सुनसरी, १९ भदौ - सुनसरीको झुम्का कारागारमा ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने लक्षणसहितको रोग फैलिँदा तीनजना कैदीबन्दीको ज्यान गएको छ भने दर्जनौं बिरामी परेका छन् । रोग फैलिन थालेपछि १९ जना बिरामीलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।
मृत्यु हुनेहरूमा जबर्जस्ती करणी मुद्दामा सजाय काटिरहेका सप्तरी, राजविराज वडा नम्बर ८ का ४६ वर्षीय जलेश्वर यादव, कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भोगिरहेका सुनसरी गढी गाउँपालिका वडा नम्बर ६ का ४८ वर्षीय रामदेव उराँव र लागुऔषध मुद्दामा पुर्पक्षमा रहेका धरान–१० का २४ वर्षीय सागर राई छन् ।
झुम्का कारागारका निमित्त प्रमुख राम निरौलाका अनुसार बिरामीको संख्या अचानक बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीसँग समन्वय गरी बुधबार रातिदेखि कैदीबन्दीको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । प्रारम्भमा ६ जनालाई अस्पताल पठाइए पनि अवस्था गम्भीर देखिएपछि थप १३ जनालाई पनि उपचारका लागि बीपी प्रतिष्ठान पठाइएको हो ।
बुधबार रातिदेखि सुरु गरिएको स्वास्थ्य परीक्षणअन्तर्गत अहिलेसम्म तीन सय ५३ जना कैदीको परीक्षण गरिएको छ । परीक्षणमा संलग्न चिकित्सक टोलीमा जिल्ला अस्पताल सुनसरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र इटहरीको वेदान्त अस्पतालका विशेषज्ञहरू सहभागी छन् ।
जिल्ला अस्पताल सुनसरीकी अस्पताल म्यानेजर बालकुमारी तामाङका अनुसार अधिकांश बिरामीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने लक्षण देखिएको छ । प्रारम्भिक परीक्षणपछि मात्र यसको कारण र रोग पहिचान हुने जानकारी उनले दिइन् ।
कैदीहरूको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रँदै जानु र छोटो समयमा तीन जनाको मृत्यु हुनु गम्भीर संकेत भएको अधिकारकर्मीहरू बताउँछन् । झुम्का कारागारमा हाल १७ सय ९४ जना कैदीबन्दी छन् । उनीहरूमध्ये अधिकांश दीर्घकालीन सजाय भोगिरहेका छन् ।
यस घटनाले जेल भित्रको स्वास्थ्य सेवा, सरसफाइ, पोषण तथा आकस्मिक व्यवस्थापनको अवस्था र सरकारी निगरानी प्रणालीमाथि प्रश्न उठाएको छ । स्वास्थ्यकर्मीहरूको टोलीले परीक्षण जारी राखेको छ भने कारागार प्रशासनले थप सतर्कता अपनाएको जनाएको छ ।