नेभिगेशन
प्रदेश

काभ्रेको मण्डनदेउपुर आधारभूत अस्पतालमा बिरामीको चाप बढ्यो

काभ्रे । काभ्रेको उत्तरी क्षेत्रको अन्तिम पालिका मण्डनदेउपुर नगरपालिकाको आधारभूत अस्पतालमा अहिले सेवाग्राहीहरुको चाप बढेको छ । विगतमा यहाँको सेवा भरपर्दो नभएको गुनासोहरु आइरहेकोमा गत मंशिर २१ गतेदेखि यहाँ स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत रेफर सेवा शुरु भएसँगै बिरामीको चाप बढेको हो । यससँगै अस्पतालले दिने अन्य सेवाहरु पनि थपिएका छन् ।
त्यसअघि दैनिक १० जना जति मात्र बिरामी आउने गरेका भएपनि हाल ७० देखि ९० जनासम्म बिरामी आउने गरेका अस्पताल प्रमुख डा. सुरज श्रेष्ठले जानकारी दिए । उनका अनुसार मण्डनदेउपुरका अतिरिक्त पाँचखाल, सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्चीबाट पनि अहिले सेवाग्राही आइरहेका छन् । यहाँबाट स्वास्थ्य बीमा सेवाको प्रारम्भिक उपचार शुरु गरेपछि अस्पतालमा उपचार सम्भव नभए मात्र अन्यत्र रेफर गर्ने गरिएको छ । यसअघि उहाँहरु धुलिखेल र बनेपाका अस्पतालमा जानु पर्ने बाध्यता थियो । पर्याप्त जनशक्तिको अभावले २४ सै घण्टा स्वास्थ्य बीमा र पूरै दिन एक्सरेको सुविधा दिलाउन नसकिएको डा. श्रेष्ठले बताए ।
इसिजीदेखि एक्सरे सेवा उपलब्ध अस्पतालमा कुनै बिरामीले पुरानो रिपोर्ट नल्याएमा उसले कुन औषधि सेवन गरिरहेको छ भन्ने कुरा अस्पतालले डिजिटल रेकर्डबाट हेर्ने गरिएको छ । स्वास्थ्य बीमाको भुक्तानी अस्पतालले भोगिरहेका अवस्थामा केही महिनामा बजेटको पूर्ण सुनिश्चित गर्नका लागि आवश्यक पहल गरिएको डा. श्रेष्ठ बताउँछन् ।
मण्डनदेउपुर नगरपालिका वडानम्बर ७ मा रहेको यो अस्पताल विगत ५ वर्षदेखि सञ्चालनमा छ । हाल ५ शैयाको अस्पतालको रुपमा सेवा प्रवाह भइरहेको यहाँबाट अबको एक वर्षभित्रैमा थप १५ शैयाको अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको नगरप्रमुख टोकबहादुर वाइवाले जनाए । अस्पताल भवन निर्माणको हाल ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । यससँगै उपचारका लागि बिरामीहरुले धुलिखेल, बनेपा, पाँचखाल, काठमाडौंसम्म धाउनु पर्ने बाध्यता विस्तारै हट्ने उनको विश्वास छ ।
नगरमा दीर्घरोगी विरामी कति ?
नगरपालिकाले दिएको जानकारी अनुसार समग्र पालिकामा ९९ जना कडा दीर्घ रोगका बिरामी रहेका छन् । जस अन्तर्गत क्यान्सर, मृर्गौला रोगी, स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएकालगायतका बिरामी पर्दछन् । उनीहरुलाई राज्यले मासिक ५ हजार औषधि उपचार खर्च प्रदान गर्दै आइरहेको छ । राज्यले दिने तर दोहोरो सुविधा नलिएका बिरामीले मात्र यस्तो सेवा पाउने गरेका छन् । 
नगरपालिकाको वडानम्बर १ मा ४ जना, वडानम्बर २ मा ८ जना, वडानम्बर ३ मा ६ जना, वडानम्बर ४ मा ३ जना, वडानम्बर ५ मा १० जना र वडानम्बर ६ मा ९ जना बिरामीले यो सुविधा पाइरहेका छन् । यस्तै वडानम्बर ७ मा ६ जना, वडानम्बर ८ मा ७ जना, वडानम्बर ९ मा ११ जना, वडानम्बर १० मा १३ जना, वडानम्बर ११ मा १२ जना र वडानम्बर १२ मा ८ जना यस्ता बिरामी रहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय