नेभिगेशन
अर्थतन्त्र

लगानी बोर्डको ‘एकल विन्दु’ सेवा पोर्टल सञ्चालनमा

काठमाडौं । लगानी बोर्ड नेपाल (आईबीएन) ले ‘एकल विन्दु’ सेवा प्रणाली सञ्चालनमा ल्याएको छ । सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउन ‘एकद्वार सेवा केन्द्र (वन–स्टप सर्भिस सेन्टर–ओएसएससी) पोर्टल’ सञ्चालनमा ल्याएको हो । 
लगानी बोर्डले ठूला लगानीकर्ताहरूलाई लक्षित गर्दै यस्तो पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ । लगानी बोर्डका अनुसार यो ओएसएस प्लेटफर्ममार्फत बोर्डभित्र तथा बाहिरका विभिन्न सार्वजनिक सेवाहरू एउटै माध्यमबाट उपलब्ध हुनेछन् । 
बोर्डबाट सहजीकरण गरिएका आयोजनासँग सम्बन्धित सेवा तथा कागजात व्यवस्थापनलाई डिजिटल माध्यमबाट सरल र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ । यस प्रणालीमा दर्ता भइसकेका प्रयोगकर्ताले आफ्नो लगइन विवरण प्रयोग गरी सिधै सेवा लिन सक्ने पनि बोर्डले जनाएको छ । 
यो डिजिटल प्लेटफर्मले लगानीकर्ताहरूलाई विभिन्न सरकारी निकायहरूमा धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै एउटै थलोबाट सबै प्रकारका सार्वजनिक सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार यस प्रणालीमार्फत लगानीकर्ताले कम्पनी दर्ता, स्वीकृति, नवीकरण, र कारोबार अनुमति जस्ता प्रशासनिक सेवाहरू एकै ठाउँबाट सहजै प्राप्त गर्न सक्नेछन् ।
साथै, आयोजना विकासका लागि आवश्यक उद्योग पूर्वाधारमा सहजीकरण, स्थायी लेखा नम्बर (पान) उपलब्ध गराउने र प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) को स्वीकृति तथा लाभांश फिर्ता लैजाने प्रक्रियामा पनि बोर्डले यसै पोर्टल मार्फत सहयोग पु¥याउने छ ।
विदेशी लगानीकर्ता र कामदारहरूको लागि भिसा तथा रोजगार अनुमति सिफारिस गर्ने कार्यलाई समेत यसै प्रणालीमा समेटिएको छ । बोर्डले सार्वजनिक–निजी साझेदारी (पिपिपी) तथा लगानी ऐन, २०७५ को प्रावधान अनुसार विदेशी लगानीका आयोजनाहरूलाई स्वदेशी उद्योग सरह नै समान व्यवहार गर्ने पनि स्पष्ट पारेको छ । लगानीकर्ताले यो सेवा प्रयोग गरेबापत कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन भने उनीहरूको सम्पूर्ण विवरण र कागजातहरू प्रचलित कानुन बमोजिम गोप्य राखिने प्रतिबद्धता व्यक्त गरिएको जनाएको छ । 
नयाँ लगानीकर्ताहरूले प्रणालीमा दर्ता भई ‘नो योर इन्भेस्टर’ (केवाइआई) फारम भरेर सेवा लिन सक्नेछन् । यस क्रममा कुनै प्राविधिक समस्या आए बोर्डको इमेल वा सिधै फोन सम्पर्क गरी सहयोग लिन सकिने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय