नेभिगेशन
प्रदेश

भिरको बाटोमै सुत्केरीः  तत्कालैको उद्धारले जोगियो आमा–बच्चाको ज्यान

मुगु । हिमाली जिल्ला मुगुको पूर्वी भेगमा रहेको मुगुम कार्मारोङ गाउँपालिका–७, मह गाउँकी ३० वर्षीया साङ्बु लामा सोमबार साँझ जीवनकै सबैभन्दा कठोर परीक्षा भोग्दै थिइन् । सदरमुकाम गमगढीबाट आफ्नै घर फर्किंदै गर्दा साँझ अन्दाजी ७ः३० बजे, सोही वडाको च्याप्नेगाड भन्ने ठाउँमा जोखिमपूर्ण भिरालो ढुङ्गाको चट्टान रहेको बाटोमै उनी सुत्केरी भइन् ।
उनी एक्लै आफ्नो घर जाँदै थिइन् । उनीसँग कोही आफन्त थिएनन्, न सहयोगका लागि कुनै हात थिए । वरिपरि अँध्यारो, तल गर्जिदो कर्णाली नदी र माथि डरलाग्दो ढुङ्गा रहेको भिर मात्र थियो । असह्य पीडाबीच उनले त्यही डर लाग्दो बाटोमै शिशुलाई जन्म दिइन् । नवजात शिशु रगत र माटोले लत्पतिएको अवस्थामा थियो। तर ती कठिन क्षणहरूमा पनि आमाको ममता र साहस कमजोर थिएन ।
आफ्नो ज्यानको पर्वाह नगरी साङ्बुले मोबाइल फोनमार्फत छायल बजारमा रहेकी आफ्नी एक साथीलाई खबर गरिन् । खबर पाएलगत्तै ती साथीले छायल स्वास्थ्य चौकीकी अनमी विष्णु रोकाया र प्रस्तुति केन्द्र छायल गाउँकी तिला मल्ललाई जानकारी दिइन् । त्यसपछि प्रहरी र स्वास्थ्यकर्मीको टोली तत्काल उद्धारका लागि खटियो ।
स्थानीयका अनुसार, प्रहरी चौकी छायल र स्वास्थ्य चौकी छायलका अनमी विष्णु रोकाया तथा प्रस्तुति केन्द्र छायलकी अनमी तिला मल्ल समयमै नपुगेको भए आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने सम्भावना थियो । एक घण्टापछि उद्धार टोलीले कठिन भौगोलिक अवस्थाबीच साङ्बु र नवजात शिशुलाई सुरक्षित रूपमा छायल प्रसूति केन्द्र पु¥यायो । तर शिशुको अवस्था गम्भीर देखिएपछि तत्काल जिल्ला अस्पताल रिफर गरियो । अस्पताल करिब चार घण्टाको दूरीमा रहेकाले तत्काल यातायातको अभावले थप चुनौती थपियो । यही बीच, मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावललाई छायलमा रहेका स्थानीयले फोनमार्फत जिप व्यवस्थापनका लागि आग्रह गरे ।
अधिकृत रावलको पहलमा जिप व्यवस्था भएपछि प्रहरी र अनमी विष्णु रोकायाको टोलीले आमा र शिशुलाई जिल्ला अस्पताल पु¥यायो । हाल नवजात शिशुको आईसियुमा उपचार भइरहेको छ भने आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अनमी विष्णु रोकायाले जानकारी दिइन् । साङ्बुका पति पेमा राप्के लामाले भने, ‘घरमा सानी छोरीको हेरचाह गर्ने कोही नभएकाले म घरमै थिएँ । साङ्बु केही दिनदेखि माइतीमै थिइन् । उनी घर आउने खबर नै थिएन ।’ उनले बाटोमै सुत्केरी भएको खबर पाएपछि आफू छायल बजार पुगेको तर उनलाई अस्पताल लगिसकिएको थाहा पाए । घरमा रहेकी सानी छोरीलाई अरूकै जिम्मा लगाएर उनी हतारिँदै अस्पताल पुगे ।
उद्धारमा पुगेकी प्रस्तुति केन्द्र छायलकी इन्चार्ज तिला मल्ल घटनास्थलमा पुग्दा आमा शरीरभरि पसिना र रक्तश्रापले भिजेको अवस्थामा थिइन् । चिसोका कारण शिशु निलो र मुख तथा शरीरभरि ढुङ्गा र माटोले लत्पतिएको अवस्थामा फेला परेको इन्चार्ज मल्लले बताइन् । यो घटना दुर्गम क्षेत्रका गर्भवती महिलाले भोग्नुपरेको पीडा, जोखिम र स्वास्थ्य सेवाको पहुँच अभावको ज्वलन्त उदाहरण बनेको छ । तर, यिनै चुनौतीका बीच एक आमाले देखाएको अदम्य साहस र समयमै खटिएका स्वास्थ्यकर्मी तथा प्रहरीको सक्रियताले आमा र नवजात शिशुको ज्यान बचाउन सफल भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्