नेभिगेशन
शिक्षा

स्कूल क्याम्पस छन्, छैनन् विद्यार्थी

शिक्षकहरू जागिर छाड्दै, विदेश जाँदै

बैतडी । जिल्लामा ५ सय ५० वटा शैक्षिक संस्था भए पनि गुणस्तरीय शिक्षा र प्राविधिक विषयको अभावका कारण विद्यार्थी अध्ययनका लागि जिल्लाबाहिर जाने हुँदा शिक्षाविद्हरू चिन्तित भएका छन् ।
बैतडीमा ५ सय ३४ सरकारी विद्यालयमध्ये कक्षा १२ सम्म पढाइ हुने ६७ मावि छन् । स्नातक तहका क्याम्पस १२ वटा र स्नातकोत्तर तहसम्म पढाइ हुने दुई वटा क्याम्पस भए पनि अध्ययन गर्ने विद्यार्थी भने छैनन् । उनीहरू काठमाडौं, धनगढी र महेन्द्रनगरजस्ता सहरमा जान थालेका छन् । त्यसो हुँदा जिल्लाको शिक्षा क्षेत्रका हुने लगानी खेर जान चिन्ता बढ्न थालेको छ ।
विद्यार्थी नहुँदा दशरथ चन्द नगरपालिका–४, जर्गौस्थित शिवस्थली माविबाट यो वर्ष दुई जना विद्यार्थी मात्रै एसईई परीक्षामा सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीको तथ्यांकअनुसार शैक्षिक सत्र २०८१ को तुलनामा २०८२ मा सात हजार ८ सय ५४ विद्यार्थी घटेका छन् । अघिल्लो वर्ष २०८१ मा जिल्लामा करिब ७० हजार विद्यार्थी अध्ययनरत रहेकोमा २०८२ मा आइपुग्दा यो संख्या घटेर ६२ हजारमा झरेको छ ।
तथ्यांक अनुसार उच्च माध्यमिक तहमा ठूलो संख्यामा विद्यार्थी घटेका छन् । २०८१ को तुलनामा २०८२ मा चार हजार २ सय २१ विद्यार्थी घटेको पाइएको छ । विद्यार्थीको संख्या बर्सेनि घट्ने क्रममा रहेको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी रामचन्द्र भट्ट बताउँछन् । ‘२०८१ मा बैतडीका माविमा ९ कक्षादेखि १२ सम्म १५ हजार ४ सय १४ विद्यार्थी रहेकोमा २०८२ मा आइपुग्दा ११ हजार १ सय ९३ विद्यार्थी अध्ययनरत छन् । एक वर्षमै मावि तहमा चार हजार २ सय २१ विद्यार्थी घटेका छन्,’ उनले भने ।
जिल्ला सदरमुकामस्थित दशरथ चन्द नगरपालिका–४ को गोठालापानी र शाहीलेक क्षेत्रको एक किलोमिटरमा दुई वटा क्याम्पस सञ्चालनमा भए पनि विद्यार्थी भने न्यून छन् । बैतडी सदरमुकाममा रहेको जिल्लाकै पुरानो जगन्नाथ बहुमुखी क्याम्पस, गोठलापानीमा दुई सय विद्यार्थी भर्ना भए पनि नियमित अध्ययन गर्ने एक सय जना विद्यार्थी रहेको क्याम्पस प्रमुख डा. सुरेन्द्र वमले बताए । ‘कक्षा १२ सम्मको पढाइ हुने विद्यालयमै विद्यार्थी नभएपछि क्याम्पसमा विद्यार्थी घट्दै गएका छन् । क्याम्पस पढ्ने विद्यार्थी खोज्न हामीले २०८२ को पुस र माघ महिनामा घरदैलो अभियान सञ्चालन गर्दा पनि विद्यार्थी भेटिएन,’ बलले भने ।
जिल्लाको गोकुलेश्वर क्षेत्रमा सेटीगाउँ बहुमुखी क्याम्पस, कृषि क्याम्पस, सिगस क्षेत्रमा सिगास शिक्षा क्याम्पस, हाटमा पुर्चौडी बहुमुखी क्याम्पस छन्, तर विद्यार्थी छैनन् । २०४२ सालमै स्थापना भएको जिल्लाको पुरानो पाटन बहुमुखी क्याम्पसमा १ सय ३९ जना विद्यार्थी छन्, जसमा स्नातक तहको शिक्षा संकायमा ८६ जना, मानविकीमा २० र व्यवस्थापनमा ३३ जना विद्यार्थी छन् ।
