नेभिगेशन
अर्थतन्त्र

प्रोफेसनल होल्डिङ्सको साधारणसभाबाट ५० प्रतिशत बोनस सेयर पारित

काठमाडौं । प्रोफेसनल होल्डिङ्स लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड) को २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अनुसार चैत २८ गते काठमाडौंको बानेश्वरस्थित ग्लोबल कलेजमा सम्पन्न सभामा कुल सेयरधनीमध्ये ८२.६४ प्रतिशतको सहभागिता रहेको थियो ।
सभाले आर्थिक वर्ष २०८१÷८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरण पारित गरेको जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०८२÷८३ का लागि कम्पनीको लेखापरीक्षण गर्न एनबीएसएम एन्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट फर्मलाई लेखापरीक्षकमा नियुक्त गर्दै पारिश्रमिक निर्धारण गरिएको छ ।
सभाले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि २.६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।
बोनस सेयर जारी भएपछि कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोअनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गरिएको छ । यसैगरी, कम्पनीको जारी पुँजीको निश्चित प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने विशेष प्रस्तावसमेत सभाले स्वीकृत गरेको छ। उक्त निर्णयसँगै कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको जनाएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने लगायत अन्य सामान्य तथा विशेष प्रस्तावहरू पनि सभाबाट पारित भएको जनाएको छ । यस्तै अवसरमा कम्पनीको सहायक कम्पनी युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडले पनि आर्थिक वर्ष २०८१÷८२ का लागि हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर तथा त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको जनाएको छ ।
कम्पनीले आफ्नो मुख्य सेयरधनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रति उच्च व्यावसायिक सुशासन, दृढ नेतृत्व र मार्गनिर्देशनका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय