नेभिगेशन
विश्व

खाडी युद्ध २.० मा अमेरिकाका २.८ अर्बका हतियार बर्बाद

दोहा (अल जजिरा) । इरानसँगको युद्धमा अर्बौँ डलर बराबरका अमेरिकी सैन्य उपकरणहरू नष्ट भएको पाइएको छ । वासिङ्टन डिसीस्थित थिङ्क ट्याङ्क ’सेन्टर फर स्ट्रेटेजिक एण्ड इन्टरनेसनल स्टडिज’ (सीएसआईएस) का अनुसार अमेरिकाले २.८ अर्ब डलरसम्मका हवाई उपकरणहरू गुमाएको छ ।
गत मार्च २६ मा आयोजित मन्त्रिपरिषद् बैठकमा अमेरिकी रक्षामन्त्रीले इरानविरुद्धको युद्धमा प्राप्त सफलताको चर्चा गर्दै इतिहासमा कुनै पनि राष्ट्रको सेनालाई यति चाँडो र प्रभावकारी रूपमा निस्तेज पारिएको यो पहिलो घटना भएको दाबी गरेका थिए । तर, त्यसको भोलिपल्टै इरानले साउदी अरबस्थित अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र र ड्रोन आक्रमण ग¥यो । उक्त आक्रमणमा कयौँ अमेरिकी सैनिक घाइते भए भने ७० करोड डलर मूल्य पर्ने राडार निगरानी विमान नष्ट भयो ।
सीएसआईएसको गणना अनुसार इरानको आक्रमण र आफ्नै फौजको गल्तीका कारण (फ्रेन्डली फायर) अमेरिकाले हालसम्म २.३ अर्ब देखि २.८ अर्ब डलर बराबरका सैन्य उपकरण गुमाइसकेको छ । यो तथ्याङ्क फेब्रुअरी २८ बाट सुरु भएको युद्धमा अमेरिकी सैन्य क्षतिको पहिलो विस्तृत विवरण हो, जसलाई अल जजीराले पहिलो पटक सार्वजनिक गरेको हो । यसमा सैन्य आधार शिविरहरू, विशेष उपकरण वा नौसैनिक सम्पत्तिको क्षति भने समावेश गरिएको छैन ।


सीएसआईएसका वरिष्ठ सल्लाहकार मार्क कान्सियनका अनुसार खाडी क्षेत्रमा रहेका अमेरिकी आधार शिविरहरूको क्षतिको विवरण संकलन गर्न निकै चुनौतीपूर्ण देखिएको छ । अमेरिकी सरकारको आग्रहमा भू–उपग्रहबाट तस्बिर उपलब्ध गराउने ’प्लानेट ल्याब्स’ ले फेब्रुअरी २८ देखि नै सार्वजनिक प्रयोगका लागि तस्बिरहरू रोक्का गरेको छ । यद्यपि, इरानी भू–उपग्रहका तस्बिरहरू भने उपलब्ध छन् ।
युद्धका क्रममा भएका क्षतिहरूमध्ये केही आफ्नै फौजको गल्तीका कारण पनि भएका छन् । मार्चको सुरुतिर कुवेतमा भएको एउटा यस्तै घटनामा तीनवटा एफ–१५ जेट विमानहरू खसेका थिए । तर, अधिकांश क्षति भने इरानको निशानाका कारण भएको हो । मार्च १ मा अमेरिकाले थाड प्रणालीमा आधारित एउटा शक्तिशाली राडार गुमाएको थियो, जसको मूल्य ४८ करोड ५० लाख देखि ९७ करोड डलरसम्म पर्छ । त्यस्तै, मार्च २७ मा साउदी अरबको प्रिन्स सुल्तान एयरबेस भित्र ७० करोड डलर पर्ने कमान्ड सेन्टरका रूपमा काम गर्ने ई–३ अवाक्स विमान नष्ट भयो ।
दोहा इन्स्टिच्युट फर ग्रेजुएट स्टडीजका प्राध्यापक ओमार आशौरका अनुसार नोभेम्बरमा हुने चुनावका कारण ट्रम्प प्रशासनले अहिले नै आफ्नो सैन्य र मानवीय क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न चाहँदैन । उनले अमेरिकाको इतिहासमा सैन्य विजय प्राप्त गरे पनि रणनीतिक रूपमा असफल हुने गरेको उदाहरण दिँदै भियतनाम र अफगानिस्तानको प्रसङ्ग उल्लेख गरे । उनका अनुसार अहिलेको युद्धको राजनीतिक लक्ष्य इरानमा शासन परिवर्तन र निःशस्त्रीकरण गर्नु हो ।
कान्सियनका अनुसार इरानले अमेरिकी सैन्य आधार शिविर भएका खाडी मुलुकहरूमा पनि आक्रमण गरेर रणनीतिक गल्ती गरेको छ, जसले ती देशहरूलाई अमेरिकाको अझ नजिक ल्याएको छ । अर्कोतर्फ, सामुद्रिक मार्ग ’स्ट्रेट अफ हर्मोज’ खुला राख्न नसक्नु अमेरिकाका लागि ठुलो शिक्षा बनेको छ । इरानले युद्धको सुरुमै यस मार्गमा प्रतिबन्ध लगाएको थियो र पछि अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा घेराबन्दी गर्ने प्रयास गरेको थियो ।
यसैबीच, प्राध्यापक आशौरले युद्धका कारण इरानको सैन्य संरचनामा ठुलो क्षति पुगे पनि उसका क्षेप्यास्त्र, गोलाबारुद र ड्रोन शक्ति पूर्ण रूपमा नष्ट नभएको बताएका छन् । इरानी नौसेना ध्वस्त भएको भन्ने दाबीमा सत्यता नरहेको र इरान अझै पनि समुद्री युद्धमा लड्न सक्षम रहेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व