त्यसैगरी श्रीकोट बहुमुखी क्याम्पस, दोगडाकेदार, मणिलेक बहुमुखी क्याम्पस मेलौली, नवप्रभात बहुमुखी क्याम्पस पञ्चेश्वरमा पनि क्याम्पस छन् । जिल्लाका आधारभूत र मावि तहमै शिक्षाको गुणस्तर र विद्यार्थी दुवै घटेपछि क्याम्पसमा विद्यार्थी संख्या नपुगेको जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक बमले बताउँछन् । उनले बैतडीका शैक्षिक संस्थामा राज्यको वार्षिक छदेखि सात अर्ब रुपियाँ लगानी भए पनि खास प्रतिफल नआएको जिकिर गरे ।
शिक्षकहरू जागिर छाड्दै, विदेश जाँदै
गुल्मी जिल्लामा पछिल्लो चार वर्षको अवधिमा १ सय ४२ शिक्षकले सेवा छाडेका छन् । चालू आर्थिक वर्षको हालसम्म मात्रै १८ शिक्षकले राजीनामा दिएको तथ्यांकले शिक्षण पेसाप्रति घट्दो आकर्षण र बढ्दो चुनौती उजागर गरेको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका अनुसार चालू आव २०८२÷८३ मा प्राथमिक तहका १४ जना, निम्न माध्यमिक तहका तीन जना र माध्यमिक तहका एक शिक्षकले राजीनामा दिएका छन् । गत चार वर्षको विवरण हेर्दा आव २०७९÷८० मा ३८ जना, आव २०८०÷८१ मा ५२ जना, आव २०८१÷८२ मा ३४ जना र चालू वर्षमा १८ जना शिक्षकले राजीनामा दिएका छन् । यससँगै कुल संख्या १ सय ४२ पुगेको हो । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार पछिल्लो समय शिक्षण पेसाप्रति आकर्षण घट्नु र वैदेशिक रोजगारीतर्फको बढ्दो आकर्षण मुख्य कारणका रूपमा देखिएको छ । ‘राजीनामा दिनेमध्ये करिब आधा वैदेशिक रोजगारीमा जाने गरेका छन्,’ उनले भने ।
शृंगेश्वर तपोभूमि आधारभूत विद्यालयबाट राजीनामा दिएका शिक्षक नारायणप्रसाद पोखरेलले शिक्षणप्रति घट्दो रुचि, न्यून विद्यार्थी संख्या र लामो समयसम्म एउटै पेसामा रहँदा उत्साह कम हुनु जस्ता कारणले सेवा छाड्नु परेको बताए । विषयगत शिक्षक अभाव शिक्षक अभावको समस्या विशेष गरी गणित, अंग्रेजी र विज्ञान विषयमा देखिएको छ । मुसीकोट नगरपालिकामा माध्यमिक तहका गणित शिक्षकका लागि छ पटकसम्म विज्ञापन गर्दा मात्रै पदपूर्ति हुन सकेको थियो । त्यसै गरी अंग्रेजी विषयका लागि पनि पटक पटक विज्ञापनपछि मात्रै शिक्षक नियुक्ति सम्भव भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जनाए ।
उनका अनुसार ददल्का माविमा गणित शिक्षकका लागि तेस्रो प्रयासमा मात्रै नियुक्ति सम्भव भयो भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सीतापुर माध्यमिक विद्यालयमा विज्ञान विषयका राहत शिक्षकसमेत कठिनाइका बीच नियुक्त गर्नु परेको थियो ।
जिल्लामा हाल सामुदायिक, संस्थागत तथा प्राविधिक धारका गरी ५ सय ६५ विद्यालय सञ्चालनमा छन् भने विद्यार्थी संख्या करिब ५९ हजार ५ सय ३० रहेको छ । बालशिक्षादेखि कक्षा १२ सम्मका विद्यालयमा राहत र दरबन्दी गरी कुल दुई हजार ९ सय २६ शिक्षकको व्यवस्था भए पनि विषयगत शिक्षक अभाव र बढ्दो राजीनामाले शैक्षिक गुणस्तरमा असर पर्ने चिन्ता बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्