नेभिगेशन
विश्व

डिपसिकको नयाँ मोडलले अमेरिकी कम्पनीहरूलाई चुनौती

हङकङ  । चीनको प्रविधि कम्पनी ‘डिपसिक’ले शुक्रबार आफ्नो बहुप्रतिक्षित नयाँ मोडलको प्रारम्भिक संस्करण (प्रिभ्यू) सार्वजनिक गरेको छ । एक वर्षअघि मात्र विश्वव्यापी एआई उद्योगमा तहल्का मच्चाएको यस स्टार्टअपले नयाँ मोडलमार्फत ओपनएआई, एन्थ्रोपिक र गुगलका मोडलहरूसँग प्रतिस्पर्धा गर्ने वाचा गरेको छ ।
हाङझाउमा रहेको यस कम्पनीले नयाँ मोडल ‘भी४’ को तार्किक क्षमता र ‘एजेन्टिक’ क्षमतामा ठूलो सुधार गरिएको बताएको छ । यसले प्रयोगकर्ताको तर्फबाट कोड लेख्ने जस्ता कार्यहरू स्वायत्त रूपमा गर्न सक्छ । साथै, सूचनाका आधारभूत एकाइ मानिने ’टोकेन्स’लाई अझ प्रभावकारी रूपमा प्रशोधन गर्ने क्षमता यसमा रहेको दाबी गरिएको छ ।
चिनियाँ एआईको फड्को र बजारमा प्रभाव
सन् २०२५ मा सार्वजनिक भएको ‘आर वन’ मोडलको सफलतापछि डिपसिक चिनियाँ एआई क्रान्तिको प्रतीक बनेको थियो । निकै कम लागतमा विश्वस्तरको नतिजा दिएका कारण यसले अमेरिकी एआई कम्पनीहरूको सेयर बजारमा गिरावट ल्याइदिएको थियो । तर, विश्लेषकहरूका अनुसार यस पटकको नयाँ मोडलले पहिलेको जस्तो बजारमा हलचल मच्चाउने सम्भावना भने कम छ ।
फाइनान्सियल सर्भिस फर्म ‘मर्निङ स्टार’ का वरिष्ठ विश्लेषक इभान सु भन्छन्, ‘आर वनले अमेरिकी बजारलाई स्तब्ध बनाएको थियो किनभने चिनियाँ मोडलले त्यस स्तरमा प्रतिस्पर्धा गर्ला भन्ने कसैले सोचेका थिएनन् । भी फोरले त्यही प्रवृत्तिलाई पछ्याएको मात्र हो ।’ उनका अनुसार चिनियाँ एआई अमेरिकी विकल्पभन्दा सस्तो र प्रतिस्पर्धी छ भन्ने कुरालाई बजारले पहिले नै स्वीकार गरिसकेको छ ।
स्वदेशी चिप र ‘ओपन सोर्स’ रणनीति
अमेरिकी मोडलहरू जस्तो नभई डिपसिकका मोडलहरू ‘ओपन सोर्स’ (सबैका लागि खुला) छन् । चीनले इ–कमर्सदेखि रोबोटिक्ससम्मका क्षेत्रमा एआईको प्रयोग तीव्र पार्न यो रणनीति अपनाएको हो । यो रणनीतिले वासिङ्टनको निर्यात नियन्त्रणका कारण अत्याधुनिक चिप्स पाउन नसक्ने चिनियाँ कम्पनीहरूको बाध्यतालाई पनि झल्काउँछ ।
अमेरिकी प्रतिबन्धका कारण एनभिडिया र एएमडीका आधुनिक चिप्स नपाएपछि डिपसिकले घरेलु कम्पनी ह्वावेसँग साझेदारी गरेको छ । भीफोरका लागि ह्वावेले आफ्नो ‘एसेन्ड ९५०’ चिप्सको समूह प्रयोग गरी आवश्यक कम्प्युटिङ पावर उपलब्ध गराएको छ । बजार विश्लेषक वेई सुनका अनुसार आर वन मोडल एनभिडियाको हार्डवेयरमा तालिम दिइएको थियो तर भी फोर पूर्ण रूपमा चिनियाँ चिप्स (ह्वावे र क्याम्ब्रिकन) मा आधारित हुनुले यसको महत्त्व अझ बढाएको छ ।
आरोप र विवादको घेरामा डिपसिक
डिपसिकले भी फोर मोडल ‘ओपन सोर्स’ क्षेत्रमै संसारकै उत्कृष्ट कोडिङ र तार्किक क्षमता भएको दाबी गरे पनि शङ्का भने छँदैछ । अमेरिकी कम्पनी एन्थ्रोपिक र ओपनएआईले डिपसिकमाथि आफ्ना मोडलहरूबाट अवैध रूपमा क्षमता चोरी गरेको आरोप लगाएका छन् ।
बिहीबार मात्र ह्वाइट हाउसका विज्ञान तथा प्रविधि नीति निर्देशक माइकल क्रेट्सियोसले चीनमा रहेका विदेशी निकायहरूले अमेरिकी कम्पनीका मोडलहरू चोर्न ठूलो स्तरमा अभियान चलाइरहेको आरोप लगाएका छन् । उनले डिपसिकको नाम नलिए पनि यो अभिव्यक्तिले दुई महाशक्ति राष्ट्रबीचको प्रविधि युद्धलाई थप चर्काएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय