नेभिगेशन
शिक्षा

कान्तिपुर सिटी कलेजमा बीटेक एआर्ई

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयसँग आबद्ध कान्तिपुर सिटी कलेज (केसीसी) ले मुलुकको शैक्षिक आवश्यकता र विश्वव्यापी प्रविधि विकासलाई ध्यानमा राख्दै प्राविधिक शिक्षातर्फ बीटेकमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रम सुरु गरेको छ । कलेजले नेपालमै पहिलो पटक स्नातक तहमा एआई कार्यक्रम सुरु गरेको जनाएको हो ।

कलेजका अनुसार यस कार्यक्रमले विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता सम्बन्धी गहिरो ज्ञान, अनुसन्धान र व्यावहारिक सीप प्रदान गर्नेछ । पाठ्यक्रममा मेसिन लर्निङ, डीप लर्निङ, डाटा साइन्स, न्याचुरल ल्याङ्ग्वेज प्रोसेसिङ, कम्प्युटर भिजन, रोबोटिक्स लगायत विषय एआई कोर्समा समावेश गरिएको छ । प्रत्येक सेमेस्टरमा एआईका परियोजना, अनुसन्धान गर्ने शिक्षा दिइने र अन्तिम वर्षमा कैपस्टोन परियोजना अनिवार्य रहने व्यवस्था गरिएको कलेजले उल्लेख गरेको छ । 

बीटेक इन एआईको मार्गचित्रबारे जानकारी दिन कलेजले बंगलादेशको ढाका विश्वविद्यालयका प्राध्यापक डा.मोइनुल इस्लाम जाबेरको विशेष उपस्थितिमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा नेपालमा एआईको शैक्षिक दायरा, अनुसन्धान सम्भावना र डिजिटल अर्थतन्त्रमा यसको भूमिकाबारे छलफल भएको कलेजले जनाएको छ ।

कार्यक्रमले कृषि, स्वास्थ्य, शिक्षा, वित्त र यातायातजस्ता क्षेत्रमा एआईमा आधारित समस्या समाधान विकास गर्न सक्ने प्राविधिक विशेषज्ञ तयार गर्नेछ । यसले युवालाई विदेश पलायनबाट रोक्दै स्वदेशमै उच्चस्तरीय अध्ययन गर्ने अवसर दिलाउने अपेक्षा गरिएको छ ।

बीटेक इन एआई कार्यक्रमका लागि शैक्षिक सत्र २०२५ का लागि भर्ना खुला गरिएको कलेजले जनाएको छ । भर्ना योग्यता १२ उत्तीर्ण वा सो सरह तोकिएको छ ।  सूचना प्रविधि, इन्जिनियरिङ, व्यवस्थापन र सञ्चार–पत्रकारिता क्षेत्रमा विगत २५ वर्षदेखि शिक्षा प्रदान गर्दै आएको कान्तिपुर सिटी कलेजले हालसम्म १० हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्