नेभिगेशन
प्रदेश

पर्सा निकुञ्जको उद्धार केन्द्र सञ्चालनमा

पर्सा । लामो प्रयासपछि पर्सा राष्ट्रिय निकुञ्जमा स्थापना गरिएको वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा आएसँगै मानव–वन्यजन्तु द्वन्द्व घटाउँदै उद्धार, उपचार र पुनस्र्थापना प्रभावकारी हुने आशा गरिएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बढ्दो मानव र वन्यजन्तुको द्वन्द्वसँगै मानवीय क्षति रोक्न वन्यजन्तु उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जको भर पर्नुपर्ने बाध्यता थियो । यहाँ वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा आएपछि त्यो बाध्यता हट्ने आशा गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्सा राष्ट्रिय निकुञ्जको सहकार्यमा समस्याग्रस्त, घाइते, तथा जोखिममा परेका वन्यजन्तुको उद्धार, उपचार र पुनस्र्थापनाका लागि वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा ल्याइएको हो । वन्यजन्तु उद्धार केन्द्रको उद्घाटन गर्दै सिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेलले निकुञ्ज क्षेत्रमा बाघ र हात्तीका कारण समस्या हुने, मानव र वन्यजन्तुबिच द्वन्द्वसमेत हुने गरेको अवस्थामा मानवीय क्षति रोक्न र द्वन्द्व न्यूनीकरणका प्रयास हुँदै आएको बताए । बाघले मानिसलाई खाने, उद्धारका सन्दर्भमा सरोकारवाला निकायले समयमा उद्धार कार्य गर्न नसकेको गुनासो आएको हुँदा यस उद्धार केन्द्रले समयमै उद्धार गर्ने अपेक्षा उनले गरे । उनले उद्धार केन्द्रको स्थापनासँगै निकुञ्जलाई पर्यापर्यटनको विकासमा समेत सहयोग पुग्ने बताए ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा ल्याइएसँगै अब वन्यजन्तुको उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट आउने जनशक्तिमा निर्भर हुनुपर्ने बाध्यताबाट मुक्त भएको बताए । मानव र वन्यजन्तुबिच द्वन्द्व वा वन्यजन्तुको उद्धार गर्नुपर्दा चितवन राष्ट्रिय निकुञ्जबाट आउने प्राविधिकलगायतका जनशक्ति कुर्नुपर्ने र उद्धार कार्य तीन घण्टा ढिलो मात्र हुने गरेकोमा अब तत्काल गर्न सकिने भन्दै यसबाट बारा, पर्सा र मकवानपुर जिल्लाको मध्यवर्ती क्षेत्रसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणसँगै मानव र वन्यजन्तुको क्षति कम गर्न सहयोग पुग्ने बताए ।
केन्द्रमा कोषसँगको सहकार्यमा डार्ट प्राविधिक, उपकरण, औषधी, पशु एम्बुलेन्सलगायत उद्धारका लागि आवश्यक उपकरण व्यवस्था गरिएको छ । साथै केन्द्रमा बाघलगायतका हिंस्रक जनावरलाई डार्ट गर्न डार्ट गन सेट, बाघलाई घेरा हाल्ने सेतो कपडा (भित), सर्प उद्धार गर्ने सामग्री, क्यामरा ट्र्याप र गोही समात्न प्रयोग हुने सामग्रीको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय