काठमाडौं । दशैंमा उपत्यका छाड्नेको यात्रा सहज बनाउन मुग्लिन–मलेखु सडकको मर्मत सुरु गरिएको छ । नागढुंगा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडक स्तरोन्नतिसँगै मर्मतको काम पनि सुरु गरिएको हो ।
यो सडक खण्ड चार्डपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको सडक आयोजनाको पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले बताए । दशैंमा यो सडक हुँदै आवतजावत गर्ने यात्रुको संख्या बढी हुने भएकाले कालोपत्रबाहेक खाल्डाखुल्डी पुर्ने र सम्याउने काम थालिएको उनले जानकारी दिए ।
नेपालका अनुसार दशैं अघि कालोपत्रबाहेक सडकका सानाठूला खाल्डा पुर्नेगरी काम थालिएको हो । ‘दसैँ, तिहारमा आवतजावत गर्ने यात्रीको संख्या बढी हुने भएकाले सहजताका साथै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मर्मतमा केन्द्रित भएका छौं,’ उनले भने ।
ठूला खाल्डा भएका ठाउँमा बाहिरबाट गिट्टी लगेर भर्न थालिएको छ भने सडक सम्याउने काम पनि भइरहेको उनले जानकारी दिए । यो खण्डको ३८ किलोमिटरमध्ये ८ किलोमिटर कालोपत्र भइसकेको छ ।
‘अरू केही भागमा कालोपत्र गर्ने तयारी गरिएको छ । त्यसबाहेकका खाल्डो परेका ठाउँहरूमा मर्मतसम्भारको काम थालिएको हो,’ उनले भने ।
बर्खाको समयमा कालोपत्र गर्न नमिल्ने भएकाले सडकको छेउमा स्टिल राख्ने तथा आरसीसी सेफ्टीबेरियरको काम भइरहेको जनाउँदै उनले योसँगै नाली निर्माण गरिएको बताए ।
यो खण्डमा ६ मध्ये ४ वटा पुलको काम अन्तिम चरणमा पुगेको छ । मौवाखोला, खटौती र गौमती पुलको ढलान सकेर पहुँच सडकको काम भइरहेको उनले बताए । वारबाङ पुल एक साताभित्र ढलान गरिँदैछ । यी चारवटै पुल दुई महिनाभित्र सम्पन्न भई सवारी आवागमनका लागि सञ्चालन गरिने नेपालले बताए ।
‘बाँकी रहेका चरौँदी पुलमा तीन फाउण्डेसनमध्ये दुईवटा सकिएको छ भने हुग्दीको तीन वटा फाउण्डेसनमध्ये एउटा सकिएको छ,’ उनले भने । यी दुई पुल आगामी वर्षको मनसुन सुरु हुनु अघि सक्ने लक्ष्य छ ।
आयोजनाका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म सडक स्तरोन्नति ३५ प्रतिशत पुगेको छ । ‘यस खण्डमा २.२ किमी ६ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ ७.२ किलोमिटर सडक ४ लेन सडकको हुनेछ,’ उनले भने ।
चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालोओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताए । उनका अनुसार क्लाइम्बिङ मार्ग २.३ किलोमिटर हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ ।
२०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का सम्झौता भएको थियो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुंगा खण्डलाई ३ चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्गत पर्छ । यसमा ३८.८६ किलोमिटर सडक पर्ने आयोजना प्रमुख नेपालले जानकारी दिए ।
शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम गर्न‘पर्ने इञ्जिनियर दरैले उल्लेख गरे ।
यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड पर्छ । सडकमा सवारीको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ । सुरुका वर्षमा डिजाइन परिवर्तन हुँदा पनि काममा ढिलाइ भएको दरैले बताए ।