नेभिगेशन
अर्थतन्त्र

नेप्से २७१९ विन्दुमा, लगानीकर्ताको आशा अझै बाँकी

काठमाडौं, १८ भदौ - साताको अन्तिम कारोबार दिन बजार शेयर बजार सूचक नेप्से दोहोरो अंकले घटेको छ । तर, कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ । बिहीबार नेप्से ३८.१० अंकले घटेर २७८१ विन्दुमा रह्यो । शेयर कारोबार ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँको भएको छ ।

१३ मध्ये म्युचुअल फण्ड र निर्जीवन बीमाबाहेक सबै उपसमूह घट्दा नेप्से परिसूचक घटेको हो । विकास बैंक सर्वाधिक २.३८ प्रतिशतले घटेको छ । फाइनान्स १.९७, उत्पादन तथा प्रशोधन र अन्य १.७०, जीवन बीमा १.६५, लगानी १.५८ जलविद्युत् १.४४ र लघुवित्त १.४० प्रतिशतले घटेका छन् । 

२२७ कम्पनीको शेयरमूल्य घट्दा २४ कम्पनीको बढेको छ । बढेकामध्ये दोस्रो बजार कारोबारमा आएयता लगातार उच्च भएको विकास हाइड्रोपावरको शेयरमा पोजेटिभ सर्किट लागेको छ । 

उच्च कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्सको ६५ करोड ४४ लाख, हिमालयन रिइन्स्योरेन्सको ६० करोड ६९ लाख, हिमालयन डिष्टिलरीको ३५ करोड ४ लाख, शिवम् सिमेन्टको २२ करोड ४२ लाख र युनाइटेड मोदी हाइड्रोपावरको शेयर १९ करोड ४९ लाख रुपैयाँको किनबेच भएको छ । 

यसअघि बुधबार परिसूचकसंगै कारोबार रकम बढेको थियो । नेप्से ५३.०१ अंकले बढेर २८१९.१० को विन्दुमा रहँदा शेयर कारोबारको रकम पनि बढेर ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँ भएको थियो । मंगलबार नेप्से ४.८३ अंकले बढेर २७६६.०९ को विन्दुमा रहँदा कारोबार रकम घटेर ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँमा खुम्चिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्