्ण अवस्थामा पुगेका छन् । विषम परिस्थितिका बाबजुद अझै पनि धेरै बन्द उद्योगहरू पुनः सञ्चालन गर्न सकिने अवस्था छ । किनकि, ती उद्योगका मेसिन र पूर्वाधार अझै प्रयोगयोग्य अवस्थामा छन् । अनुकूल नीति बने पुनः सञ्चालन सम्भव छ ।
आगामी दिनमा नेपाल अल्पविकसित राष्ट्र बाट स्तरोन्नति हुने भएकाले हाल पाइरहेको युरोपियन युनियनको सुविधा पनि हट्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रिनुपर्ने अवस्था आउने देखिन्छ । यस्तो अवस्थामा चीन, भारत, बंगलादेश र भियतनामजस्ता देशसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । सरकारसँग हाम्रो मुख्य मागमध्ये एउटा महत्त्वपूर्ण विषय भनेको टेक्सटाइल उद्योगको व्यापक विकास हो । नेपाल तयारी पोाक उद्योग संघका तर्फबाट हामीले अहिले विदेशमा पनि विभिन्न उत्पादनहरू निर्यात गर्दै आएका छौं । तर, अन्तर्राष्ट्रिय स्तरका फेब्रिकदेखि अन्य कच्चा पदार्थसम्म अझै पनि ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था छ ।
नेपालमा अहिले जिन्स कपडाको माग अत्यन्त धेरै छ । जिन्स पाइन्ट तथा अन्य डेनिम उत्पादनहरू आजकल राष्ट्रिय स्तरमै सामान्य उपभोग्य वस्तु जस्तै बनेका छन् । देशभर करिब एक सयभन्दा बढी साना तथा ठूला उद्योगहरू यस क्षेत्रमा संलग्न छन्, जसले मुख्य रूपमा जिन्स उत्पादन गरिरहेका छन् । तर, यिनीहरूको एउटा ठूलो समस्या भनेको सम्पूर्ण फेब्रिक तथा कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । व्यापार घाटाको प्रमुख कारणमध्ये एउटा ठूलो कारण यही आयात निर्भरता हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय