नेभिगेशन
प्रदेश
रिंकुकुमारी हत्या प्रकरण

जनप्रतिनिधिसहित १४ जनालाई कैद सजाय

अपराधलाई प्रश्रय दिएको र कानुनी प्रक्रियामा बाधा पु-याएको ठहर गर्दै वडासदस्य साहलाई थप ६ महिना कैद सजाय

सिरहा । एक किशोरीमाथि बलात्कार र हत्याको घटनामा १४ जना दोषी ठहर भएका छन् । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र त्यसपछिको शंकास्पद मृत्युसम्बन्धी घटनामा सिरहा जिल्ला अदालतले फैसला सुनाएको हो । 
मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले वडासदस्यसहित १४ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको अदालतका सूचना अधिकारी राधेश्याम यादवले बताए । बलात्कारमा संलग्न, सहयोगी र घटना लुकाउन पञ्चायती गर्नेहरूलाई अदालतले फरक–फरक सजाय तोकेको छ । 
घटना लुकाउन पञ्चायती गर्ने वडासदस्य नथुनी साह, रामकृपाल मण्डल, विन्देश्वर साह र रामदेव सदायसहितका प्रतिवादीहरूलाई मुलुकी अपराध संहिताबमोजिम जनही आठ महिना कैद र रु सात हजारका दरले जरिवानाको फैसला सुनाएको छ । जनप्रतिनिधि भए पनि अपराधलाई प्रश्रय दिएको र कानुनी प्रक्रियामा बाधा पु¥याएको ठहर गर्दै वडासदस्य साहलाई भने थप ६ महिना कैद सजाय तोकिएको छ ।
त्यसैगरी, घटनामा प्रत्यक्ष संलग्न रहेका तीन नाबालकलाई पनि अदालतले दोषी ठहर गरेको छ । न्याय निरूपणका क्रममा अदालतले पीडित परिवारको क्षतिपूर्तिलाई प्राथमिकतामा राखेको छ । जसअनुसार, दोषी ठहरिएका प्रतिवादीहरूबाट जनही रु ३५ हजारका दरले पीडितको हकवालालाई क्षतिपूर्ति भराउनुका साथै तोकिएको थप क्षतिपूर्ति शुल्कसमेत बुझाउनुपर्ने आदेश गरेको छ । 
२०८१ माघ २७ को राति शौच गर्न घरबाहिर निस्केकी रिंकुलाई स्थानीय तीन जना युवकले नियन्त्रणमा लिई सामूहिक बलात्कार गरेका थिए । पीडा र चोटका साथ भोलिपल्ट बिहान ३ बजे घर आइपुगेकी रिंकुले आफ्नी आमालाई घटनाबारे जानकारी गराएकी थिइन् । तर, यो जघन्य अपराधलाई प्रहरीसम्म पुग्न नदिई गाउँमै गुपचुप राख्ने प्रयास गरिएको थियो । 
घटनाको भोलि र पर्सिपल्टअर्थात् माघ २९ र ३० गते स्थानीय वडासदस्य नथुनी साहको रोहवरमा दुई पटक ‘पञ्चायती’ बस्यो । पञ्चायतीले दोषीहरूलाई रु एक लाख ५१ हजार जरिवाना तिराएर घटना सामसुम पार्ने निर्णय गरेको थियो । तर, जरिवानाको रकम बाँडफाँटमा विवाद भएपछि कुरा मिलेन । सोही दिन (माघ ३० गते) रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । बाहिरबाट ढोका बन्द भएको अवस्थामा शव भेटिएकाले उनको मृत्युलाई सुरुदेखि नै शंकास्पद मानिएको थियो । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्