नेभिगेशन
प्रदेश

समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्रीले किसान खुसी

टीकापुर (कैलाली) । कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका छन् । 
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि कैलालीको टीकापुरमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले  टीकापुरको किसान तथा कृषिसम्बन्धी सहकारीबाट खरिद थालेको हो । यसअघि मंगलबारदेखि धनगढीको मोहनपुरबाट पनि गहुँ खरिद सुरु गरिएको थियो । 
सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ खरिद सुरु गरिएको प्रादेशिक कार्यालय धनगढीका वरिष्ठ सहायक पुष्पराज बजगाईंले जानकारी दिए । ‘सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ९४५ रुपैयाँ छ । खाद्य कम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति क्विन्टल ४ हजार २५० रुपैयाँमा गहुँ खरिद गर्न लागेको छ,’ उनले भने । समर्थन मूल्यभन्दा बढी रुपैयाँमा गहुँ बेच्न पाएकामा किसान खुसी भएका छन् । गहुँ बेच्न खाद्य गोदाम टीकापुर पुगेका योगेन्द्र साउँदले अन्य ठाउँकोभन्दा खाद्यमा गहुँ बेच्दा मूल्य बढी पाएको बताए । 
‘केही किसानले सस्तोमा यसअघि नै गहुँ बेचिसकेका छन्,’ उनले भने,  ‘हामीले भने राम्रो मूल्य पायौं ।’
जोशीपुर–६ महादेवाका क्रिमलाल डगौरा पनि खाद्यमा गहुँ बेच्न पाउँदा खुसी छन् । ‘तोकेकोभन्दा बढी मूल्य पाइयो,’ उनले भने, ‘सरकारले समयमै मूल्य तोक्ने र खरिद कार्य पनि समयमै गर्नुपर्छ ।’
गाउँका केही किसानले गहुँ बिक्री गरिसकेकाले आउँदा दिनमा समयमै खरिद कार्य सुरु गर्न सुझाव दिन्छन् । अर्का किसान रमेश चौधरी खेतको उत्पादनले नै बालबालिकालाई कापीकिताब जोहो गर्नुपर्ने भएकाले खेतबाटै गहुँ बिक्री गरिसकेको बताउँछन् । यहाँका किसान खेतबारीको उत्पादन बेचेर घरखर्च, बर्खे खेतीका लागि बीउ र मल जोहो गर्दछन् । सरकारले आउँदा दिनमा हरेक कार्य किसानलाई राहत हुनेगरी गर्नुपर्ने उनीहरुको भनाइ छ । 
खाद्य कम्पनीको कैलालीबाट १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य छ । प्रति किसान बढीमा ७० क्विन्टल र कृषिसम्बन्धी सहकारीबाट प्रति सहकारी बढीमा ५०० क्विन्टलसम्म गहुँ खरिद गर्ने योजना खाद्यको हो । यसका साथै यस क्षेत्रका बिज वृद्धिको काम गर्ने सहकारीले समर्थन मूल्यभन्दा बढीमा किसानको गहुँ खरिद गर्ने गरेका छन् । तोकेकोभन्दा बढी मूल्य पाउँदा किसानलाई कृषिकर्म गर्न हौसला मिलेको छ । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश