नेभिगेशन
प्रदेश

सम्पन्न परिवारमै बच्चालाई स्तनपान कम

गोरखा । गोरखा जिल्लामा ८२ प्रतिशत आमाले मात्र पूर्ण स्तनपान (जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउने) गराउने गरेको विवरण सार्वजनिक भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लाका १८ प्रतिशत आमाहरूले शिशुलाई पूर्ण स्तनपान नगराएको पाइएको हो ।
शिक्षित र आर्थिक रूपमा सबल मानिएका परिवारका आमाले नै पूर्ण स्तनपान नगराएको पाइएको कार्यालयका जनस्वास्थ्य अधिकृत नवराज खड्काले बताए । ‘शिक्षित र जागिरे आमाहरूले नै पूर्ण स्तनपान नगराएको देखिन्छ,’ उनले भने, ‘व्यस्तताका कारण बच्चालाई बजारमा पाइने ल्याक्टोजेन दूध खुवाउन बाध्य भएको देखिन्छ ।’
सरकारले महिलालाई तीन महिना सुत्केरी बिदा दिने गरेको छ, जसका कारण जागिरे महिलाहरूले आफ्नो बच्चालाई पूर्ण स्तनपान गराउन नसकेको बताउने गरेका छन् । खड्काले भने, ‘आर्थिक अवस्था कमजोर भएका परिवारका महिलामा धेरै समस्या छैन । आर्थिक रूपमा सबल परिवारले बजारमा पाइने बट्टाको दूधमा जोड दिन्छन् । यो जागिरलगायत कारणले पनि हुनसक्छ ।’ 
प्रदेश अस्पताल गोरखाका बाल रोग विशेषज्ञ डा. प्रकाश शर्माले बजारमा पाइने बट्टाको दूध बालबालिकाको शारीरिक र मानसिक विकासका लागि आमाको दूधजति पोषिलो नहुने बताए । पूर्ण स्तनपान गराउनाले बच्चासँगै आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । 
‘पूर्ण स्तनपान गराएमा सुत्केरी आमाको शरीर पुनः स्वस्थ हुँदै जान्छ । पूर्ण स्तनपान गराउँदा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै एन्टीबडीको पनि विकास हुन्छ,’ डा. शर्माले भने, ‘पूर्ण स्तनपानले स्तन क्यान्सर जस्तो घातक रोग रोकथाम गर्न सकिन्छ । बालबालिकामा कम तौलको समस्या पनि रोकथाम हुन्छ ।’ 
प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको तथ्यांकअनुसार यहाँ ९ प्रतिशत बालबालिकाहरू कम तौलका छन् । 
नेपालमा एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत, ६ महिनासम्म पूर्ण स्तनपान गराउने  ५६ प्रतिशत र दुई वर्षसम्म स्तनपान गराउने ९४ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक रहेको जनस्वास्थ्य अधिकृत खड्काले बताए  । 
जन्मेको एक घण्टाभित्र स्तनपान निकै लाभदायी मानिन्छ । यस्तै, ६ महिनासम्म पूर्ण र त्यसपछि पूरक आहारसहित दुई वर्षसम्म नियमित स्तनपान गराउनुपर्ने हुन्छ । यी तीन व्यवहार अपनाइँदा नवजात शिशु मृत्युदरमा २० प्रतिशत कमी आउने जानकारहरूले बताउने गरेका छन् ।
प्रदेश जनस्वास्थ्य कार्यालयले बट्टाको दूधको प्रयोग निरुत्साहित गर्न आमाको दूधसम्बन्धी महŒव बुझाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । अब स्तनपान परामर्शदाता तालिम दिने तयारी भइरहेको कार्यालय प्रमुख सिम्रन काफ्लेले जानकारी दिइन । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
साताको लोकप्रिय