नेभिगेशन
प्रदेश

पालिकामा छैनन् अधिकृत, जनताका काम ठप्प


बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिकामा कार्यालय प्रमुख नहुँदा आर्थिक कारोबार ठप्प भएको छ । प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्दै आएका अम्मरराज जोशीको गत पुस १४ गते सरुवा भएपछि बुढीगंगा नगरपालिका कार्यालय प्रमुखविहीन बनेको हो । हालसम्म कोही पनि कार्यालय प्रमुख आएका छैनन् । बुढीगंगा नगरपालिका–६, बाम्का बजारका व्यापारी सुशील थापाले, पालिकाको मल ढुवानी गरेको रकम अहिलेसम्म भुक्तानी नभएको बताए । गाउँमा हुने गरेका विकास निर्माणका अन्य काम पनि प्रभावित भएको छ । योजनाको रकम समयमै भुक्तानी नपाउँदा अहिले यहाँका उपभोक्ताले समेत सास्ती खेप्नु परेको छ ।
पुस १४ गते संघीय मामिला मन्त्रालयले बुढीगंगामा भोजराज ऐडीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको छ । बुढीगंगा नगरपालिकामा काम गर्न खटाएका ऐडी अझै आएका छैनन् । बुढीगंगा नगरपालिकाको प्रशासकीय अधिकृतका रूपमा खटाएको भोजराज ऐडीले, आफू दुर्घटनाका कारण टाउकोको बिरामी भएकाले अहिले काठमाडौंमा उपचार गरिरहेको बताए । उनले भने, ‘आफू बिरामी छु, त्यसैमा उमेरले पनि डाँडो काट्दै छ । त्यहाँ काम गर्न समस्या हुने भएको कुरा मैले मन्त्रालयलाई बताएको छु, म नै जानुपर्ने हो भने एक जना इन्जिनियर, एक जना लेखा अधिकृत र एक जना थप अधिकृत गरेर तीन जना कर्मचारीको समेत माग गरेको छु । तर मन्त्रालयले मेरो त्यो माग पूरा गरेको छैन ।’
एकातिर करारका सबै कर्मचारी हटाइएका छन् अर्कोतिर म बिमारी छु कसरी काम गर्ने भन्ने उनको प्रश्न छ । यद्यपि स्वास्थ्य सुधार भएपछि तोकिएको ठाउँमा जाने तयारीमा रहेको ऐडीले बताए । बुढीगंगा नगरपालिका प्रमुख रामबहादुर बाँनियाले, विगत पाँच महिनादेखि कार्यालय प्रमुख नहुँदा यहाँको आर्थिक कारोबार सबै ठप्प रहेको बताए ।
गत वर्ष भदौमा स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)मा बुढीगंगा नगरपालिका बाजुरा जिल्लाकै उत्कृष्ट भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९÷८० को स्वमूल्यांकनको प्रतिवेदनअनुसार बुढीगंगा नगरपालिका ८४.५० अंकसहित जिल्लाकै पहिलो भएको थियो । लिजाको प्रारम्भिक नतिजामा जगन्नाथ गाउँपालिका जिल्लाकै उत्कृष्ट देखिए तापनि गुणस्तर परीक्षणको अन्तिम नतिजामा बुढीगंगा पहिलो भएको थियो । तर सोही पालिका अहिले दैनिक कामकाज नै हुन नसक्ने गरी काम ठप्प हुँदा जनता मारमा परेको स्थानीय अगुवा काशीराम जोशी बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
साताको लोकप्रिय