नेभिगेशन
अर्थतन्त्र

हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्डमा टावर निर्माण सुरु

काठमाडौं  । स्थानीयसँगको मुआब्जा विवाद टुंगिएपछि वर्षौंदेखि अवरुद्ध ४०० केभी हेटौंडा–ढल्केबर प्रसारण लाइनको पश्चिम खण्ड (हेटौंडाको हटिया क्षेत्र) मा टावर निर्माणको काम अगाडि बढेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा स्थानीयसँगको मुआब्जा विवाद टुंगिएसँगै निर्माण कम्पनीले प्रसारण लाइनको काम अगाडि बढाएको हो । 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा सरोकार पक्षसँग भएको सहमति बनेको थियो । मन्त्री श्रेष्ठले यसै साता जग्गाधनी र त्यस क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गरी मुआब्जा विवादलाई टुङ्याएका थिए । प्रसारण लाइनको टावर निर्माण हुने क्षेत्रका जग्गाधनीले मुआब्जा स्वीकार गरेपछि एक साताभित्रै सात वटा टावरको जग खन्ने र कंक्रिटिङ गर्ने कार्य तीव्र गतिमा अगाडि बढेको छ । 
सन् २०१२ बाट निर्माण शुरू भएको यो प्रसारण लाइन अन्तर्गत हेटौंडाको हटिया क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा वर्षौदेखि अलपत्र परेको थियो । नेपालको विद्युत प्रणालीको मेरुदण्डका रूपमा लिइएको यो प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि विद्युत् आपूर्ति प्रणाली विश्वसनीय हुनुका साथै निर्यातका लागि पूर्वाधार तयार हुनेछ ।
यो प्रसारण लाइन निर्माणले निजी क्षेत्रलाई ठूलो राहत प्रदान गर्नेछ । यो प्रसारण लाइनको पूर्वी खण्ड (ढल्केबर–इनरुवा) को निर्माण भने तीन वर्षअघि नै सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय