नेभिगेशन
अर्थतन्त्र

फाइभजी ल्याउन फोरजी विस्तार जरुरी

काठमाडौं । मुलुकमा नयाँ पुस्ताको नेटवर्क फाइभजीमा जानुअघि फोरजी नेटवर्कको विस्तार महत्त्वपूर्ण भएको सरोकारवालाले बताएका छन् । प्रविधि पत्रकार मञ्च र हुवावे नेपालले संयुक्त आयोजनामा भएको ‘टेक फर्वार्डः मिडिया डायलग २०२६’मा यस्तो भनाइ आएको हो । 
हात्तिसारस्थित हुवावे टावरमा आयोजित कार्यक्रममा सहभागीले डिजिटल रूपान्तरण, एआईको प्रभावबारे पनि बहस गरे । छलफलमा नेपालमा मोबाइल इन्टरनेटको पाँचौँ पुस्ता, फाइभजी सञ्चालनको सम्भावना, चुनौती र आवश्यकताबारे व्यापक चर्चा गरिएको छ । 
फाइभजी सुुरु गर्न फोरजीको पूर्वाधार विस्तार किन महत्त्वपूर्ण भएको चर्चा गरियो । नेपालजस्ता देशमा तुरुन्तै स्ट्यान्ड–अलोन फाइभजी पूर्वधार विकास गर्न लगानी, भौगोलिक जटिलताजस्ता कारणले कठीनाइ हुने औँल्याउँदै विज्ञहरूले नन–स्ट्यान्ड अलोन प्रविधि विकल्प हुने उल्लेख गरे । नन–स्ट्यान्ड अलोन भनेको फोरजीकै पूर्वाधारमा फाइभजीका उपकरण राखेर सेवा विस्तार गर्ने विकल्प हो । यसमा फाइभजी सेवा दिँदा छुट्टै नयाँ कोर नेटवर्क बनाइँदैन। बरु, अहिले भइरहेको फोरजी एलटीईको कोर नेटवर्क र पूर्वाधारलाई नै आधार मानिन्छ । यसले गर्दा फाइभजीका लागि फोरजी विस्तार महत्वपूर्ण रहेको विज्ञहरूको भनाइ थियो । विश्वमा पहिलो चरणमै थ्रीजी भित्र्याउन सफल नेपाल फाइभजीमा भने सुस्त देखिएको सहभागीहरूले बताए । नियामक नेपाल दुरसञ्चार प्राधिकरण र दूरसञ्चार सेवा प्रदायक र सरकारको आपसी सामञ्जस्यता नहुँदा फाइभजीमा ढिलाइ भइरहेको धेरैको बुझाइ थियो ।
कार्यक्रममा हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेन केयाङ (चेस्टर) ले नेपालमा प्रविधि क्षेत्रको विकासका लागि आफू उत्साहित रहेको बताए । पर्याप्त दक्ष जनशक्ती भए पनि आईसीटी विकासमा नेपाल छिमेकी देशहरूभन्दा अलि पछाडि रहेको उनले औँल्याए । ‘यो अवसर पनि हो, किनभने अन्य देशको तुलनामा यहाँ सुधार गर्ने ठाउँ धेरै छन्,’ उनले भने, ‘नेपालमा दूरसञ्चार क्षेत्रको दिगो र अर्गानिक वृद्धिलाई जोड दिनुपर्छ । यसका लागि नियामक, सरकार, टेलिकम अपरेटर, हुवावे र मिडिया सबैको संयुक्त प्रयास महत्त्वपूर्ण हुन्छ ।’ एउटा मात्र पक्षको विकासले समग्र उद्योग सबल बन्न नसक्ने उनले उल्लेख गरे ।  
टीजेएफका अध्यक्ष पूर्ण दुवालले प्रविधि पत्रकारिताको वर्तमान अवस्था र भविष्यबारे प्रकाश पारे । उनले डिजिटल रूपान्तरणसँगै मिडियामा आएको परिवर्तन, तथ्यपरक र उत्तरदायी पत्रकारिताको आवश्यकता तथा प्रविधि पत्रकारहरूको क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए । ‘आजको युगमा प्रविधि र मिडिया एकअर्काका पूरक बनिसकेका छन्,’ उनले भने, ‘सही सूचना प्रवाह र डिजिटल साक्षरता अभिवृद्धिका लागि प्रविधि पत्रकारिताको भूमिका झनै महत्वपूर्ण बन्दै गएको छ ।’ 
कार्यक्रममा एआई, डेटा सेन्टर, फाइभजी, नविकरणीय ऊर्जा, मोबाइल ब्रोडब्यान्डजस्ता विषयमा प्रस्तुतीकरण तथा संवाद गरिएको थियो । हुवावे इन्टरप्राइजेजका निर्देशक प्रदीप पन्हुरले ‘एआई ट्रेन्ड्स एन्ड इन्टरप्राइज सोलुसन्स’ विषयमा प्रस्तुतीकरण गर्दै व्यावसायिक क्षेत्रमा एआई प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गरे । एआईको प्रयोगले उत्पादकत्व वृद्धि, लागत व्यवस्थापन र निर्णय प्रक्रियामा सुधार ल्याउने बताए ।
त्यस्तै, डेटा सेन्टर विज्ञ रोहितचन्द्र शाहले ‘नेक्स्ट जेन डेटा सेन्टर सोलुसन फर एक्सिलरेटिङ डिजिटलाइजेसन’ विषयमा प्रस्तुतीकरण गरे । उनले डिजिटल अर्थतन्त्रमा डेटा सेन्टरको महत्वबारे चर्चा गरे । बढ्दो डिजिटल डेटा व्यवस्थापनका लागि सुरक्षित, दिगो र उच्च क्षमताका डेटा सेन्टर आवश्यक रहेको बताए । त्यसैगरी, प्रभात रेग्मीले ‘फाइभजी ट्रेन्ड एन्ड इन्नोभेसन’  शीर्षकमा प्रस्तुतीकरण गर्दै फाइभजी प्रविधिले सञ्चार, उद्योग तथा सेवा क्षेत्रमा ल्याउने परिवर्तनबारे विस्तृत जानकारी दिए । उनले फाइभजी को प्रयोगले स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्स (आईओटी), अटोमेसन तथा डिजिटल सेवाहरूलाई नयाँ उचाइमा पु¥याउने बताए ।
कार्यक्रममा सहभागीहरूले प्रविधि र मिडियाबीचको सम्बन्ध, डिजिटल रूपान्तरणका चुनौतीहरू तथा अवसरहरूबारे अन्तरक्रिया गरेका थिए । विशेषगरी डिजिटल युगमा तथ्यपरक सूचना सम्प्रेषण, साइबर सुरक्षा, डेटा गोपनीयताजस्ता विषयमा सहभागीहरूले जिज्ञाशा राखेका थिए । 
कार्यक्रममा टीजेएफका उपाध्यक्ष गणेश सुवेदीले प्रविधि र मिडियाबीच सहकार्य बढाउन, प्रविधि पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न तथा डिजिटल साक्षरता विस्तार गर्न आवश्यक रहेको औँल्याए । ‘यस्ता कार्यक्रमहरूले ज्ञान आदान–प्रदान मात्र नभई नयाँ सहकार्यका अवसरहरू पनि सिर्जना गर्छन्,’ उनले भने, ‘यसले समग्र डिजिटल इकोसिस्टमलाई सुदृढ बनाउन सहयोग पु¥याउँछ ।’
हुवावे नेपालका कर्पोरेट अफेयर्स म्यानेजर असित अधिकारीले विगत २७ वर्षदेखि हुवावेले नेपालमा निरन्तर सेवा दिँदै आएको बताए । उनका अनुसार, हाल विश्वका १७० भन्दा धेरै देशमा सेवा प्रदान गर्दै हुवावले करिब २ लाख ७ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । ‘हाम्रो उद्देश्य व्यापारिक मात्र होइन, सामाजिक र संस्थागत उत्तरदायित्वका क्षेत्रहरूमा पनि योगदान पु¥याउनु हो,’ उनले भने, ‘नेपालमा पनि सामाजिक र आर्थिक रुपान्तरणमा सहयोग गर्दै आएका छौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्