नेभिगेशन
अर्थतन्त्र

लगानीको अवस्था अझै पनि जटिल छः नरहरि प्रेमी, अध्यक्ष, प्रस्तोता समाज नेपाल

अहिले लगानीको अवस्था अझै पनि केही जटिल छ । विशेषगरी विदेशी लगानीकर्ताको दृष्टिले हेर्दा नेपालमा लगानीको वातावरण अझै पूर्ण रूपमा सुरक्षित महसुस हुँदैन । म स्वयं विभिन्न अन्तर्राष्ट्रिय अनुभवका आधारमा भन्न सक्छु, धेरै विदेशी लगानीकर्ताहरू सुरुमा नेपालमा लगानी गर्न इच्छुक हुन्छन्, तर प्रक्रिया, नीति र व्यावहारिक चुनौतीका कारण पछि हिच्किचाउने अवस्था देखिन्छ । मुख्य समस्या भनेको लगानी सुरक्षित नहुन्जेलसम्म विभिन्न तहबाट अनिश्चितता हुनु हो । राजनीतिक तह, प्रशासनिक तह र स्थानीय तहबाट समेत फरक–फरक दबाब वा अवरोध सिर्जना हुने अवस्था देखिन्छ । लगानी फसेपछि मात्र विभिन्न पक्षहरू सक्रिय हुने तर त्यसअघि स्पष्ट सुरक्षा र सहजीकरण नहुने प्रवृत्तिले लगानीकर्ताको विश्वास कमजोर बनाएको छ ।
विदेशी लगानीकर्ताले आफ्नो देशमा जस्तो सहज, सुरक्षित र पारदर्शी वातावरण अपेक्षा गर्छन्, त्यस्तो वातावरण यहाँ नपाउँदा धेरैले लगानी गर्न असहज महसुस गर्छन् । केहीले त विश्वासका आधारमा लगानी गरे पनि पछि विभिन्न समस्याका कारण निराश भएर फर्किनुपर्ने अवस्था पनि देखिएको छ । त्यसैले, अब नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने विषय भनेको लगानीमैत्री वातावरण निर्माण गर्नु हो। लगानीपछि उचित प्रतिफल सुरक्षित हुने, बाहिर लैजान सकिने स्पष्ट व्यवस्था हुने, र कानुनी तथा प्रशासनिक प्रक्रिया सरल बनाउने नीति आवश्यक छ ।
विदेशी लगानीकर्ताले नेपालको आर्थिक अवस्था र कानुनी संरचना बुझ्नका लागि दूतावास तथा कन्सुलेटहरूसँग समन्वय गर्छन् । तर, वास्तविक अनुभव भने उनीहरूले यहाँको व्यावहारिक वातावरणबाटै प्राप्त गर्छन् । त्यसैले नीति मात्र होइन, व्यावहारिक कार्यान्वयन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । यहाँको कानुन र प्रणाली बुझिनसकेको कारणले गर्दा बाहिरका लगानीकर्ता नेपाल आउँदा विभिन्न माध्यम प्रयोग गर्छन् । कोही दूतावासमार्फत सम्पर्क गर्छन्, कोही मानार्थ कन्सुलर वा सम्बन्धित देशका कन्सुलर कार्यालयमार्फत आउँछन् ।  यी संस्थाहरू उनीहरूको देशको प्रतिनिधित्व गर्ने निकाय हुन् । उनीहरू कहाँ आउँछन् भन्ने कुरा केवल औपचारिकता मात्र होइन, बरु नेपालमा लगानीको वातावरण कस्तो छ, यहाँबाट कस्तो प्रतिफल पाइन्छ भन्ने बुझ्नका लागि हो ।
लगानी गर्ने निर्णय गरिसकेपछि पनि यी कूटनीतिक निकायहरू, दूतावास वा कन्सुलर कार्यालय समय–समयमा समन्वय र अनुगमनमा संलग्न रहन्छन् । उनीहरू यहाँ निरन्तर उपस्थित भएर प्रत्यक्ष रूपमा अनुगमन गर्न सक्दैनन् । त्यसैले, उनीहरूको प्रतिनिधित्व गर्ने दूतावास वा कन्सुलर कार्यालयले आवश्यक परेमा समन्वय, सहयोग र कूटनीतिक पहलमार्फत लगानीकर्ताको हित संरक्षणमा भूमिका खेल्छन् र भविष्यमा कुनै समस्या वा विवाद उत्पन्न भयो भने पनि उनीहरूले आफ्ना नागरिक वा लगानीकर्ताको पक्षमा कूटनीतिक स्तरमा सहयोग र वकालत गर्न सक्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय