नेभिगेशन
विश्व

‘राजकुमारी’ कि शक्ति प्रदर्शन ?

यतिबेला कुनै ठूलो घोषणा वा ठूला काम देखाउनु पर्दा उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नी छोरीलाई पनि सँगै साथ लगिरहेका हुन्छन् । अनि, छोरी किम जू एले त्यस्ता सार्वजनिक समारोहमा जे जस्ता पहिरन लगाउने गरेकी छन्, प्रायः त्यस्ता पहिरन उत्तर कोरियामा लगाउनु ‘विद्रोह’ र ‘समाजवाद विरोधी’ काम हुने गर्छ ।
तर त्यस्तै फेशनमा देखिने गरेकी छन्, किम जोङ उनकी छोरी किम जू ए । उनका पछिल्ला तस्वीरहरूमा उनी पश्चिमा विलासी पोशाकमा देखिने गरेकी छन् तर केही विश्लेषकहरु भने यसलाई ‘राजकुमारी’ जू एको किशोरावस्थाको विद्रोहभन्दा बढी सम्भावित उत्तराधिकारीका रूपमा तयार पारिँदैछ भन्ने संकेत दिइएको बताउँछन् ।
सन् २०१३ मा जन्मिएकी जू ए पहिलोपटक नोभेम्बर २०२२ मा मात्र नौ वर्षको उमेरमा सार्वजनिक रूपमा देखिएकी थिइन् । त्यस बेला उनी आफ्ना पिता किम जोङ उनसँग एउटा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल अगाडि हिँड्दै गरेको देखिएकी थिइन् । त्यहाँ उनको प्रस्तुति निकै प्रभावशाली थियो ।
त्यसपछि उनको पहिरन झन्–झन् पश्चिमा शैलीतर्फ ढल्कदै गएको देखिन्छ । सन् २०२० मा उत्तर कोरियाले ‘रिएक्शनरी आइडियोलोजी एन्ड कल्चर रिजेक्शन एक्ट’ लागू गर्दै बाह्य संस्कृतिमा प्रतिबन्ध लगाएको थियो । तर २०२३ मा आइपुग्दा जू ए फेरि आफ्ना पितासँग मिसाइल अगाडि देखिइन् । त्यहाँ उनले करिब १९ सय डलर मूल्य पर्ने फ्रान्सेली ब्रान्ड क्रिस्टियन डायरको ज्याकेट लगाएकी थिइन् ।
त्यसपछि अर्को वर्ष प्योङयाङमा एक आवासीय क्षेत्र उद्घाटन समारोहमा उनको पोशाकलाई राज्यसम्बन्धी भाषणमा ‘एन्टी–सोसलिस्ट’ भनिएको थियो । त्यसले शासनलाई कमजोर बनाउने चेतावनी दिइएको थियो ।
यद्यपि अहिले केही मानिसहरूले जू एको शैली नक्कल गर्न चाहेको बताइएको छ । विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा विदेश गएका कामदारहरूमार्फत बाह्य संस्कृति भित्रिँदै गएको छ । विशेष गरी कोभिड–१९ महामारीपछि चीनबाट फर्किएका कामदारहरूले नयाँ सांस्कृतिक प्रभाव ल्याएका छन् ।
पहिले विलासी सामान मुख्यतः जापानी ब्रान्डमा सीमित थियो । अहिले भने उत्तर कोरियालीहरू विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डबारे जानकार हुँदै गएका छन् । 
विश्लेषकहरूका अनुसार जू ए आफ्नो परिवारकी पहिलो फेसन आइकन भने होइनन् । उनको पहिरन उनकी आमा री सोल जूसँग मिल्दोजुल्दो बनाइएको छ । यसले उनको उमेर लुकाएर परिपक्व छवि निर्माण गर्ने रणनीतिलाई देखाइरहेको केहीको दाबी छ । सामान्य नागरिकले यस्तो पश्चिमी फेसन अपनाउनु उत्तर कोरियामा लगभग असम्भव मानिन्छ ।
विज्ञहरू भन्छन्, ‘पश्चिमा डिजाइनका लुगा प्रयोग गरेर जू ए र उनकी आमाले आफूलाई साधारण जनताभन्दा फरक र विशेष देखाउने सन्देश दिन्छन् । यो उनीहरूको विशेषाधिकारको संकेत हो ।’
यससँगै, फेसनमार्फत ‘इमेज रिप्लिकेशन’ अर्थात् अघिल्ला पुस्ताको छवि दोहो¥याउने रणनीति पनि प्रयोग भइरहेको देखिन्छ । जस्तै, किम जोङ उनले आफ्ना प्रारम्भिक दिनमा आफ्ना हजुरबुवा किम इल सुंगजस्तै टोपी र कोट अपनाएका थिए ।
उत्तर कोरियामा किम इल सुङलाई लगभग देवताको रूपमा हेरिन्छ । त्यसैले उनको परिवारप्रति पनि जनताको विशेष भावनात्मक सम्बन्ध छ । यही सन्दर्भमा जू एलाई ‘राजकुमारी’ भनेर सम्बोधन गरिनु पनि वंशीय निरन्तरताको संकेत मानिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्