नेभिगेशन
प्रदेश

नागरिकता लिनै दुई हप्ता

बैतडी । बैतडीको पुर्चौडीमा रहेको इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण प्रक्रिया ढिलो हुँदा सेवाग्राही दुई सातासम्म कुर्न बाध्य छन् । इलाका प्रशासन कार्यालयमा कार्यरत नागरिकता दिने अधिकारी शाखा अधिकृत शंकरबहादुर बोहोराको गत मंसिर २२ गते जिल्लाकै सिगास गाउँपालिकामा सरुवा भएपछि नै नागरिकता सेवा बन्द भएको हो । उनको सरुवा भएपछि दुई महिना नागरिकता सेवा पूरै ठप्प भएको इलाका प्रशासन कार्यालय पुर्चौडीमा कार्यरत कम्प्युटर अपरेटर एवं सूचना अधिकारी बोमबहादुर खत्री बताउँछन् ।
श्रीमतीको नागरिकता बनाउन इलाका प्रशासनमा गत चैत २७ गते आवश्यक कागजात बुझाएको र सो नागरिकता लिन दुई साता लागेको पुर्चौडी नगरपालिका–३ का नवीन धामीले गुनासो गरे । सेवाग्राही धामीले भने, ‘रोजगारीका लागि भारत जानुपर्ने बाध्यता एकातिर छ । नागरिकता बनाउन ढिलाइ हुँदा झन् बेरोजगारी बढ्यो ।’
श्रीमती र बहिनीको नागरिकता बनाउन गएका पुर्चौडी–३ कै अर्का सेवाग्राही सुरज धामीले पनि नागरिकता लिन दुई साता लागेको बताए । उनले भने, ‘नागरिकता बनाउनकै लागि लगातार तीन÷चार दिन इलाका प्रशासन धायौं, फेरि पनि बनेन, ग्रामीण क्षेत्रका नागरिकका दुःख जुन सरकार आए पनि उस्तै छ ।’
यहाँ नागरिकता दिने अधिकारी नहुँदा कागजात जिल्ला प्रशासन कार्यालय बैतडी पठाउनुपर्ने  बाध्यताका कारण नागरिकता दिलाउन केही ढिलाइ भएको सूचना अधिकारी खत्रीले बताए । इलाका प्रशासनमा खटिएका नागरिकता दिने अधिकारीको बेला बेला हुने सरुवाले यहाँका सेवाग्राही मर्कामा पर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय बैतडीमार्फत पाँच महिनायता जम्मा भएका निवेदनका नागरिकता तयार भएर आएको सूचना अधिकारी खत्रीले बताए । स्थानीय सरोकारवालाले समयमै नागरिकता दिने अधिकारी व्यवस्थापन गर्न नसक्नु राज्यको कमजोरी भएको बताएका छन् ।
यता जिल्ला प्रशासन कार्यालय बैतडीका प्रजिअ डा. डिजन भट्टराईले इलाका प्रशासनमा देखिएको समस्या समाधानका लागि गृह मन्त्रालयमा पत्राचार गरेको तथा नागरिकता दिने अधिकारी नायब सुब्बालाई खटाइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमै कार्यरत नायब सुब्बा उत्तम विष्टलाई आगामी सोमबार हाजिर हुने गरेर रमाना दिएर पठाइसकिएको प्रजिअ भट्टराईले बताए । उनले भने, ‘नागरिकलाई सेवा प्रदान गर्न कर्मचारी पठाएका छौं, अब सहज हुन्छ ।’ २०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय पुर्चौडीमार्फत पुर्चौडी नगरपालिकाका १० वटै वडा र डिलासैनी गाउँपालिका–४ का नागरिकलाई सेवा प्रदान गरिँदै आएको बताइएको छ ।
पुर्चाैडीमा २०७३ मा स्थापना भएको सो इलाका प्रशासनमा अधिकृतको दरबन्दी रहे पनि यसअघि नायब सुब्बाले नै काम चलाउँदै आएका थिए । तर उनी पनि कार्यालयमा सधैं नहुने गर्दा जनताको काममा ढिलो हुने गरेको थियो । गत असारमा भने पहिलो पटक पुर्चौडीको इलाका प्रशासन कार्यालयमा अधिकृत खटिई गएका थिए । इलाका प्रशासन कार्यालय स्थापना भएको झन्डै १० वर्षपछि पहिलो पटक अधिकृतका रूपमा शंकरबहादुर बोहोरा हाजिर भएका थिए । अधिकृत आएपछि जनताको काम छिटो हुने आशा गरिएको थियो । केही समय उनी हुँदा काम भएको पनि थियो तर हाल नागरिकता दिने अधिकारी शाखा अधिकृत शंकरबहादुर बोहोरा सरुवा भए पछि जनतको काम ढिलो हुन थालेको छ ।

सदरमुकामबाट टाढा रहेको पुर्चौडी नगरपालिका र डिलासैनी गाउँपालिका–४ का बासिन्दालाई नागरिकता प्रमाणपत्र जारी गर्न र प्रतिलिपि दिन इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । ४० हजार जनसंख्यालाई लक्षित गर्दै पुर्चौडीमा इलाका प्रशासन स्थापना भएको थियो । पुर्चौडीबाट नागरिकता प्रमाणपत्र बनाउनकै लागि सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता रहेकोमा गाउँमै नेपाली नागरिकताजस्ता सरकारी कागजपत्र बन्ने भएपछि स्थानीय बासिन्दाको पैसा र समय दुवै बच्ने भएपछि स्थानीय खुसी भएका थिए तर पनि सरकारी अधिकृतको समयमै बहाली नहुँदा जनता सास्ती खेप्प बाध्य भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय