महोत्तरी, १९ भदौ - विद्यालयमा दिइएको दिवा खाजामा मरेको छेपारो फेला परेपछि एकैचोटी ८५ जना विद्यार्थी अस्पताल भर्ना भएका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ रतौलीस्थित आदर्श माध्यमिक विद्यालयमा बिहीबार दिउँसो दिइएको सुजीको हलुवामा छेपारो परेको सूचना पाएपछि अभिभावकको चासो र आक्रोशबीच विद्यार्थीहरूलाई जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको हो ।
एक विद्यार्थीले आफ्नो थालमा छेपारो देखेपछि खाजा नखाई घर फर्केर अभिभावकलाई जानकारी गराएका थिए । पछि अन्य विद्यार्थी र अभिभावकले पनि खाजामा अस्वाभाविक गन्ध आएको तथा केहीले वाकवाकी लागेको बताएपछि तत्कालै ८५ जनालाई अस्पताल लगिएकोे जानकारी छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामनारायण महतोका अनुसार हालसम्म कुनै विद्यार्थीमा गम्भीर समस्या देखिएको छैन । सुरक्षाका लागि सबैलाई स्वास्थ्य परीक्षणमा लगिएको हो । घटना सार्वजनिक भएसँगै विद्यालयमा अभिभावक आक्रोशित बनेका थिए ।
केही अभिभावकले प्रधानाध्यापक दिनेश दासमाथि आक्रोश पोख्दै चप्पल प्रहार गरेका थिए भने विद्यालयमा सामान्य तोडफोड पनि भएको थियो । स्थिति तनावपूर्ण बनेपछि इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले अवस्था नियन्त्रणमा लिएको थियो ।
अभिभावकहरूले विद्यालय प्रशासनको लापरवाहीका कारण बालबालिकाको स्वास्थ्य जोखिममा परेको भन्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन् । उनीहरूले विद्यालय प्रशासन र खाजाको व्यवस्थापन गर्ने पक्षप्रति प्रश्न उठाउँदै विद्यालय परिसरमै विरोध जनाएका छन् ।
सरकारी पोषण कार्यक्रमअन्तर्गत सञ्चालित दिवा खाजा कार्यक्रमअन्तर्गत दिइएको खाजामा यति ठूलो लापरवाही देखिनु गम्भीर विषय भएको अभिभावकहरूको भनाइ छ । पिपरा गाउँपालिकाका शिक्षा शाखाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
यस घटनाले विद्यालयमा सञ्चालित पोषण कार्यक्रमहरूको गुणस्तर र निगरानी प्रणालीबारे प्रश्न उठाएको छ । अभिभावक र सर्वसाधारणले यस्ता कार्यक्रममा पारदर्शिता, जवाफदेहिता र नियमित अनुगमनको माग गरेका छन् ।