नेभिगेशन
अर्थतन्त्र

भिस्याट र अन्य प्रविधिमार्फत दुर्गममा टेलिकमको सेवा

काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न विकट तथा दुर्गम स्थानहरूमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल तथा भिस्याट टेलिसेन्टर उपकरण जडान गरी टुजी प्रविधिमा आधारित जीएसएम मोबाइल, टेलिफोन र डाटा सेवा प्रदान गर्दै आएको छ ।
चालु आर्थिक वर्ष २०८२÷८३ मा डोल्पा जिल्लाको उपल्लो डोल्पास्थित कान्छो गाउँ कुगाउँ तथा निजाल, च्छो–रोल्पा पदमार्ग रहेको दोलखाको ना–गाउँ र गोसार्इंकुण्ड पदमार्ग रहेको रसुवाको चन्दनबारी गरी चार स्थानमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल सेवा विस्तार गरिएको हो ।
हाल नेपाल टेलिकमले यस्ता विभिन्न ३८ स्थानमा यो प्रविधिबाट मोबाइल सेवा प्रवाह गरिरहेको छ । यो प्रविधिका सबैभन्दा बढी अर्थात् १४ साइट डोल्पा जिल्लामा छन् । डोल्पाको छार्का–ताङसोङ, छार्का, धो, घुन्सापास, कलाङ, मुकोट, निजाल, फोक्सुन्डो, साल्दाङ, सिम्बाडाँडा, सिमेन्कोमास, तिन्जे, भिजेर र कुगाउँमा यी साइट रहेका छन् । हुम्लाको गोठी, राया, रोडीकोट, श्रीनगर र श्रीमस्ठ तथा मुगुको मुगुगाउँ, पुलु, रारा (मुर्मा), सोरुकोट र भी गरी पाँच÷पाँच स्थानमा साइट रहेका छन् । 
यसैगरी मनाङको भिमथाङ, फु र नार, दोलखाको बेदिङ र ना–गाउँ (च्छो–रोल्पा), ताप्लेजुङको घुन्सा र ओलाङचुङगोला, सोलुखुम्बुको गोरक्छेप र मोन्जु, रसुवाको गोसाईंकुण्ड र चन्दनबारी तथा दार्चुलाको टिंकर, बाजुराको बिच्छा र जुम्लाको गुठीचौरमा यस्ता साइट रहेका छन् । 
नेपाल टेलिकमले सहरी र सुगम क्षेत्रमा मात्र नभई भौगोलिक हिसाबले देशभरका अत्यन्त विकट तथा जनसंख्याको कोणबाट निकै कम मानिसहरू रहने दुर्गम वस्तीहरूमा सेवा उपलब्ध गराउनका लागि भिस्याट प्रविधिको प्रयोग गरेको छ । यस्ता दुर्गम बस्तीहरूमा सेवा उपलब्ध गराउनका लागि कम्पनीले हेलिकप्टरबाट उपकरण र सामानहरू ओसारेर समेत दूरसञ्चार सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र